पौने ३ अर्बभन्दा बढी अपचलनमा दीपक र सुलभ मुख्य योजनाकार, बीमा प्राधिकरणका दुई अध्यक्ष समेत सहयोगी

पौने ३ अर्बभन्दा बढी अपचलनमा दीपक र सुलभ मुख्य योजनाकार, बीमा प्राधिकरणका दुई अध्यक्ष समेत सहयोगी

काठमाडौँ : नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिका विपरीत धितोपत्र बजारमा अर्बौँ रुपैयाँ गैरकानूनी रूपमा परिचालन गरी आर्थिक दुरुपयोग गरेको आरोपमा  दीपक भट्ट र सुलभ अग्रवालसहित ४२ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

नेपाल बीमा प्राधिकरणको जाहेरी प्रतिवेदनका आधारमा नेपाल सरकारले बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा हिमालयन रि-इन्स्योरेन्स लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष तथा पदाधिकारीहरूविरुद्ध बिहीबार अभियोग पत्र दायर गरेको हो।

अभियोग पत्रमा बीमा कम्पनीहरू र सामूहिक लगानी कोषको रकमलाई योजनाबद्ध ढंगले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (ब्रोकर नं. ५५) मार्फत सेयर बजारमा पठाई धितोपत्रको मूल्य हेरफेर गर्ने र भित्री सेयर कारोबार (इन्साइडर ट्रेडिङ) गरी गैरकानूनी लाभ हासिल गर्ने प्रयास गरिएको आरोप छ।

यस आपराधिक योजनाकारको रूपमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष सुलभ अग्रवालमाथि आरोप लगाइएको छ।

अभियोग पत्रमा भट्ट र सुलभ अग्रवालसमेतले नेपाल रिइन्स्योरेन्सक लगायतका कम्पनीको शेयर मूल्यलाई प्रभावित पारेर लाभ लिने मनसायले गार्डियन माइक्रो लाइफ एनएलजी एन्स्योरेन्स र यसका सहायक कम्पनीहरूको हिमालयन क्याप वर्क, हिमालयन सेक्युरिटिज र हिमालयन लार्ज क्याप फन्ड समेतका बीमा र सामूहिक लगानी कोषको रकम दुरुपयोग गरेर योजनाबद्ध र आपराधिक तथा षड्यन्त्रमूलक कामहरू गरेको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रमा यसको मुख्य नेतृत्व सुलभ र दीपक भट्टले गरेको र उनीहरूले आपराधिक समूह बनाएर हिमालयन रिइन्स्योरेन्ससहितका कम्पनीको शेयर किन्ने र बेच्ने तथा व्यवस्थापन गर्न सौर्य सिमेन्ट र जगदम्बा स्टिलको गैर्हीधारामा रहेको कार्यालयबाट काम गरेको अभियोग पत्रमा दाबी गरिएको छ।

अभियोग पत्रमा सबै कम्पनीका कार्यकारी प्रमुखहरूसमेतको संलग्नतामा सुलभ र दीपक मिलेर कारोबार गरेको र स्वार्थका लागि हिमालयन रीइन्स्योरेन्सको रकम हिनामिना गरिएको दाबी गरिएको छ।

उनीहरूले नेपाल बीमा प्राधिकरणको अनुमति नलिई हिमालयन रिइन्स्योरेन्सको प्रतिस्पर्धी कम्पनी नेपाल रिइन्स्योरेन्सको ठुलो मात्राको शेयर किन्ने र बेच्ने गरेको विवरण अभियोग पत्रमा राखिएको छ।

कुन कम्पनीबाट कति रकम अपचलन ?

अभियोग पत्रका अनुसार दुईवटा बीमा कम्पनीबाट ठूलो रकम निर्देशिका विपरीत ब्रोकर कम्पनीमा पुऱ्याएर दुरुपयोग गरिएको छ।

हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको नाममा नियम विपरीत भृकुटी स्टक ब्रोकिङलाई अर्बौँ रुपैयाँ अग्रिम पेस्की दिएको र हालसम्म दुई अर्ब ७३ करोड ३३ लाख असुल हुन बाँकी राखेर संस्थालाई नोक्सानी पुऱ्याएको अभियोग पत्रमा उल्लेख छ। पुनर्बीमा बीमकले सूचीकृत कम्पनीको सेयरमा बढीमा १५ प्रतिशत मात्र लगानी गर्न पाउने सीमा भए पनि निर्देशिका उल्लंघन गरी २३.६१ प्रतिशत लगानी गरिएको भेटिएको समेत अभियोग पत्रमा उल्लेख छ।

यसैगरि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नियम विपरीत १७ करोड रुपैयाँ पेस्की स्वरूप ब्रोकरलाई भुक्तानी गरेको र त्यसमध्ये १६ करोड १७ लाख रकम अझै फ्रिज गराई अपचलन गरेको दाबी छ। लघु निर्जीवन बीमकले बढीमा १० प्रतिशत मात्र सेयरमा लगानी गर्न पाउने नियम उल्लंघन गरी ३१.८६ प्रतिशत रकम सेयर बजारमा पठाइएको अभियोग पत्रमा उल्लेख छ।

