न न्युरो सर्जन, न राति सिटी स्क्यान : इमर्जेन्सीबाटै पन्छाइन्छन् कान्ति पुर्याइएका बिरामी बालबालिका
काठमाडौं : असार १३ गते शनिबार राति करिब साढे नौ बजे कीर्तिपुरका भीमसेन भण्डारी (नाम परिवर्तन) र उनकी श्रीमती मोटरसाइकलमा साढे चार वर्षीय छोरा पवन भण्डारी (नाम परिवर्तन) लाई लिएर उपचारका लागि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा पुगे।
त्यो दिन घरको आँगनमा खेल्ने क्रममा बालक लडेका थिए। बाहिरी चोट कतै नदेखिए पनि बालकले २/३ पटक बान्ता गरेपछि आमाबुबा आत्तिए। उनीहरूले कीर्तिपुरबाट करिब १२ किलोमिटरको दूरी छिचोल्दै छोरालाई कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा पुर्याए।
कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा बिरामीको भीड कम थिएन। त्यसमाथि शनिबार ओपीडी बन्द हुने भएकाले बेलुका भीडभाड हुनु स्वाभाविकै थियो। छोराको स्वास्थ्यलाई लिएर तनावमा परेका उनीहरूले हतार-हतार गर्दै आकस्मिक कक्षभित्र छिरे।
आकस्मिक कक्षमा युवा देखिने २/३ जना चिकित्सक ड्युटीमा थिए। तीमध्ये एक जनाले बालकको स्वास्थ्य जाँच गरे। बालकको टाउकाको सिटी स्क्यान गर्नुपर्ने भने। तर, कान्तिमा राति सिटी स्क्यान नहुने अनि अस्पतालमा न्युरोलोजिस्ट चिकित्सकसमेत नभएको ती डाक्टरले बताए।
त्यति मात्र होइन, ती चिकित्सकले कान्तिको इमर्जेन्सीमा बालकलाई ‘अब्जरभेसन’मा राख्न सकिने भए पनि राति सिटी स्क्यान नहुने र न्युरोलोजिस्ट पनि नभएकाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल वा अन्यत्रै लैजान सल्लाह दिए।

कान्तिका ती डाक्टरले अस्पतालमा न्युरो सर्जन नभएकाले बालकको टाउकामा रगत जमेको रहेछ भने शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पतालबाटै डाक्टर बोलाउनुपर्ने बताए। त्यसैले त्रिवि शिक्षण अस्पतालमै भर्ना गरेमा त्यहीँका चिकित्सकले आफ्नै बिरामीका रूपमा जिम्मेवारीका साथ शल्यक्रिया र उपचार गर्ने भन्दै त्यतै लैजान सुझाव दिए।
“यदि तपाईं बच्चा यहीँ राख्न चाहनुहुन्छ भने राख्न सक्छौँ,” कान्तिमा ड्युटीमा खटिएका ती डाक्टरले भने, “तर हामीसँग टाउकोसम्बन्धी अप्रेसन गर्ने चिकित्सक हुनुहुन्न।”
कान्तिको आकस्मिक कक्षका डाक्टरले नै समस्या पहिचान र उपचार दुवै नहुने बताएपछि भीमसेन र उनकी श्रीमती झन् तनावमा परे। रातको समयमा देशकै प्रमुख बाल अस्पतालका डाक्टरले नै उपचार नहुने भनेपछि अब छोरालाई कहाँ लैजाने भनेर उनीहरू आत्तिए। कान्ति बाल अस्पतालमै उपचार नभए कहाँ जाने? त्यो बेलासम्म रातको साढे १० भइसकेको थियो।
छोराको उपचारको खोजीमा उनीहरू कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा करिब एक घण्टा भौँतारिए। तर, छोराको न सिटी स्क्यान सम्भव भयो, न त उचित स्वास्थ्य जाँच नै।
