भक्तपुर अस्पतालको १२ करोडको रोबटिक टेन्डरमा चिनिया कम्पनीको क्याटलग लक्ड, '१५ दिन'मा डेलिभरीको अनौठो सर्त

भक्तपुर अस्पतालको १२ करोडको रोबटिक टेन्डरमा चिनिया कम्पनीको क्याटलग लक्ड, '१५ दिन'मा डेलिभरीको अनौठो सर्त

काठमाडौं : भक्तपुर अस्पताल नेतृत्वले अगाडि बढाएको करिब १२ करोडको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’को टेन्डर प्रक्रियामा पनि मिलेमतो देखिएको छ। अस्पतालले अगाडि बढाएको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण खरिद प्रक्रियाको खरिद मापदण्ड निश्चित कम्पनीको उत्पादकको मात्र योग्य हुनेगरी लक्ड गरिएको हो।

उकेराको अध्ययनमा खरिदका लागि बनाइएको स्पेशिफिकेशनका बुँदाहरू चिनिया उत्पादक कम्पनी ‘एज मेडिकल’को मोडल नम्बर ‘एमपी-१०००’ लक्षित गरेर बनाएको खुल्यो। यसमा सामान उपलब्ध गराउन राखिएको समय पनि निकै शंकास्पद छ।

खरिद मापदण्ड संशोधन नगरी खरिद प्रक्रिया अगाडि बढाउने हो भने यो टेन्डर चिनिया कम्पनी एज मेडिकलको नेपाली सप्लायर्सले पाउने देखिन्छ। चिनिया उत्पादक कम्पनी ‘एज मेडिकल’को नेपाली सप्लायर्समा रन्जित शर्मा र गोकुल पन्त देखिएका छन्।

सामान्यतया उनीहरूले यो उपकरणको टेण्डरका लागि लाइफ लाइन सर्जिकल नामक फर्म प्रयोग गर्न सक्ने देखिन्छ। तर, स्थानीय फर्म जुन प्रयोग गरे पनि खरिद मापदण्ड अनुसार चिनिया उत्पादक कम्पनी ‘एज मेडिकल’कै यो उपकरणका लागि लक्ड गरिएको देखियो।

खरिद प्रक्रिया आर्थिक वर्ष सकिनु अन्तिम समय पारेर प्रक्रिया अगाडि बढाइएको छ। त्यसमा अर्को पक्ष भनेको उपकरण ल्याइदिनु पर्ने समय हो। टेन्डरमा टेन्डर पर्ने कम्पनीले असार २४ सम्ममा उपकरण ल्याइदिनुपर्ने समय तोकिएको छ।

यो उपकरणको प्रकृति अनुसार स्थलमार्गबाट ल्याउनु पर्ने र टेन्डर परेपछि सामान मगाएर यती छोटो अवधिमा उपलब्ध गराउन सम्भव हुन्न। यस अगाडि यस्तो छोटो समय तोकेर निकालिने टेन्डरमा पहिल्यै लक्ड गरिएको उपकरणको नेपाली सप्लायर्सले उपकरण मगाएर नेपालमा राख्ने र टेन्डर परेपछि सामान उपलब्ध गराउने गरेको देखिएको थियो।

एक त छोटो अवधि तोक्दा तोकिएको समयमा उपकरण मगाएर बुझाउन नसक्ने भएकाले अन्य सप्लायर्सहरु प्रतिस्पर्धामा सहभागी हुन्नन्। अर्कोतिर जुन उपकरणको मापदण्ड नै खरिद मापदण्डमा राखेर लक्ड गरिएको हुन्छ उसैले टेन्डर पाउने पक्का हुने भएपछि उसले पहिल्यै उपकरण मगाएर राख्ने गर्छन्। यो खरिद प्रक्रियामा पनि यही शैली अपनाइएको देखियो।

यती छोटो समयमा कसरी सामान उत्पादक कम्पनीबाट नेपाल ल्याएर अस्पताललाई बुझाउन सम्भव हुन्छ भनेर अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवन चन्द्र झासँग जिज्ञाशा  राख्दा उनले केही सप्लायर्सले तोकिएको समयमा उपकरण ल्याइदिने बताएको दाबी गरे।

