भारतको उपनिर्वाचनमा कक्रोच आन्दोलन इफेक्ट: तीनमध्ये दुई सिटमा विजेपी पराजित, बिहारमा प्रशान्त किशोरको उदय

भारतको उपनिर्वाचनमा कक्रोच आन्दोलन इफेक्ट: तीनमध्ये दुई सिटमा विजेपी पराजित, बिहारमा प्रशान्त किशोरको उदय

एजेन्सी : भारतको तीन विधानसभामा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा दुई ठाउँमा सत्ताधारी दल भारतीय जनता पार्टीका उम्मेदवार पराजित भए। साउन १४ मा भएको निर्वाचनको परिणाम सोमबार आएको हो। तीनमध्ये बिहारको बांकीपुर र मध्य प्रदेशको दतिया सिटमा सत्तारुढ भारतीय जनता पार्टीले ठूलो झट्का व्यहोर्यो। गुजरातको मांजलपुर सिटमा भाजपाले आफ्नो जित कायम राख्यो।

बिहारको राजधानी पटनास्थित बांकीपुर सिटमा जन स्वराज पार्टीका प्रमुख प्रशान्त किशोरले भाजपाको गढ भत्काए। विजेपीको अध्यक्ष नितिन नबिन सो क्षेत्रमा निर्वाचित भएका थिए। उनी राज्यसभाका लागि छानिएपछि सो क्षेत्र रिक्त भएको थियो।

भारतको निर्वाचनको रणनीतिमा कहलिएका प्रशान्त किशोरको दल निर्वाचनमा खाता खोल्न समेत सकेन। उप निर्वाचनमा भने उनले ६४ हजार १ सय ५१ मतसहित विजयी भए। उनले भाजपाका उम्मेदवार नीरज कुमारलाई पराजित गरे।

प्रशान्त किशोरले भाजपा उम्मेदवार नीरज कुमारलाई १९ हजार ३ सय २४ मतले पराजित गरे। भाजपाका मूल उम्मेदवार अभिषेक कुमार सिन्हाले १० जुलाईमा पारिवारिक कारण देखाउँदै उम्मेदवारी फिर्ता लिएपछि पार्टीले नीरज कुमारलाई मैदानमा उतारेको थियो। यस क्षेत्रमा करिब ३५ प्रतिशत मात्र मतदान भएको थियो।

मध्य प्रदेशको दतिया विधानसभामा पनि भाजपाका उम्मेदवार पराजित भए। सो क्षेत्रको उप निर्वाचनमा कांग्रेसका उम्मेदवार पराजित भए। कांग्रेसका उम्मेदवार घनश्याम सिंहले ६६ हजार ७ सय ५७ मत पाए। उनको प्रतिद्वन्द्वी भाजपाका आशुतोष तिवारीले ६० हजार ७ सय ४१ मत पाए।

सो क्षेत्रका कांग्रेस विधायक राजेन्द्र भारती बैंक घोटालामा दोषी ठहर भएपछि सो क्षेत्रको सिट रिक्त भएको थियो। सन् २०२३ को विधानसभा चुनावका उम्मेदवार वरिष्ठ नेता नरोत्तम मिश्रालाई टिकट नदिएर भाजपाले आरएसएस पृष्ठभूमिका आशुतोष तिवारीलाई उम्मेदवार बनाइएको थियो।

गुजरातको मांजलपुरको विधानसभा सिटमा भएको उप-निर्वाचनमा भाजपाका उम्मेदवार विजयी भए। विजेपीका सतेन्द्रभाई पटेलले कांग्रेसका भीखाभाई रबाड़ीलाई पराजित गरे। सो क्षेत्र भाजपाका ८ पटकका विधायक तथा पूर्व मन्त्री योगेश पटेलको मृत्युका कारण रिक्त भएको थियो। सो क्षेत्रमा भाजपाका नेताले ३० हजार ६ सय ३० मतान्तरले जिते।

साउन १८, २०८३ सोमबार २३:४२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।