मुद्दामा व्यावसायिक घरानाका प्रतिष्ठित व्यक्ति समेत प्रतिवादी बनाइएको छ। संस्थाको नेतृत्वमा रहेर नियमनकारी सीमा उल्लंघन गर्ने, संस्थागत सुशासन कायम नगर्ने र अर्बौँ रुपैयाँ जोखिममा पर्दा पनि असुलीका लागि कानुनी प्रक्रिया अगाडि नबढाएको आरोप लगाइएको छ।

यो प्रकरणमा दीपक भट्ट र सुलभ अग्रवालसहित शेखर गोल्छा, आशिष श्रेष्ठ, उपासना पौडेल, मृगेन्द्र नाथ रिमाल, सन्दीप चाचन अग्रवाल लगायतका प्रतिवादी बनेका छन्।

लगानी उपसमिति र सञ्चालक समितिमा रहेर गैरकानूनी रूपमा रकम भुक्तानीको एकमुष्ट अनुमोदन गर्ने साहिल अग्रवाल, अमित मोर, रोहित गुप्ता, प्रविना दाहाल लगायतका सञ्चालकहरू र नियमनकारी भूमिकामा रहेर पनि मौन बसेको आरोपमा बीमा प्राधिकरणका तत्कालीन नेतृत्वमाथि समेत प्रश्न उठाइएको छ।

कसको के भूमिका ?

इन्फिनिटी होल्डिङ प्रा.लिका अध्यक्षलाई यी सबै प्रकरणमा मुख्य योजनाकार दाबी गरिएको छ । उनले सुलभ अग्रवालसँग मिलेर आफ्नो समूहको सेयर कारोबार गर्न तथा बीमा कम्पनी र सामूहिक लगानी कोषको रकम दुरुपयोग गरी सेयर बजार प्रभावित पार्न भृकुटी स्टक ब्रोकिङको बैंक खाता सञ्चालन गरी आपराधिक कार्य गरेको अभियोग छ।

हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभमाथि भट्टसँगै मिलेर आफ्नो समूहको सेयर कारोबार गर्न भृकुटी स्टक ब्रोकिङको बैंक खाता चलाएको र बीमा तथा सामूहिक लगानी कोषको रकम नियम विपरीत परिचालन गरी धितोपत्रको मूल्य हेरफेर गर्ने आपराधिक योजनामा प्रत्यक्ष संलग्न रहेको अभियोग लगाइएको छ। 

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छामाथि बीमकको अध्यक्षको हैसियतमा नियमनकारी निर्देशिका र लगानीको सीमा उल्लंघन गरी भृकुटी स्टक ब्रोकिङलाई अर्बौँ रुपैयाँ अग्रिम पेस्की दिएको, रकम असुलीमा लिखित ताकेता वा कानुनी कारबाही नगरी संस्थालाई नोक्सानी पुऱ्याएको र संस्थागत सुशासन कायम गर्न नसकेको भन्दै प्रतिवादी बनाइएको छ।

प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलमाथि व्यवस्थापनको प्रमुख कार्यकारीको हैसियतमा दैनिक प्रशासन सम्हाल्दा निरन्तर रूपमा शंकास्पद रूपमा १ अर्ब बढी रकम लिन बाँकी छँदाछँदै लगातार अग्रिम रकम ब्रोकरको खातामा पठाउने काम गरेको अभियोग छ।

लगानी समितिका संयोजक तथा सञ्चालक सदस्य साहिल अग्रवालमाथि लगानी उपसमितिको संयोजक भई लगानी निर्देशिकाले तोकेको सीमा (१५ प्रतिशत) उल्लंघन गर्ने निर्णय गर्ने र भृकुटी स्टक ब्रोकिङलाई पटक-पटक रकम भुक्तानी दिने काम गरेको अभियोग लगाइएको छ।

सञ्चालक समिति सदस्यहरू अमित मोर, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवालामाथि लगानी उपसमितिले गरेका नियम विपरीतका पेस्की र लगानीका निर्णयहरूलाई सञ्चालक समितिबाट एकमुष्ट अनुमोदन गरी संस्थागत सुशासनको गम्भीर उल्लंघन गरेको अभियोग लगाइएको छ। 

लगानी समितिमा सदस्य रहेका भारतीय नागरिक मनिष कुमारमाथि लगानी उपसमितिमा बसेर नियम विपरीत लगानीको सीमा नाघेर रकम परिचालन गर्ने निर्णयमा सहभागी भएको अभियोग लगाइएको छ। 