“यो खरिदको विषयमा संशोधन गर्न आवश्यकता देखियो भने संशोधन गर्छौँ,’निमित्त निर्देशक डा. झाले उकेरासँगको कुराकानीमा भने,‘त्रृटी देखिएको खण्डमा हामी छलफल गरेर निर्णय लिन्छौँ।’

अहिले अस्पतालको नेतृत्व झाले गरेका छन्। ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणको खरिद प्रक्रिया भने भक्तपुर अस्पतालका निवर्तमान निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले अगाडि बढाएका थिए।

डा. भट्टले नियम विपरीत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा ‘इनफर्टिलिटी’ सम्बन्धी एक वर्षे फेलोसिप गरिरहेको विषय तीन हप्ताअघि वैशाख ३१ मा उकेराले प्रमाणसहित सार्वजनिक गरेपछि बदमासी लुकाउन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डा. भट्टलाई भक्तपुर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीबाट हटाएर झालाई दिएको थियो।

झाका अनुसार उनी जेठ १७ मा अस्पतालमा हाजिर भएका हुन्। डा. झा यसअघि धादिङ अस्पतालको निमित्त निर्देशक थिए। निमित्त निर्देशकबाट बाहिरिएका डा. भट्ट अहिले पनि भक्तपुर अस्पतालमा नै कार्यरत छन्।

अहिले भक्तपुर अस्पतालमा करार बायोमेडिकल इन्जिनियर सन्दीपा खड्का छिन्। अस्पतालका निमित्त निर्देशक डा. झाका अनुसार ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’को स्पेशिफिकेशन अस्पताल बाहिरको बायोमेडिकल इन्जिनियरले बनाएका हुन्। आफ्नै अस्पतालमा बायोमेडिकल इन्जिनियर हुँदाहुँदै किन बाहिर स्पेशिफीकेशन बनाएको भन्नेबारे झाले प्रस्ट खुलाउन सकेनन्।

आर्थिक वर्ष २०८२-०८३ बजेटमा ‘सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार प्रदेश औषधी उत्पादन केन्द्र र ड्रग एन्ड टक्सिकोलोजी केन्द्र स्थापना गर्न, प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ तथा विशिष्टीकृत आँखा र रोबटिक शल्यक्रियाका लागि १० करोड विनियोजन’ भएको थियो।

पहिल्यै तोकिएको खरिदको प्रक्रिया भने आर्थिक वर्ष सकिने अन्तिम समयतिर अगाडि बढाइयो। अस्पतालले २०८३ वैशाख १९ गते सूचना प्रकाशित गर्दै तीन दिनको समयसिमा तोकेर ‘रोबटिक सर्जरी’ सम्बन्धी मेसिनका बारेमा विज्ञताको जानकारी वैशाख २२ सम्ममा उपलब्ध गराइदिन सूचना निकालेको थियो।

यो खरिद प्रक्रियाबारे बागमती प्रदेशको स्वास्थ्यमन्त्री किरण थापा मगर र सचिव सुमित्रा गौतम जानकार देखिए। गौतमको ट्रयाक रेकर्डमा उनी मिलेमतोको खरिदमा पटक पटक जोडिएको देखिन्छ।

उकेराले यी दुईमध्ये मन्त्री मगरसँग खरिदमा देखिएको बदमासीबारे जिज्ञासा राखेको थियो। खरिद मापदण्डमा गरिएको लक्डदेखि उपकरण उपलब्ध गराउन तोकिएको शंकास्पद समयावधीबारे जानकारी गराउँदा पनि बागमती प्रदेशका स्वास्थ्यमन्त्री मगरले रोबटिक खरिद प्रक्रियाको सबै पक्षको अध्ययन गरेझैँ निकै ढुक्क भएर कुनै सेटिङ नभएको दाबी गरे।

आर्थिक वर्षको प्रारम्भकै परेको योजना आर्थिक वर्षको अन्त्यमा किन त भन्ने जिज्ञासामा उनले भने “बजेट नीति कार्यक्रममा राख्यौँ। तर, बजेट अपुग भएकाले अहिले अर्थबाट रकमान्तर गरेर (टेन्डर) गरेको हो।”

आर्थिक वर्षको अन्त्यमा आएर सुझाव

भक्तपुर अस्पतालले २०८३ जेठ १२ (२०२६, मे २६) मा ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण खरिद गर्ने गरी टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढायो। अस्पतालले उपकरण खरिदका लागि २०८३ जेठ २२ (२०२६, जुन ५) मा ‘प्रि-बिड’ मिटिङको समय तोकेको थियो। तोकिएको समयमा प्रि–बिड पनि भयो। 

