एभरेष्ट बैंकले सुरु गर्यो नेपाल भारत क्रस बोर्डर रियल टाइम ‘पीटुपी’ रेमिट्यान्स सेवा
काठमाडौं : नेपाल र भारतबीच अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौता भएसँगै एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप 'इबीएल टच २४' मार्फत नेपाल र भारतबीच 'रियल–टाइम क्रस–बोर्डर (पीटुपी) रेमिट्यान्स सेवा' औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
यो डिजिटल सेवाको सुरुवातसँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्कालै रकम आदानप्रदान गर्न सक्ने जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएको छ। जसअन्तर्गत नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारतीय रुपैयाँ (भारु) १५ हजार र मासिक अधिकतम भारु एक लाखसम्म सहजै भारत पठाउन सक्नेछन्।
त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु दुई लाखसम्म नेपालमा विप्रेषण (रेमिट्यान्स) पठाउन सक्नेछन्।
यस नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्।
साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडी मार्फत सिधै रकम प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ।
जेठ २८, २०८३ बिहीबार १६:३३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।