यसैगरि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष आशिष श्रेष्ठमाथि संस्थाको अध्यक्षको हैसियतमा कुल लगानीको बढीमा १० प्रतिशत मात्र सेयरमा लगानी गर्न पाउने नियम उल्लंघन गरी ३१.८६ प्रतिशत रकम सेयरमा लगानी गर्ने र भृकुटी स्टक ब्रोकिङलाई १७ करोड रुपैयाँ पेस्की स्वरूप भुक्तानी दिएको तर करोडौँ बाँकी रहँदा पनि असुल गर्न ध्यान नदिएको अभियोग लगाइएको छ।

प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमालमाथि  नियम विपरीतका पेस्की रकम भुक्तानी दिने र वित्तीय जोखिम मुल्यांकन नगरी आर्थिक अनियमितता हुन दिएको अभियोग छ। लगानी समितिका अध्यक्ष प्रविना दाहालमाथि लघु निर्जीवन बीमकको लगानी निर्देशिका विपरीत सीमा नाघेर भृकुटी स्टक ब्रोकिङलाई पटक-पटक गरी १७ करोड रुपैयाँ पेस्की भुक्तानी दिने मुख्य निर्णय प्रक्रियामा संलग्न रहेको अभियोग छ।

सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देलमाथि  सञ्चालक समितिमा रहेर लगानी समिति र व्यवस्थापनले गरेका गैरकानूनी सेयर कारोबार र पेस्कीलाई रोक्न भूमिका नखेलेको र बीमकको हितविपरीत काम गरेको अभियोग लागेको छ। 

लगानी समितिका सदस्य सुजल मल्लमाथि लगानी समितिमा रहेर नियमनकारी निकायको निर्देशिका विपरीत जोखिमपूर्ण रूपमा रकम ब्रोकर खातामा पठाउने निर्णयमा संलग्न रहेको अभियोग छ। 

अर्को कम्पनी भृकुटी स्टक ब्रोकिङका अध्यक्ष सन्दीप चाचन अग्रवालमाथि बीमा कम्पनीहरूबाट प्राप्त भएको ठूलो परिमाणको अग्रिम पेस्की रकम हिसाब राफसाफ नगरी आफ्नै संस्थाको सेटलमेन्ट खातामार्फत दीपक भट्ट समेतको नाममा सेयर खरिद गर्न प्रयोग गरी रकम हिनामिना र अपचलन गरेको  अभियोग छ। 

सुभी अग्रवालमाथि भृकुटी स्टक ब्रोकिङको रकम हिनामिना र नेपाल इन्भेस्टमेन्ट बैंकको खातामार्फत भएका शंकास्पद कारोबारहरूमा संलग्न रहेको अभियोग छ। 

दीपक कुमार श्रेष्ठ, सुभाष बहादुर श्रेष्ठ, सिताराम वाग्ले, आकांक्षा गुप्तामाथि मुख्य कम्पनी (हिमालयन रिइन्स्योरेन्स) को रकम समेत दुरुपयोग गरी सहायक कम्पनीमार्फत भृकुटी स्टक ब्रोकिङसँग शंकास्पद कारोबार गरी संस्थालाई हानि नोक्सानी पुऱ्याएको अभियोग छ।

शिशिर गैहे, रितेश प्रधान (हिमालयन क्यापसर्भ लि. का पदाधिकारीहरू) तथा  कपिल कुमार दाहाल, राजन प्रसाद अधिकारी, विदुर पुरी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, शुमेर शमशेर ज.व.रा., सुभाष पौडेल, शालिनी सघाई, प्रतीक जोशी  (हिमालयन इन्भेस्टमेन्ट बैंकर लि. र लगानी समितिका पदाधिकारीहरू)माथि सहायक कम्पनी तथा म्युचुअल फन्डका पदाधिकारीहरूले बीमा कम्पनीहरूबाट प्राप्त रकम मध्येबाट लाखौँ रुपैयाँ गैरकानूनी रूपमा चलाई, हिसाब राफसाफ नगरी आर्थिक दुरुपयोग र रकम हिनामिनामा मतियारको भूमिका खेलेको अभियोग छ। 

ऋषिराज मोर र राज बहादुर शाहमाथि आ-आफ्नो कम्पनी तथा खातामार्फत दीपक भट्ट र सुलभ अग्रवालको समूहगत लाभका लागि गैरकानूनी रूपमा एकीकृत खातामा रकम लिने-दिने कार्यमा संलग्न रहेको आरोप छ। 

अभियोग पत्रमा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा र मदन दहालमाथि  नियमनकारी निकायको सर्वोच्च नेतृत्वमा रहँदा बीमा कम्पनीहरूले निरन्तर रूपमा लगानी निर्देशिकाको सीमा गम्भीर रूपमा उल्लंघन गरिरहँदा, अर्बौँ रुपैयाँ अपचलन हुँदा र पूर्व स्वीकृति बिना अर्को बीमा कम्पनीको सेयर खरिद गर्दा समेत पदीय जिम्मेवारी पूरा नगरी मौन बसेको वा उदासीनता देखाएको अभियोग लागेको छ।

जेठ २८, २०८३ बिहीबार २०:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।