प्रि-बिड मिटिङमा सहभागी सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले टेन्डरको स्पेशिफिकेशन संशोधनको माग गरे। तर, मंगलबारसम्म भक्तपुर अस्पतालले ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणको टेन्डर कागजातमा राखिएको स्पेशिफिकेशन संशोधन गरेको छैन। अस्पतालले चाहेमा टेन्डर प्रस्ताव गर्ने अन्तिम समय २०८३ असार २ (२०२६ जुन १६)   अगावै प्राविधिक स्पेशिफिकेशन संशोधन गर्न सक्छ। अस्पतालले सोही दिन दिउँसो १२ बजेर १० मिनेटमा टेन्डर खोल्ने जनाएको छ।

‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणको टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘बीएचबी-जी-एनसीबी–२४-२०८२–८३’ हो। यो खरिदको टेन्डर कागजातमा,‘प्रक्रुमेन्ट अफ रोबटिक एसिस्टेड सर्जिकल सिस्टम, सिंगल–स्टेजः टु इन्भेलोप बिडिङ प्रोसेड्युर, नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी)’ लेखिएको छ।

‘डेलिभरी डेट’मा खेलेर सेटिङ

अस्पतालले ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणको यो टेन्डरमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरिएको छ। भक्तपुर अस्पतालको रोबटिक उपकरणको टेन्डर कागजात हेर्दा बागमती प्रदेशको बजेट निर्माणको चरणदेखि टेन्डरको स्पेशिफिकेशन निर्माणको चरणसम्म आइपुग्दा नै निश्चित सप्लायर्स कम्पनीलाई नै टेन्डर दिने मनसाय देखिन्छ।

उपकरण उपलब्ध गराउन तोकिएको असम्भव समयले आपूर्तिकर्ताले खरिद सम्झौता हुनु अगाडि नै उपकरण नेपाल भित्र्याउने प्रक्रिया अगाडि बढाएर वा पहिल्यै नेपाल भित्राएर स्टक राखेर खरिद सम्झौता भएपछि उपकरण दिने रणनीति बनाइएको देखिन्छ।

करिब १२ करोडको टेन्डर जसले पाउँछ उसले असार २४ सम्ममा उपकरण अस्पतालमा बुझाइसक्नु पर्छ। असार दुई गते (जुन १६)सम्ममा टेन्डर प्रस्ताव गर्नुपर्ने र सोही दिन टेन्डर खुल्ने मिति तोकिएको छ। स्पेशिफिकेशन (टेन्डर कागजात)मा ‘वीद इन २४ असार २०८३’ भन्ने सर्त राखिएको छ।

टेन्डर प्रस्ताव गरिसकेपछि प्रक्रियागत रूपमा प्राविधिक र आर्थिक मूल्याङ्कन गरेर टेन्डर स्वीकृत सहित सम्झौता हुन छिटोमा एक हप्ता समय लाग्ने देखिन्छ। टेन्डर कागजातमा असार २४ भित्र ल्याइदिनुपर्ने राखिएको सर्त अनुसार टेन्डर स्वीकृत भएको करिब १५ दिन भन्दा कम समयमा नै भक्तपुर अस्पतालमा ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण ल्याउनु पर्ने देखिन्छ।

‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण नेपालमा बन्दैन। यो  विदेशबाटै ल्याउने हो। सामान्यतया टेन्डर पाएर सम्झौता भएपछि मात्र सप्लायर्स कम्पनीले उपकरण ल्याउने प्रक्रिया अगाडि बढाउँछन्। सामान्य अवस्थामा यसरी प्रक्रिया अगाडि बढाएको तीन महिनामा मात्रै सामान नेपाल ल्याउन सकिने जानकारहरूले उकेरालाई बताए।

यस्तो अवस्थामा छोटो समय राख्नुको अर्थ पहिल्यै कसले टेन्डर पाउने पक्का गर्नु हो। मापदण्ड अनुसार जसले टेन्डर पाउने पक्का हुन्छ उसले सामान मगाउन टेन्डर खुल्ने र सम्झौता हुने समय कुर्दैन। टेन्डर प्रक्रिया सुरु भए लगत्तै सामान मगाउँछन् वा पहिल्यै नेपालमा स्टक राखिएको हुन्छ।

