एमबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री सस्मितको राजीनामा माग
काठमाडौं : एमालेका नेता ठाकुर गैरेले एमबीएसको प्रश्नपत्र चुहावटको घटनामा शिक्षामन्त्री सस्मित पोखरेलले राजीनामा दिनुपर्ने माग गरे। उनले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुको सट्टा कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्न खोजिएको आरोप लगाए। उनले सरकार अहिले सो प्रकरणबाट उम्किन प्रयास गरिरहेको दाबी गरे।
“भारतमा भइरहेको आन्दोलनले शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो। त्यो शिक्षा क्षेत्रको एउटा मागको विषयले हो। नेपालमा पनि एमबीएसको प्रश्नपत्र लिक भएको छ, शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल बनाएर ढाकछोप गर्न खोज्दैछ, सरकार उम्किन खोज्दैछ” उनले भने।
त्रिभुवन विश्वविद्यालयले हालै सञ्चालन गरेको व्यवस्थापन सङ्कायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र ह्वाट्स एप समूहबाट लिक भएको सार्वजनिक भएको थियो।
साउन ८ गते परीक्षा सुरु सुरु भएको केही मिनेटमै एक ह्वाट्स एप ग्रुपमा पहिला प्रश्नपत्र अनि पछि त्यसकै सोलुसन बाहिरिएको पुष्टि भइसकेको छ। साउन ८ गते सञ्चालित ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र ह्वाट्सएप ग्रुपमार्फत लिक भएको खुलेसँगै अहिले प्रहरी अनुसन्धानमा जुटेको छ भने विद्यार्थी संगठनले जिम्मेवार अधिकारीको राजीनामा मागेका छन्।
तर नेता गैरेले यो शिक्षामन्त्रीको नैतिकतासँग जोडिने भन्दै उनको राजीनामा मागे।
उता आइतबारै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन गरेर एमबिएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गरिने दाबी गरे। आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले घटनामा संलग्न दुईजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको र हिजोका दिनमा समेत यस्तो घटना सार्वजनिक हुने गरेको बताए।
उनले पत्रकार सम्मेलनमा यस पटक घटना सार्वजनिक भए लगत्तै गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरेर तत्काल निगरानी बढाइएको दाबी गरे।
साउन १०, २०८३ आइतबार १९:०३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
नेपालमा पनि प्रश्नपत्र लिक !,स्ववियुले माग्यो डिनको राजीनामा