उपत्यका ट्राफिक प्रमुखलाई ‘पुलिसको ड्रेस लगाउँदा पनि चोर जस्तै’ भनेपछि लोकेन्द्र राईविरुद्ध साइबर मुद्दा

उपत्यका ट्राफिक प्रमुखलाई ‘पुलिसको ड्रेस लगाउँदा पनि चोर जस्तै’ भनेपछि लोकेन्द्र राईविरुद्ध साइबर मुद्दा

काठमाडौं : नेपाल प्रहरीका अधिकृतको फोटो दुरुपयोग गरी सामाजिक सञ्जाल फेसबुकमा ‘चोर जस्तै देखिएको’ भन्दै अमर्यादित पोस्ट गर्ने एक पुरुषविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ।

उदयपुरको रौतामाई गाउँपालिका-३ घर भई हाल काठमाडौंको तारकेश्वर-लोलाङ हाइट बस्ने ३७ वर्षीय लोकेन्द्र राईविरुद्ध जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरेको हो।

के थियो घटना?
अभियोगपत्र अनुसार, प्रतिवादी राईले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख समेत रहेका एसएसपी सुरेश प्रसाद काफ्लेको युनिफर्म लगाएको फोटो फेसबुकबाट डाउनलोड गरी आफ्नो प्रोफाइल (लोकेन्द्र राई) मा पोस्ट गरेका थिए।

उनले उक्त फोटोसँगै प्रहरी र ट्राफिक व्यवस्थापनप्रति लक्षित गर्दै लेखेका थिए, ‘पुलिसको ड्रेस लगाउँदा पनि चोर जस्तै देखिएको एसएसपी। गाडी ढिलो चलाउदा पनि फाइन लगाउने रे। जबकि काठमाडौंमा ५ किलोमिटर पार गर्न ३० मिनेट लाग्छ।’

उक्त पोस्टले नेपाल प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको, ट्राफिक पेसाप्रति समाजमा घृणा र द्वेष फैलाएको तथा चरित्र हत्या गरेको भन्दै एसएसपी काफ्लेले प्रहरीको साइबर ब्युरोमा किटानी जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले भोटाहिटी क्षेत्रबाट राईलाई नियन्त्रणमा लिई उनको ओप्पो मोबाइल समेत जफत गरेको थियो।

‘आक्रोशमा व्यङ्ग्य हानेको थिएँ, गल्ती भयो’
अनुसन्धानका क्रममा बयान दिँदै अभियुक्त लोकेन्द्र राईले कसुर स्वीकारेका छन्। उनले गाडी ढिलो चलाउँदा पनि ट्राफिकले कारबाही गर्ने नियम अव्यावहारिक लागेकाले आक्रोशमा आएर व्यङ्ग्यात्मक पोस्ट गरेको दाबी गरेका छन्।

‘एसएसपी साबसँग मेरो कुनै व्यक्तिगत चिनजान र दुश्मनी थिएन। न्युज फिडमा आएको फोटो डाउनलोड गरेर व्यङ्ग्य मात्र गरेको हुँ। सामाजिक सञ्जालमा यस्तो पोस्ट गर्नु मेरो गल्ती भयो’, राईले बयानमा भनेका छन्।

५ वर्ष कैद र १ लाख जरिबानाको मागदाबी
जिल्ला सरकारी वकील कार्यालयले अभियुक्त राईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसुर पुष्टि भएको भन्दै सोही दफा अनुसार हदैसम्मको सजाय मागदाबी गरेको छ।

दफा ४७ (१) अनुसार दोषी ठहर भएमा १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। ऐनको दफा ५६ बमोजिम कसुरमा प्रयोग गरिएको प्रतिवादीको ओप्पो मोबाइल सेट जफत गर्न माग गरिएको छ।

ऐनको दफा ५८ (क) र ७६ बमोजिम पीडित एसएसपी काफ्लेलाई परेको मानसिक तथा सामाजिक हानिको मनासिब क्षतिपूर्ति प्रतिवादीबाटै भराउन र अपराध पीडित संरक्षण ऐनअनुसार पीडित राहत कोषमा शुल्क जम्मा गराउन अदालतसमक्ष अनुरोध गरिएको छ।

साउन १८, २०८३ सोमबार ०९:५०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।