टेन्डर खुलेर सम्झौता भएपछि उपकरण मगाएर तोकिएको समयमा बुझाउन नसकेमा कालोसूचीमा परिने भएकाले जुन सप्लायर्स यो मिलेमतोमा संलग्न हुन्न उनीहरूले प्रस्ताव नै पेस गर्दैनन्। टेन्डरमा प्रतिस्पर्धा भएको देखाउन जसको मापदण्ड लक्ड गरिएको हुन्छ उसैले अन्य फर्महरूलाई पनि प्रस्ताव पेस गर्न लगाउँछन्। तर योग्य हुने उपकरण लक्ड गरिएकै हुन्छ। यो खरिद प्रक्रियामा तोकिएको समयावधिका आधारमा यसमा पनि यही चलखेल भएको देखिन्छ।

जताततै मापदण्ड लक्ड

उकेराको खोजमा भक्तपुर अस्पतालले टेन्डर गरेको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणमा राखिएका स्पेशिफिकेशनका बुँदाहरू चिनिया उत्पादक कम्पनी ‘एज मेडिकल’को मोडल नम्बर ‘एमपी-१०००’लाई लक्षित देखियो। एक ठाउँमा हैन मापदण्डको विभिन्न ठाउँमा यसको मापदण्ड ट्वाक्कै मिल्यो।

भक्तपुर अस्पतालले टेन्डर गरेको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.१’ मा ‘...अ पेशेन्ट कार्ट वीथ ४ रोबटिक्स आर्म...’ उल्लेख छ। चिनिया रोबटिक उपकरण उत्पादक कम्पनी ‘एज मेडिकल’को मोडल नम्बर ‘एमपी–१०००’को क्याटलगमा भएको स्पेशिफिकेशनमा पनि पेशेन्ट कार्टको मापदण्ड ‘४ आर्म सपेन्शन स्टक्चर’ उल्लेख छ। यो मापदण्ड ‘एज मेडिकल’को मोडल नम्बर ‘एमपी–१०००’को क्याटलगबाट हुबहु कपिपेष्ट गरेको देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘सी’ को ‘आइ’ र ‘आइभी’ ‘एज मेडिकल’को मोडल नम्बर ‘एमपी–१०००’लाई लक्षित गरेर राखिएको छ। प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘डी’को ‘आइ’,‘आइआइ’, ‘आइआइआइ’ र ‘भीआइ’ पनि ‘एज मेडिकल’कै रोबटिक उपकरणमा भएको मापदण्डलाई लक्षित गरेर बनाएको देखियो।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘डि’को भिजन एन्ड इमेजिङ सिस्टमको ‘आइ’मा ‘थ्रिडी भिजुअलाइजेशनः मिनिमम १०×अप्टिकल म्याग्निफिकेशन...’भन्ने प्रावधान राखिएको छ। उत्पादक कम्पनी ‘एज मेडिकल’को मोडल नम्बर ‘एमपी–१०००’मा पनि ठ्याक्कै यही भाषा छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘डि’को भिजन एन्ड इमेजिङ सिस्टमको ‘आइआइ’मा ‘स्याल ह्याभ नेयर–इन्फ्रारेड फ्लोरेस्सेन्स इमेजिङ (एक्जाम्पल, कम्पाटिबल वीथ आइसीजी–इन्डोसिनाइन ग्रिन) फर परफ्युजन, एनाटोमिकल ल्याण्डमार्क, एन्ड लिम्फ् नोड एसेस्मेन्ट’ उल्लेख छ। उत्पादक कम्पनी ‘एज मेडिकल’को मोडल नम्बर ‘एमपी–१०००’को क्याटलगमा भएको प्राविधिक स्पेशिफिकेशनमा पनि ठ्याक्कै यही छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘डि’को भिजन एन्ड इमेजिङ सिस्टमको ‘भीआइ’मा ‘मष्ट प्रोभाइड एट लिस्ट २४ इन्च मेडिकल ग्राडेड डिस्प्ले अफ ओआर स्टाफ’ उल्लेख छ। उत्पादक कम्पनी ‘एज मेडिकल’को मोडल नम्बर ‘एमपी–१०००’को क्याटलगमा भएको प्राविधिक स्पेशिफिकेशनमा ‘२७ इन्च मनिटर फर ओआर स्टाफ’ उल्लेख छ।

