१ लाख रुपैयाँ घुससहित पालिकाका सूचना प्रविधि अधिकृत बालाजुबाट पक्राउ
काठमाडौं : भुक्तानीबापत सेवाग्राहीसँग कमिसन (घुस) मागेको आरोपमा नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि (आईटी) अधिकृत बिरेन्द्र तामाङ पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको हो।
तामाङले सेवाग्राहीलाई भुक्तानी रकमको कमिसनका लागि बार्गेनिङ गर्दै पटक-पटक दुःख र हैरानी दिएको भन्ने उजुरी आयोगमा परेको थियो। सोही उजुरीका आधारमा टङ्गालबाट खटिएको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिअनुसार, तामाङलाई साउन १८ गते काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित बालाजुबाट सेवाग्राहीसँग एक लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ परेका तामाङमाथि विशेष अदालतबाट घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ।
साउन २०, २०८३ बुधबार ०७:५०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।