भारतीय दूतावासले दिएको एम्बुलेन्स निजी सरह चलाएर १५ लाख भ्रष्टाचार, वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

भारतीय दूतावासले दिएको एम्बुलेन्स निजी सरह चलाएर १५ लाख भ्रष्टाचार, वडाध्यक्षविरुद्ध मुद्दा दर्ता
फाइल तस्बिर

काठमाडौं : भारतीय राजदूतावासले अनुदानमा दिएको एम्बुलेन्स वडा कार्यालयको जिन्सी खातामा दाखिला नगरी निजी सरह प्रयोग गरेर १५ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा धनुषाको विदेह नगरपालिका वडा नं. ५ का पूर्ववडाध्यक्ष विजय कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार भारतीय राजदूतावास, लैनचौर काठमाडौंसँग २०७७ असोज १४ गते सम्झौता गरी वडावासीहरूलाई निःशुल्क सेवा उपलब्ध गराउने भन्दै एम्बुलेन्स प्राप्त गरिएको थियो।

तर, तत्कालीन वडाध्यक्ष यादवले उक्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी विवरणमा नेदखाई, सरकारी कोषमा रकम दाखिला नगरी आफ्नै नियन्त्रणमा राखेर निजी सवारीसाधन सरह चलाएका थिए।

अनुसन्धानको क्रममा पूर्ववडाध्यक्ष यादवले ३ वर्ष ५ महिनाको अवधिमा उक्त एम्बुलेन्स कुल ३० हजार १८५ किलोमिटर गुडाएको देखिएको थियो। त्यसक्रममा सर्वसाधारणबाट आफूखुसी भाडादर उठाइए पनि सो आम्दानी र खर्चको हिसाबकिताब पालिकासम्म बुझाएका थिएनन्।

यस्तै एम्बुलेन्स प्रयोग गर्दा कति किलोमिटर निःशुल्क सेवा दिइयो, कतिमा शुल्क उठाइयो वा कति इन्धन खर्च भयो भन्ने कुनै लगबुक वा प्रमाण कागजात नराखी गैरकानुनी लाभ लिएको भेटिएको छ।

त्यसैगरी,  नेपाल रेडक्रस सोसाइटी धनुषाले २०७८ जेठ ४ मा निर्धारण गरेको कच्ची बाटोको भाडादर अनुसार ३० हजार १८५ किमी गुडाउँदा कुल १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी भएको पुष्टि भएको छ।

अख्तियारले पूर्ववडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा १५ लाख ९ हजार २५० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ।

अनुसन्धानका क्रममा कानुनी कारबाहीबाट उम्किने उद्देश्यले यादवले एम्बुलेन्सको आम्दानी र ब्याज भन्दै ३ लाख ८१ हजार ५ सय ९७ रुपैयाँ दाखिला गरिसकेका छन्।

यसरी कुल बिगोबाट दाखिला भइसकेको रकम घटाउँदा बाँकी रहेको ११ लाख २७ हजार ६ सय ५३ रुपैयाँ यादवबाट असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा जरिवाना सजाय गर्न मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

साउन १२, २०८३ मंगलबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।