कान्तिको आकस्मिक कक्षबाहिर निस्किएर छोराको उपचार कहाँ गराउने भनेर सोधपुछका लागि भीमसेनले चिनेजानेकाहरूलाई फोन घुमाउन थाले। धेरैलाई फोन गरेपछि त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा एक जना परिचित आवासीय चिकित्सक (रेजिडेन्ट) ड्युटीमा रहेको थाहा भयो।
तिनै चिकित्सकसँग सम्पर्क गरी भीमसेन दम्पतीले छोरालाई रातको १० बजेर ४५ मिनेटमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याए। ती चिकित्सकले सहजीकरण गरिदिएपछि त्रिवि शिक्षण अस्पताल पुगेको केही बेरमै बालकको टाउकाको सिटी स्क्यान भयो। ड्युटीमा रहेका चिकित्सकले सिटी स्क्यानको रिपोर्ट हेरे।
सिटी स्क्यानको रिपोर्टमा बालकको टाउकामा कुनै समस्या देखिएन। रिपोर्ट ‘नर्मल’ आएपछि बल्ल भीमसेन दम्पतीले राहतको सास फेरे। रिपोर्टमा समस्या नदेखिए पनि ड्युटीमा रहेका तिनै आवासीय चिकित्सकले एक पटक न्युरो सर्जनलाई रिपोर्ट देखाएर सल्लाह लिन सुझाव दिए।

त्यसपछि बिहानको राति करिब साढे ३ बजे त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षबाट डिस्चार्ज भएर भीमसेन दम्पती छोरालाई लिएर कीर्तिपुर फर्किए।
केही दिनपछि वीर अस्पताल पुगेर न्युरो सर्जनलाई सिटी स्क्यानको रिपोर्ट देखाउँदा ती चिकित्सकले पनि रिपोर्ट ‘नर्मल’ रहेको र टाउकमा कुनै समस्या नरहेको पुष्टि गरे। वीर अस्पतालका चिकित्सकले पनि ढुक्क बनाएपछि मात्र भीमसेन दम्पती पूर्ण रूपमा निश्चिन्त भए।
विशेषज्ञ डाक्टर नभएको भन्दै अन्यत्र रिफर
यो कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा असार १३ गते राति आत्तिँदै पुर्याइएका बालकको उपचारै नगरी अन्यत्र रिफर गरिएपछि अभिभावकले भोग्नुपरेको प्रतिनिधिमूलक पीडा मात्र हो। कान्तिको आकस्मिक कक्षमा पुर्याइएका बालबालिकाका अभिभावकले दैनिकजसो यस्तै सास्ती भोग्नुपर्ने अवस्था छ।
कान्ति बाल अस्पताल पुर्याइएका बालबालिकालाई कसरी रिफर गरिन्छ भन्ने तथ्य पुष्टि गर्न उकेराकर्मी असार २८ गते आइतबार बेलुका स्थलगत रिपोर्टिङका लागि कान्ति बाल अस्पताल पुग्यो।
कान्तिको आकस्मिक कक्ष बिरामी बालबालिकाको चापले खचाखच थियो। प्रत्येक दुई मिनेटको अन्तरमा अस्पतालको आकस्मिक कक्ष अगाडि ट्याक्सीहरू ओहोरदोहोर गरिरहेका थिए।
असार २८ गते आइतबार बेलुका ८ बजेर ४ मिनेटमा कान्ति प्राङ्गणबाटै उकेराकर्मीले आकस्मिक विभागकी त्यस दिनकी इन्चार्ज ‘निर्मला सिस्टर’लाई फोन गर्यो।
बिरामीको अभिभावक बनेर उकेराकर्मीले सोध्यो, ‘एक जना लडेका सानो बच्चाले भमिट गरेको छ, त्यसैले यतिखेर उसलाई कान्तिमा ल्याउन खोजेको, कान्तिमा ल्याउँदा हुन्छ कि हुँदैन?’
