पोखरा–दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला, असोज ७ देखि फ्लाई दुबईले दैनिक उडान गर्ने
पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका लागि आगामी असोज ७ गतेदेखि नियमित व्यवसायिक उडान सञ्चालन हुने भएको छ।
विमानस्थल सञ्चालन भएको तीन वर्षपछि पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यवसायिक उडान सञ्चालन हुने भएको हो।
दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले असोज ७ देखि दैनिक उडान सञ्चालन गर्ने गरी आफ्नो आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त ट्राभल एजेन्सीहरू मार्फत टिकट बुकिङ खुला गरिसकेको जनाएको छ।
सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको यस विमानस्थलबाट यसअघि चीन र भुटानलगायतका मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए। यो नियमित उडानसँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबई उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए। उनले केवल हवाई सेवा थपिएको विषय नभई पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर भएको बताए।
होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले पोखरा–यूएई सिधा पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे।
“यूएईसम्म नियमित उडान सञ्चालन हुनुले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्नेछ,” उनले भने।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले दुबई उडानले पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का अध्यक्ष ममता न्यौपानेले पोखरा–दुबई नियमित उडानको सुरुआतले पोखराको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण अवसर सिर्जना गरेको बताए।
दैनिक उडान सञ्चालनमा आएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाका वैदेशिक रोजगारीमा जाने युवा, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रु प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
जेठ २८, २०८३ बिहीबार १७:१८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।