कक्षा १२ को परीक्षापछि स्नातकोत्तरको पेपर लिक विवादमा जोडिए शिक्षामन्त्री पोखरेल
काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएपछि उत्तर पुस्तिका परीक्षणमा लापरबाही र त्रुटि भएको भन्दै विद्यार्थीहरू सडक प्रदर्शनमै उत्रिए। राष्ट्रिय परीक्षा बोर्डले वैशाख-जेठमा सम्पन्न परीक्षाको नतिजा असाध्यै छिटो (असार पहिलो साता) सार्वजनिक गरेको थियो।
विद्यार्थीहरूले रेकर्ड बनाउने र प्रचार गर्ने होडमा उत्तर पुस्तिका हतारमा र गैर जिम्मेवार तरिकाले परीक्षण गर्दा नतिजामा गम्भीर त्रुटि भएको आरोप लगाए। असन्तुष्ट विद्यार्थीहरूले काठमाडौँको माइतीघर मण्डलामा नाराबाजीसहित प्रदर्शन गरे। उनीहरूले सामाजिक सञ्जाल मा #Grade12Unfair र शिक्षामन्त्रीको राजीनामा माग्दै अभियान चलाएका थिए।
तत्काल छानबिन समिति गठन गरेर शिक्षामन्त्री सस्मित पोखरेले यो संकट त टारे। तर अहिले पुन त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको स्नातकोत्तर तहकै एक विषयको परीक्षा पत्र लिक भएको घटनामा नैतिक रूपमा उनी पुन जोडिए।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र ह्वाट्स एप समूहबाट लिक भएको सार्वजनिक भयो।
साउन ८ गते परीक्षा सुरु सुरु भएको केही मिनेटमै एक ह्वाट्स एप ग्रुपमा पहिला प्रश्नपत्र अनि पछि त्यसकै सोलुसन बाहिरिएको पुष्टि भइसकेको छ। साउन ८ गते सञ्चालित अर्गनाइजेशनल बिहेबियर विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र ह्वाट्सएप ग्रुपमार्फत लिक भएको खुलेसँगै अहिले प्रहरी अनुसन्धानमा जुटेको छ भने विद्यार्थी संगठनले जिम्मेवार अधिकारीको राजीनामा मागेका छन्।
शिक्षा मन्त्रालयले सो प्रश्नपत्र विश्वविद्यालयबाट भन्दा पनि परीक्षा केन्द्रबाट लिक भएको दाबी गर्दै आएको छ। यसबारे प्रहरीले छानबिन सुरु गरेको छ भने त्रिविको परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य छानबिन गर्न प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्यो।
समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सह-प्रा.डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सह-प्रा.डा. महेशराज ओझा सदस्य छन्। समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
मन्त्री र डिनको राजीनामा माग
घटना सार्वजनिक भए लगत्तै शिक्षामन्त्री पोखरेलसँगै डीनको समेत राजीनामा मागिएको छ। एमबीएसको प्रश्नपत्र लिक भएको घटनालाई लिएर त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष दीपक जोशीले दुई दिनभित्र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नभए व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरे।
“परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन,” जोशीले भने। उता एमाले नेता ठाकुर गैरेले यो विषय शिक्षामन्त्रीसँग समेत जोडिने भन्दै नैतिक रूपमा उनको राजीनामा मागे।
आइतबार एक कार्यक्रममा उनले कार्यदल बनाएर घटना ढाकछोप गर्न खोजिएको भन्दै यस प्रकरणमा शिक्षामन्त्री पोखरेलले नै राजीनामा दिनु पर्ने माग गरे।
“भारतमा भइरहेको आन्दोलनले शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो। त्यो शिक्षा क्षेत्रको एउटा मागको विषयले हो। नेपालमा पनि एमबीएसको प्रश्नपत्र लिक भएको छ, शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल बनाएर ढाकछोप गर्न खोज्दैछ, सरकार उम्किन खोज्दैछ” उनले भने।
कक्षा १२ को छानबिन के भयो ?
कक्षा १२ को परीक्षाबारे गम्भीर प्रश्न उठाउँदै विध्यार्थीहरु आन्दोलित भए। उनीहरूले उत्तर पुस्तिकाको पारदर्शी र निष्पक्ष पुनरावलोकन/पुनः परीक्षण हुनुपर्ने, रिटोटलिङ का नाममा विषयपिच्छे ५ सय देखि एक हजार रुपैयाँसम्म असुलिने चर्को शुल्क मिनाहा/निःशुल्क गरिनुपर्ने र त्रुटिपूर्ण नतिजा सार्वजनिक गर्ने जिम्मेवार निकाय र व्यक्तिले जवाफदेहिता लिनुपर्ने माग राखेका थिए।
विद्यार्थी र अभिभावकको चौतर्फी दबाब तथा सडक प्रदर्शनपछि शिक्षा मन्त्रालयले छानबिन र प्राविधिक जाँचका लागि छानबिन समिति गठन गर्यो। समितिमा शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवस्तरका प्रतिनिधिहरू संलग्न गराइएको थियो। तर सो छानबिन समिति गठन भएको एक महिना भए पनि समितिको प्रतिवेदन सार्वजनिक भएको छैन।
यता स्नातकोत्तरको पेपर लिक प्रकरणमा संलग्न दुई जना पक्राउ परेको शिक्षा मन्त्रीले दाबी गरे पनि नेपाल प्रहरीबाट अहिलेसम्म आधिकारिक रुपमा पक्राउ परेकाहरूमध्ये एकजना सन्दिप सिंहको नाम मात्र सार्वजनिक गरेको छ। सम्बन्धित समाचार
साउन १०, २०८३ आइतबार २०:३३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।