यात्रीलाई बैंकको क्युआर कोड दिँदा साढे दुई महिनादेखि डिल्लीबजार कारागारमा ‘पठाओ चालक’ इन्द्र !

यात्रीलाई बैंकको क्युआर कोड दिँदा साढे दुई महिनादेखि डिल्लीबजार कारागारमा ‘पठाओ चालक’ इन्द्र !

काठमाडौं : करिब तीन वर्षअघि बाजुराको गौमुल गाउँपालिकाका २७ वर्षीय इन्द्र रोकाया एउटा उज्यालो सपना बोकेर काठमाडौं आएका थिए।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो। छ जनाको परिवारमा कमाउने र केही गर्ने आश गरिएका एक मात्र सदस्य इन्द्र नै थिए। दुई दिदीबहिनीको विवाह भइसकेको थियो भने आमाबुवा र कान्छी बहिनीको गर्जो टार्ने जिम्मेवारी उनकै काँधमा आइपुग्यो।

काठमाडौंमा उच्च शिक्षा पढ्ने धोको भए पनि आर्थिक अभावकै कारण उनले कक्षा १२ भन्दा अगाडि पढ्न सकेनन्।

काठमाडौंमा टिक्न र घरमा केही खर्च पठाउन उनले ऋणधन गरेर एउटा मोटरसाइकल किने। त्यसमै उनले राइड सेयरिङ एप ‘पठाओ’ चलाउन थाले।

तर, कसैलाई सहयोग गरिहाल्ने बानीका कारण परिस्थितिको फाइदा उठाउँदै ठगहरूले उनलाई डिल्लीबजार कारागार पुर्याए।

पठाओको त्यो यात्रा र मनोजको प्रवेश
इन्द्रले पठाओ चलाउन थालेको तीन महिना जति मात्र भएको थियो। एकदिन उनको बाइकमा ‘मनोज’ नाम गरेका एक यात्री चढे।

यात्राकै क्रममा मनोजले इन्द्रको कमाइ र पारिवारिक अवस्थाबारे सोधखोज गरे। इन्द्रले कमाइ निकै कम भएको र गुजारा चलाउन धौ-धौ परिरहेकाले अर्को कामको खोजीमा रहेको सुनाए।

मनोजले आफ्नो सीतापाइलामा हार्डवेयर पसल रहेको भन्दै काम परेको खण्डमा सम्पर्क गर्ने बताए र इन्द्रको नम्बर लिएर दुवै आ-आफ्नो बाटो लागे।

यस भेटपछि करिब डेढ वर्षसम्म उनीहरूबीच कुनै सम्पर्क भएन। इन्द्र आफ्नै दैनिक संघर्षमा व्यस्त थिए। तर, एकदिन अचानक उनको ह्वाट्सएपमा मनोजको म्यासेज आयो- ‘काम गर्ने भनेको होइन भाइ?’

काम पाउने आशमा दंग परेका इन्द्रलाई मनोजले कलंकीमा भेट्न बोलाए। भेटघाटका क्रममा मनोजले आफ्नो व्यावसायिक स्थिति राम्रो रहेको तर श्रीमतीसँग पारिवारिक खटपट भएका कारण बैंक खाताहरू बन्द भएको बताए।

उनले इन्द्रसँग सहयोगका लागि आग्रह गर्दै भने, ‘मेरो व्यापार त ठीकै चलिरहेको छ तर खाता नहुँदा समस्या भयो। तिम्रो बैंकको क्युआर कोड मलाई देऊ। तिम्रो खातामा पैसा आउँछ, तिमीले क्यास झिकेर मलाई दियौ भने कारोबार बढी भएको महिना १५ हजार र नत्र महिनाको १० हजार रुपैयाँ दिउँला।’

अप्ठ्यारोमा परेको मानिसलाई सहयोग गर्ने र साथमा केही अतिरिक्त कमाइ पनि हुने आशमा सोझा इन्द्रले नाइँ भन्न सकेनन्। उनले एनआईसी एसिया बैंकको आफ्नो खाताको क्युआर कोड मनोजलाई दिए।

४ लाख ७० हजारको कारोबार अनि डिल्लीबजार कारागार
यसपछि मनोजले इन्द्रको खातामा रकम पठाउन लगाउन थाले। इन्द्रले पनि मनोजले जहाँ-जहाँ बोलाउँथे, त्यहीँ पुगेर बैंकबाट झिकेको नगद बुझाउन थाले। उनले पैसा कहाँबाट र कसले पठाइरहेको छ भन्नेबारे कहिल्यै सोधखोज गरेनन्।

