बुटवलको त्रिवेणी डिस्टिलरी काण्ड : साहुको मृत्यु भइसक्यो, १७ परिवार दुई दशकदेखि अदालती चक्करमा
बुटवल : बुटवलस्थित त्रिवेणी डिस्टिलरीका सञ्चालकले मजदुरहरूको नागरिकता दुरुपयोग गरी बैंकबाट निकालेको ऋण र गरेको राजस्व छलीको बोझ दुई दशकदेखि १७ परिवारले बोकिरहनुपरेको छ।
ऋण लिने मुख्य अभियुक्त रोहितप्रसाद श्रेष्ठको १७ वर्षअघि नै मृत्यु भइसके पनि उनले लिएको ऋणको भारीले १७ मजदुर अहिले बैंकको कालोसूची र अदालती तारेखमा छन्।
बैंकिङ प्रणालीको रातो घेरामा परेको कारण न उनीहरूले बैंक खाता खोल्न पाउँछन्, न उनीहरूको नाममा रहेको सम्पत्ति नै भोगचलन गर्न मिल्छ।
बैंकमा खाता खोल्न र नियमित आर्थिक कारोबार गर्नबाट वञ्चित रवीन्द्रकुमार श्रेष्ठले आफ्नै हात-खुट्टा बाँधिएको जस्तो महसुस गरिरहेका छन्। आफ्ना सन्तानलाई उज्यालो भविष्यका लागि विदेश पठाउने उनको सपनामा पुरा हुन सकेको छैन।
दुई दशकअघि बुटवलस्थित ‘त्रिवेणी डिस्टिलरी’मा सहायक प्रबन्धकका रूपमा कार्यरत रहँदा सञ्चालकलाई बुझाएको नागरिकताको फोटोकपी नै उनका लागि पासो बन्यो। सोही कागजात सञ्चालकले दुरुपयोग गरिदिँदा चोरीको झुटो अभियोगमा ६ महिना जेल सजाय भोगिसकेका श्रेष्ठले दोहोरो मार खेपिरहेका छन्।
उनी एकातिर आन्तरिक राजस्व कार्यालयको तारिख धाउन बाध्य छन् भने अर्कोतिर उनको जानकारीबिना नै नाममा निकालिएको २० लाख रुपैयाँ ऋणका कारण वर्षौंदेखि बैंकको ‘कालोसूची’मा थुनिएका छन्।
रवीन्द्रजस्तै १७ जना मजदुर, साना व्यवसायी र घरधनीहरू यतिबेला आफू निर्दोष भएको प्रमाण बोकेर न्यायका लागि अड्डा-अदालत र बैंकका ढोका धाइरहेका छन्।
विश्वासको मूल्य : नागरिकता मागे, जिउँदै मारे
२० वर्षअघि त्रिवेणी डिस्टिलरीका तत्कालीन सञ्चालक रोहितप्रसाद श्रेष्ठले नियुक्ति पत्र बनाइदिने, प्रशासनिक प्रक्रिया पुर्याउने र बैंकमा साक्षी मात्र राख्ने बहानामा कर्मचारीहरूको नागरिकता र औँठाछाप लिएका थिए।
मालिकको नियतमाथि कुनै शंका नगरेका कारण सोझा कामदारहरूले सहजै आफ्ना कागजात सुम्पिएका थिए। तर, परिणाम सोचेभन्दा भयानक आयो।
पीडितहरू बलबहादुर आले र चन्द्रलाल दंगालका अनुसार १८/२० वर्षको उमेरमा उनीहरूको नागरिकता दुरुपयोग गरी नेपाल बैंक लिमिटेडको बुटवल खस्यौली शाखाबाट १०/१० लाख रुपैयाँ ऋण निकालिएको थियो।
‘हामीलाई केही हुन्न, साक्षी बसेको मात्र हो भनेका थिए। पछि मात्र थाहा भयो, साहुले त हामीलाई जिउँदै मारेर आफू पो मरेछन्’, उनीहरूले भने।
बुटवल ६ मा शारदा हार्डड्रिंक्स चलाउने शारदाकुमारी श्रेष्ठलाई डिस्टिलरीको उत्पादन बिक्रीका क्रममा एग्रिमेन्ट गर्ने भन्दै फसाइयो। अर्कैको घरजग्गा धितो राखेर उनको नाममा सोही बैंकबाट ४० लाख रुपैयाँ ऋण निकालियो। जब छोरालाई विदेश पठाउने बेला भयो, तब मात्र आफू कालोसूचीमा परेको थाहा पाइन।
उनले बैंकिङ प्रक्रियामै गम्भीर त्रुटि वा मिलेमतो भएको हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धानको माग गरिन।
बुटवल-१५ का लक्ष्मण खनाललाई पनि नियुक्ति पत्रकै बहानामा फसाइयो। पछि बैंकबाट ऋण लिएर घर बनाउने सपना बुन्दा बल्ल थाहा पाए। उनी त ऋण नतिर्नेको सूचीमा दर्ता भइसकेका रहेछन्।
‘बैंकिङ कारोबार र खाता/पाता सबै रोक्का छन्। आँखा, कान, नाक, मुख सबै थुनिएजस्तो भएको छ। न ऋण लिएको छु, न उपयोग गरेँ, तैपनि सजाय मैले भोग्नुपर्ने?’, उनले भने।
मालिक रोहित श्रेष्ठको ठगी धन्दाको मार कामदारमा मात्र सीमित रहेन।
बुटवलका पुराना उद्योगी बिन्ध्याकेशर जोशीले रोहितलाई गोदामका लागि घर भाडामा दिएका थिए। डिस्टिलरीमा राजस्व छली र बैंक कर्जाको कानुनी झमेला सुरु भएपछि बैंकले जोशीको घर नै सिलबन्दी गरिदियो।
विगत २८ महिनादेखि जोशीले न घर खाली गराउन पाएका छन्, न भाडा नै।
‘घर रङ्गाउन र मर्मत गर्न पाएको छैन, जीर्ण बन्दै गएको छ। नगरपालिका र बैंक धाउँदा-धाउँदै थाकिसकेँ’, उनले भने।
पीडितहरूका अनुसार यो संगठित किर्ते र जालसाजीका सूत्रधार रोहित श्रेष्ठको वि.सं. २०६५ सालमै निधन भइसकेको छ। साहुको निधनपछि समस्या समाधान होला कि भनेर परिवारकहाँ पुगेका पीडितहरू रित्तो हात फर्किन बाध्य छन्।
रोहितका दाजु रहिस श्रेष्ठ सम्पूर्ण कारोबार भाइले नै गरेको र आफूलाई केही जानकारी नभएको बताउँछन्। यता, स्व. रोहितकी पत्नी रेखा श्रेष्ठले भने आफूहरूले बुझाउनुपर्ने सबै रकम तिरिसकेको र उद्योगका तर्फबाट दायित्व केही बाँकी नरहेको दाबी गर्छिन्।
साउन १२, २०८३ मंगलबार १४:५९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।