यो बुँदामा अलिकति भाषा मात्रै घुमाइएको छ। यो बुँदामा भएको रमाइलो पक्ष त ‘...मनिटर फर ओआर स्टाफ’ भन्ने शब्द हुबहु नै अस्पतालले कपिपेष्ट गरेर प्राविधिक स्पेशिफिकेशनमा राखेको देखियो।  बुँदा नम्बर ‘एफ’को ‘आइ’ र ‘जी’को ‘आइ’मा भएको प्राविधिक स्पेशिफिकेशन पनि ‘एज मेडिकल’लाई नै लक्षित गरेर बनाएको देखियो।

उकेराले मापदण्ड र सम्बन्धित कम्पनीको क्याटलग हेर्दा हुबहु प्रावधान फेला पार्यो। तर मन्त्री मगर स्पेशिफिकेशनमा लक्ड गर्ने र कोही कसैको इन्ट्रेस्टबाट (बजेट) नराखेको दाबी गर्छन्।

प्राविधिक चरणबाटै आउट गर्ने रणनीति

‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणको खरिदमा दुई खाम विधि (सिंगल–स्टेजः टु इन्भेलोप गुड्स बिडिङ प्रोसड्युर) त अपनाइएको छ।  दुई खाम विधिबाट गरिने खरिदमा नियम अनुसार टेन्डरको लागि सप्लायर्स कम्पनीले प्राविधिक र आर्थिक दुवै प्रस्ताव छुट्टाछुट्टै गर्नुपर्ने हुन्छ।

पहिला टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीहरूको प्राविधिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनमा टेन्डर गर्ने संस्थाले टेन्डर आह्वान गर्दा सार्वजनिक गरेको स्पेशिफिकेशन अनुसारको प्राविधिक पक्षको मूल्याङ्कन गर्छ। प्राविधिक रूपमा एक भन्दा बढी सप्लायर्स कम्पनी छनोट हुन सक्छन्। प्राविधिक मूल्याङ्कन भएपछि मात्रै आर्थिक प्रस्ताव खुल्छ।

प्राविधिक मूल्याङ्कनमा छनोट भएका सप्लायर्स कम्पनी मात्रैको आर्थिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनको चरणमा एक भन्दा बढी टेन्डर प्रस्ताव गर्ने कम्पनी छनोट भएको अवस्थामा जुन सप्लायर्स कम्पनीले कम मूल्यमा गुणस्तरीय सामग्री ल्याइदिने गरी रकम कबुल गरेर टेन्डर प्रस्ताव गर्छ उसैले टेन्डर पाउँछन् र निश्चित खरिदको प्रक्रिया पूरागरी सामग्री ल्याइदिन्छन्। त्यसपछि टेन्डर पाउने सप्लायर्स कम्पनीले सामग्री ल्याएर जडान गरिदिने लगायतको काम गर्नुपर्ने हुन्छ। यसरी प्राविधिक र आर्थिक दुवै मूल्याङ्कनको चरणमा छनोट भएको सप्लायर्स कम्पनीलाई टेन्डर आह्वान गर्ने संस्थाले टेन्डर दिइन्छ।

तर, दुई खाम विधिमा पनि सेटिङको एउटा जोखिम जहिल्यै हुन्छ। यो विधिमा जसलाई टेन्डर दिनेगरी सेटिङ गरिएको छ,, उसलाई मात्रै प्राविधिक चरणमा छनोट गरेर आर्थिक मूल्याङ्कन गरिन्छ। अनि आर्थिक मूल्याङ्कनको चरणमा आफूले चाहेकै सप्लायर्सलाई छनोट गरेर टेन्डर दिने रणनीति भएको प्रशस्तै उदाहरण छन्।

भक्तपुर यो खरिदमा पनि सकभर जसलाई टेन्डर दिने हो उसैले मात्रै टेन्डर प्रस्ताव गर्ने वातावरण बनाउने रणनीति देखिन्छ। केही गरी सेटिङ बाहेकको सप्लार्सले समेत टेन्डर प्रस्ताव गरेको खण्डमा प्राविधिक स्पेशिफिकेशनको मूल्याङ्कनकै चरणबाट सेटिङ बाहेककोलाई अयोग्य बनाइदिने रणनीति देखिएको छ।

जेठ २७, २०८३ बुधबार २२:२५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।