यसरी करिब १५ देखि १६ पटक गरी कुल ४ लाख ७० हजार रुपैयाँ इन्द्रको खाता हुँदै मनोजको हातसम्म पुग्यो।

तर, एकदिन इन्द्रको मोबाइलमा अपरिचित नम्बरहरूबाट लगातार फोन आउन थाल्यो। फोन गर्नेहरू आक्रोसित थिए र उनीहरूले वैदेशिक रोजगारीका नाममा आफूहरू ठगिएको भन्दै इन्द्रसँग पैसा फिर्ता मागिरहेका थिए।

वास्तवमा त्यो रकम कुनै हार्डवेयरको नभई वैदेशिक रोजगारीका नाममा युवाहरूलाई ठगेर इन्द्रको खातामा जम्मा गराइएको पैसा थियो। ठगहरूले सीतापाइलामा ‘मिराज ओभरसिज’ नामक नक्कली म्यानपावर खडा गरेर ठगी धन्दा चलाइरहेका थिए।

पीडितहरूले बैंकबाट विवरण निकालेर इन्द्रको नम्बर पत्ता लगाई फोन गरेका थिए।

इन्द्रका काका नरेश रोकायाका अनुसार ह्वाट्सएपमा एक पीडितले इन्द्रलाई फोन गरेर भनेका थिए, ‘भाइ, तिमी नराम्रोसँग फस्यौ। तिम्रो खाता ठगीमा प्रयोग भएको छ। तिमी हेर्दा म्यानपावर सञ्चालक जस्तो देखिँदैनौ, हामीले तिम्रो फेसबुक पनि हेर्यौँ। बरु तिमी नभाग, हामी थप पैसा हाल्दिन्छौँ र त्यो मनोज भन्नेलाई समाउनुपर्छ।’

तर, फोनबाट अत्तालिएका र कानुनको ज्ञान नभएका इन्द्र डराएर भागे। उनी मोटरसाइकलमै पोखरा हुँदै धनगढी पुगे। उनको यही भागभागले उनलाई अनुसन्धानको नजरमा झन् दोषी देखायो।

किर्ते नागरिकता र नक्कली दाजुभाइको प्रपञ्च
अनुसन्धानका क्रममा यो प्रकरणमा सरकारी कागजात किर्ते गरेर ठूलो जालसाजी भएको समेत खुलेको छ।

इन्द्रलाई आफू मनोज भएको बताउने ती ठगको अर्को नक्कली नाम ‘शिव रोकाया’ रहेको खुल्यो। मनोज भनिने शिव रोकायाले वैदेशिक रोजगार विभाग र कम्पनी दर्ताका लागि इन्द्र रोकाया र आफ्नो नक्कली नागरिकता बनाएका थिए।

शिव वाा मनोजज भनिए पनिनि उनको वास्तविक नाम अहिलेसम्म पत्ता लागेको छैन।

उकेरालाई प्राप्त दुवै नक्कली नागरिकताको प्रतिलिपि हेर्दा नक्कली इन्द्र रोकायाको जन्मस्थान रुपन्देहीको मोतिपुर र हाल तनहुँको बरभञ्ज्याङ बस्ने उल्लेख छ। जन्ममिति २०४४ साउन १९ गते तथा आमाबुवाको नाम ललिता र राम प्रसाद रोकाया राखिएको छ।

अनुसन्धानकै क्रममा शिव रोकायाले आफूलाई दाजु र इन्द्रलाई भाइ बनाएर नक्कली नागरिकताका आधारमा ठगी धन्दा चलाएको समेत देखिएको छ। ती ठग शिवले बनाएको इन्द्र रोकायाको नक्कली नागरिकतामा आफ्नो र इन्द्रको बुवाआमाको नाम र ठेगाना उही छ भने नाम, फोटो र जन्ममिति मात्र परिवर्तन गरिएको छ।

तर, अहिले डिल्लीबजार कारागारमा पुग्ने इन्द्र रोकायाको घर भने बाजुराको गौमुल गाउँपालिका रहेको देखिन्छ। उनको जन्ममिति २०५३ माघ १० गते हो भने आमाबुवाको नाम जमुनादेवी र बल बहादुर रोकाया हो।

अहिले जेलमा रहेका इन्द्रका वकिल रोहित ओझाले मिराज ओभरसिजको दर्ता नम्बर समेत कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझ्दा नेपालगन्जको अर्कै कम्पनीको प्रयोग गरेको दाबी गरे।