त्यस दिनकी इमर्जेन्सी इन्चार्ज निर्मलाले जवाफ दिइन्, ‘कान्तिमा न्युरोको छैन, लडेर भमिट गरेको हो भने न्युरो सर्जरी हेड इन्जुरी हुनसक्छ, त्यसैले टिचिङ लाँदा राम्रो हुन्छ।’
उनले थपिन्, ‘…न्युरोले हेर्छ, हेड इन्जुरी केसचाहिँ कान्तिले हेर्दैन।’

कान्ति बाल अस्पतालका प्रवक्ता डा. सुमित अग्रवालले पनि कान्तिमा न्युरो सर्जनको दरबन्दी र न्युरो सर्जन चिकित्सक नरहेको स्वीकार गरे।
‘न्युरो सर्जन नभएकाले न्युरो सर्जन चाहिने अवस्थामा हामीले पठाउने भनेको टिचिङ र वीर नै हो’, प्रवक्ता डा. अग्रवालले भने।
यसबाटै लडेका बालबालिकालाई न्युरो सर्जन नभएको बहानामा कान्तिबाट अन्यत्र रिफर गर्ने गरिएको पुष्टि हुन्छ।
कान्तिका प्रवक्ता डा. अग्रवालले अस्पतालबाट आईसीयूका लागि २४ घण्टामा २ देखि ३ जना बालबालिकालाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए।
१२ बेडको आईसीयू भए पनि अपुग हुने गरेको उनले सुनाए। बाँकी बिरामीलाई भने व्यवस्थापन गर्ने गरिएको दाबी गर्दै उनले कान्तिमा पुर्याइएका कुनै पनि बिरामीलाई नजाँची नफर्काउने दाबी गरे।
‘राति सिटी हुँदैन’ भन्दै रिफर
कान्तिमा राति सिटी स्क्यान हुन्छ कि हुँदैन भनेर यकिन गर्न उकेराकर्मीले असार २८ गते आइतबार बेलुका ८ बजेर ८ मिनेटमा कान्तिकै प्राङ्गणबाट रेडियोलोजी विभागका इन्चार्ज मुकेश मिश्रलाई सम्पर्क गर्यो।
अभिभावक बनेर सोधिएको प्रश्नमा इन्चार्ज मिश्रले भने, ‘सिटी त हुन्छ। त्यहाँ (सिटी) गर्ने (मान्छे) नभए पनि क्वाटरमा बस्छन् साथीहरू, त्यहाँ अनकल बोलाइदिनुहुन्छ।’
रेडियोलोजी इन्चार्ज मिश्रले राति पनि सिटी स्क्यान हुने बताएपछि वास्तविक अवस्था बुझ्न उकेराकर्मी साँझ ८ बजेर १५ मिनेट जाँदा कान्तिको आकस्मिक कक्ष नजिकै रहेको रेडियोलोजी तथा इमर्जिङ विभागको कोठा नम्बर ‘१८’ मा छिर्यो।

सो कोठाभित्र दायाँतर्फको कोठामा एक जना महिला स्वास्थ्यकर्मीले सानो बच्चाको एक्स-रे गरिरहेकी थिइन्। ‘बच्चाको सिटी गर्नुथियो, अहिले हुन्छ कि हुँदैन?’ भनेर सोध्दा ती स्वास्थ्यकर्मीले बेलुका ८ बजेपछि सिटी स्क्यान नहुने भन्दै भोलि बिहान ९ बजे आउन भनिन्।
यसबाट रेडियोलोजी विभागका इन्चार्ज मिश्रले झुट बोलेको र अस्पतालमा राति ८ बजेपछि सिटी स्क्यान नहुने तथ्य प्रमाणित भयो।
कीर्तिपुरका भीमसेन दम्पतीले असार १३ गते राति साढे ९ बजे कान्ति पुर्याएका छोराको सिटी स्क्यान गराउन नपाएर त्रिवि शिक्षण अस्पताल लैजानुपरेको घटना र उकेराकर्मीको स्थलगत अनुगमनले एउटै कुरा पुष्टि गर्छ- कान्ति बाल अस्पतालका कर्मचारीहरू ‘यहाँ राति सिटी स्क्यान हुँदैन’ भन्दै बिरामी बालबालिकालाई रातबिरात अन्यत्र रिफर हुन बाध्य पार्छन्।
यसरी पुर्याइन्छ निजी अस्पतालमा
