एमबीएसको ‘पेपर लिक’ प्रकरणमा थप दुई जना पक्राउ

एमबीएसको ‘पेपर लिक’ प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै आउट गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेभियर’ विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहहरूमा सेयर गरी गोपनीयता भङ्ग गरिएको थियो।

शिक्षा ऐन, २०२८ अनुसार भइरहेको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका-४ घर भई हाल काठमाडौंको ताहाचल बस्ने २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिप्नीमाल-१ घर भई हाल पर्सा वीरगन्ज बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिमलाई क्रमश: साउन १० र ११ गते पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई सम्मानित अदालतबाट म्याद थप गरी सीआईबीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ। यसअघि साउन ८ गतेदेखि प्रहरीले यस घटनाको अनुसन्धान सुरु गरेको थियो।

साउन १२, २०८३ मंगलबार १४:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।