ओझाले उकेरासँग भने, ‘हामीले घटना घटेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा गएर समेत कम्पनीको दर्ता नम्बर हेरेको त नेपालगञ्जतिरको कम्पनीको नाम देखायो। मिराज ओभरसिजको दर्ता नम्बर नै होइन रहेछ। पूरै ठगी गर्ने नियतले काम गरेको देखिन्छ।’

मुख्य पात्र उम्किँदा इन्द्र चेपुवामा
यो ठगी धन्दामा ‘मिराज ओभरसिज’मा आबद्ध अन्य पात्रहरू भने सजिलै उम्किएका छन्।

मिराज ओभरसिजमा केही समय रिसेप्सनिष्टको काम गरेकी रकिता दाहालका अनुसार कार्यालयमा भिमप्रसाद अधिकारीले अन्तर्वार्ता लिने गर्थे भने राजन लामिछाने कर्मचारीका रूपमा काम गर्थे।

उनले भनिन्, ‘मैले शिव रोकाया (मनोज) लाई कहिल्यै देखिनँ। अफिस जाँदा भिमप्रसाद अधिकारीले इन्टरभ्यू लिने र राजन लामिछाने कर्मचारी जस्ता थिए। उनी पनि बाहिर जान लागेका थिए। तर उनको काम भनेको अन्य साथीहरू ल्याउने थियो।’

अर्का पात्र राजन लामिछानेले भने आफू पनि वैदेशिक रोजगारीका लागि दुबई जान आर्मीबाट राजीनामा दिएको र अरू साथीहरूलाई सहयोग गर्न मात्र अफिस जाने गरेको दाबी गर्दै पन्छिएका छन्।

उनले उकेरासँग भने, ‘म पनि बाहिर जानको लागि भनेर गत फागुन १ गते आर्मीबाट राजीनामा दिएको थिएँ। दुबईमा राम्रो जागिर पाइन्छ भनेर सामाजिक सञ्जालमा देखेर गएको थिएँ। म लगायत मेरो जोडाहरूलाई जोडेको थिए। म त्यो अफिसमा अरू साथीहरूलाई सहयोग गर्नको लागि गएको थिए। अरु केही होइन।’

इन्द्र रोकायाको संलग्नता र उनको कारागार चलानको विषयमा प्रश्न गर्दा उनले थाहा नपाएको दाबी गरे। उनले थपे, ‘ए हो र मलाई त था नै छैन। तपाईंले भनेपछि थाहाँ पाए।’

यस विषयमा उकेराले भिमप्रसाद अधिकारीलाई सम्पर्क गर्ने कोशिस गरेको थियो। तर, उनको नम्बरमा अफ थियो। हामीले ह्वाट्सएपमा फोन गर्दा फोन लागेपनि उठेन। म्यासेज गर्दा यो समाचार तयार पार्दा सम्ममा उनले म्यासेजको जवाफ पठाएनन्।

इन्द्रका काका नरेश रोकाया वैदेशिक रोजगार विभागको अनुसन्धानप्रति असन्तुष्टि व्यक्त गर्छन्।

उनी भन्छन्, ‘इन्द्रको खातामा पैसा आएको हो, यसमा दुईमत छैन। तर, भिम अधिकारी र राजन लामिछानेमाथि पनि त अनुसन्धान हुनुपर्ने थियो। यो अनुसन्धान प्रहरीले गरेको भए सबै पक्ष बाहिर आउँथ्यो होला।’

‘इन्द्रले साँच्चै पैसा खाएको भए २ लाख रुपैयाँ धरौटी तिरेर निस्किहाल्थ्यो नि! चार लाख पैसा खाँदा २ लाख धरौटी तिर्न के आपत! पैसा नै खाएको छैन त कसरी तिर्ने? कहाँबाट तिर्ने? अहिलेसम्म बुवाआमा समेत भेट्न आउँन पाएका छैनन्। त्यस्तो आर्थिक अवस्था छ।’

वैदेशिक रोजगार विभागको इजलासले इन्द्र रोकायालाई २०८२ चैत ८ गते २ लाख रुपैयाँ धरौटी बुझाएर तारिखमा छाड्ने फैसला त गर्यो। तर उनको परिवारले त्यो २ लाख रुपैयाँ समेत जुटाउन सकेन।

छोरालाई थुनामुक्त गराउन आर्थिक अभाव बाधक बनेपछि इन्द्र विगत साढे दुई महिनादेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन्।

जेठ २८, २०८३ बिहीबार १४:०३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।