सुनसरी प्रशासनद्वारा दिउँसो साढे ३ बजेदेखि पूर्व-पश्चिम राजमार्गमै कर्फ्यु
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा साउने सोमबारको ‘बोलबम’ यात्राका क्रममा दुई पक्षबीच भएको झडप र त्यसपछिको तनाव नियन्त्रण बाहिर गएपछि प्रशासन मंगलबार दिउँसो साढे तीन बजेदेखि सदरमुकाम इनरुवा र पूर्व-पश्चिम राजमार्ग क्षेत्रसहित विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
मंगलबार बिहानको स्पष्टीकरणका बाबजुद दिउँसो ३:३० बजे प्रमुख जिल्ला अधिकारी अर्यालले अर्को कडा आदेश जारी गर्दै पूर्व-पश्चिम (महेन्द्र) राजमार्ग र इनरुवा बजार क्षेत्रमा समेत अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका छन्।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको पछिल्लो आदेश अनुसार पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेज पुल, उत्तर र दक्षिणमा महेन्द्र राजमार्गको २ सय मिटर क्षेत्रमा कसैलाई पनि आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको यो कर्फ्युका कारण पूर्व-पश्चिम राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् भने इनरुवा र आसपासको जनजीवन त्रसित बनेको छ। प्रशासनले स्थानीयवासीलाई घरभित्रै रहन र शान्ति सुरक्षा कायम राख्ने कार्यमा सहयोग गर्न अपिल गरेको छ।
देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई सम्प्रदायबीच एक्कासी विवाद र झडप भएको थियो। स्थिति उग्र बनेपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो।
उक्त झडपमा परी १५ जना प्रहरी र ९ जना स्थानीय गरी कुल २४ जना घाइते भएका थिए। घटनालगत्तै स्थानीय प्रशासनले स्थिति साम्य पार्न मुख्य ५ स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो।
सोमबारको प्रदर्शन, आगजनी र सेना परिचालन
प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएपछि सोमबार स्थिति थप तनावग्रस्त बन्यो।
प्रदर्शनकारीहरूले कर्फ्यु आदेश उल्लङ्घन गर्दै सडकमा उत्रिएर तोडफोड र आगजनी सुरु गरे। शान्ति सुरक्षा गम्भीर खतरामा परेको निष्कर्ष निकाल्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबारै हतियारसहित नेपाली सेनाको टोली परिचालन गरियो।
प्रदर्शनका बीच मंगलबार प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै कर्फ्यु र निषेधाज्ञाको सीमा स्पष्ट पारेका थिए। प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गर्यो।
साथै, देवानगञ्ज-३ कप्तानगञ्जमा भएको घटना र सोपश्चात् उत्पन्न परिस्थितिका कारण हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्जका मुख्य बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु कायमै राखिएको जानकारी गराइएको थियो।
साउन १२, २०८३ मंगलबार १५:५२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।