कान्ति बाल अस्पतालबाट रिफर भएका बिरामी कसरी निजी अस्पताल पुग्छन् भन्ने बुझ्न उकेराकर्मी साउन ५ गते मंगलबार दिउँसो करिब ४ बजे महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल पुग्यो।
त्यहाँ बिरामी बालबालिकाको चाप मनग्यै थियो। सडक छेउको कोलाहलमा रहेको नयाँ भवनको आकस्मिक कक्षमा २/३ जना बिरामी भर्ना भएका थिए।
आकस्मिक कक्षकी ड्युटी नर्सले मंगलबार भने कान्तिबाट औपचारिक रूपमा रिफर भएर बिरामी नआएको बताइन्। तर, कान्तिबाट मौखिक रूपमा अन्यत्र पठाइन्छ भन्ने कुरा भीमसेन दम्पतीको भोगाइले नै पुष्टि गरिसकेको छ।
अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालको आकस्मिक कक्ष अगाडि भेटिएका एक अधबैँसे पुरुषले आफ्ना २१ वर्षका छोराले चलाएको मोटरसाइकलले हानेर घाइते भएका बालकलाई उपचारका लागि त्यहाँ ल्याएको बताए।

सोही अस्पतालमा वीरगन्जबाट रिफर भएका एक बालक पनि भर्ना भएका थिए। अस्पतालबाहिर भेटिएका ती बालकका अभिभावकले सुरुमा ज्वरो आएको र ठिक नभएपछि काठमाडौं ल्याएको बताए।
‘कान्ति नलगेर किन यहाँ ल्याउनुभयो?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यहाँ (कान्तिमा) बेड नै पाइँदैन।’
अस्पतालको आकस्मिक कक्ष अगाडि भेटिएका अन्य सात जना अभिभावकसँग कुरा गर्दा उनीहरूले कान्ति बाल अस्पतालमा बेड नपाइने, भीडभाड हुने र त्यहाँ लगे पनि रिफर गरेर अन्तै पठाउने भएकाले त्यो दुःख पाउनुभन्दा सिधै अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल आएको बताए।
त्यसपछि साउन ५ गते मंगलबार नै साँझ ५ बजेर ५ मिनेट जाँदा उकेराकर्मी कान्ति बाल अस्पताल पुग्दा आकस्मिक कक्षमा भीड उस्तै थियो, अधिकांश बेड भरिएका थिए। तर, कान्तिको त्यही लथालिङ्ग अवस्था छाडेर निर्देशक डा. पंकज राय भने अस्पतालबाट निस्किसकेका थिए। उनी सरकारी समय ५ बजेपछि कान्तिमा एक मिनेट पनि बस्दा रहेनछन्।
नियमविपरीत डा. राय धुम्बाराहीस्थित मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालमा काम गर्न जाने गरे पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छैन। डा. रायले गैरकानुनी रूपमा ह्याम्समा काम गरिरहेको विषयमा उकेराले यसअघि नै सप्रमाण प्रकाशित गरिसकेको छ।
कान्तिपछि बेलुका करिब ७ बजे बसुन्धरास्थित इसान बाल तथा महिला अस्पताल पुग्दा त्यहाँको आकस्मिक कक्षमा भने बालबालिका भर्ना भएका थिएनन्। तर, श्रीमतीलाई सुत्केरी गराउन पुगेका करिब ३५ वर्षका एक पुरुषले सरकारी अस्पतालमा उपचारका नाममा धेरै दुःख पाइने भएकाले महँगो भए पनि श्रीमतीलाई इसान अस्पताल ल्याएको बताए।

साउन ११, २०८३ सोमबार १४:२९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।