स्वास्थ्य बीमा धान्नै नसकिने अवस्थामा पुग्यो, पुनर्संरचना गर्छौं : अर्थमन्त्री वाग्ले
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रम 'असीमित दायित्व'का कारण धान्नै नसकिने अवस्थामा पुगेकाले यसलाई दिगो र प्रभावकारी बनाउन पुनर्संरचना गरिने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले स्वास्थ्य बीमाको विषय राष्ट्रिय रूपमै पेचिलो बनेको भन्दै यसको सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए।
अर्थमन्त्री डा. वाग्लेले स्वास्थ्य बीमाका लागि राज्यले लगातार बजेट थप्नुपरेको बताए। उनका अनुसार गत आर्थिक वर्षमा सुरुमा १० अर्ब रुपैयाँ विनियोजन गरिएकोमा नपुगेर २ अर्ब थपिएको थियो। आफू अर्थ मन्त्रालयमा आएपछि पुनः ७ अर्ब रुपैयाँ थपिसकिएको र अझै ५ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको उनले सुनाए।
"यो असिमित दायित्व छ। यो धानिँदैन हजुर", अर्थमन्त्री डा. वाग्लेले भने, "अहिले यो विशुद्ध 'ह्यान्ड आउट' (बाँड्ने माध्यम) को रुपमा छ र यसमा ठूलो 'अब्युज' (दुरुपयोग) समेत भइरहेको छ।"
उनले स्वास्थ्यमन्त्रीसँग यसबारे निरन्तर छलफल भइरहेको र केवल पैसा तिरेर मात्र समस्याको समाधान नहुने बताए।
उनले भने, "स्वास्थ्यमन्त्रीसँग यसबारे निरन्तर छलफल भइरहेको छ। अझै बक्यौता छ। कसरी तिर्ने भनेर छलफल चलिरहेको छ। असीमित दायित्व तिरेर मात्रै हुँदैन, पुनर्संरचना गर्छौं भनेको त्यसकै यथार्थ मूल्यांकन गरेर काम गर्ने हो।"
उनले स्वास्थ्य बीमालाई युनिभर्सल हेल्थ कभरेजको अवधारणाअनुसार अघि बढाइने उल्लेख गरे। उनले विपन्न वर्गको राज्यले तिरिदिने र मध्यम वर्गले प्रिमियम तिर्नुपर्ने गरी यसमा सुधार गर्नुपर्ने बताए।
"विपिन्नहरूलाई प्रिमियर तिराउने कुरा आएन, राज्यले नै तिरिदिनुपर्छ", वाग्लेले भने, "आम नागरिक र मध्यम वर्गले प्रिमियम तिर्नुपर्छ। प्रिमियर तिरेअनुरुप उसले सेवा पाउने गरेर अगाडि जानुपर्छ। स्वास्थ्य बीमा फ्रि भन्ने हुँदैन, सक्दैनौँ।"
उनले वास्तविक गरिब पहिचान गरी राज्यले अनुदानमार्फत बीमामा समेट्ने र सक्षम वर्गले योगदान गर्ने गरी प्रणालीलाई 'भायबल' (दिगो) बनाइने प्रतिबद्धता व्यक्त गरे।
जेठ २८, २०८३ बिहीबार १८:३५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।