दरबार हत्याकाण्डको पुन: छानबिन : गृहमन्त्री सुधनको ‘स्टन्ट’ कि अनुसन्धानको नयाँ आधार ?
काठमाडौं : शंकास्पद सम्पत्ति सम्बन्धको खुलासा थेग्न नसकेपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका सुधन गुरुङ मंगलबार दोस्रो पटक गृहमन्त्री बनेपछि चार निर्णय गर्दै २०५८ जेठ १५ मा नारायणहिटीमा भएको हत्याकाण्डको पुन छानबिन गर्ने घोषणा गरे।
अहिलेसम्म रहस्यको गर्भमै रहेको यो घटनाबारे पुन: छानबिन गर्नेबारे यस अगाडिका सरकारका नेतृत्वले पनि दाबीहरू नगरेका हैनन्। तर, औपचारिक रूपमा अनुसन्धान अगाडि बढ्न सकेन। ती दाबीहरू केवल तत्कालीन अवस्थामा ज्ञानेन्द्र शाहलाई तर्साउने हतियार मात्र बने।
शोकाकुल माहोलकाबीच तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले घटनाको छानबिन गर्न तारानाथ रानाभाटको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले हत्यामा तत्कालीन युवराज दीपेन्द्र संलग्न रहेको निष्कर्षसहितको प्रतिवेदन पनि सार्वजनिक गर्यो।
वीरेन्द्रको दुई नातिनी बाहेक सबैको हत्या हुनु, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको श्रीमती कोमलबाहेक अन्य कसैलाई केही नहुनुले शंकाको केन्द्रमा ज्ञानेन्द्र नै थिए। अधिकांशले दीपेन्द्रले बाउ, आमा, बहिनी र भाइसहितको यसरी क्रूर रूपमा हत्या गरे भन्ने पत्याउन सकेनन्। अहिले पनि यसमा शङ्काहरू ज्युँदै नै छन्।
कार्यान्वयन भन्दा पनि चर्चाका लागि दरबार हत्याकाण्डबारे छानबिन गर्ने दाबीहरूकाबीच पहिलो पटक गृहमन्त्रीस्तरबाट पुन: अनुसन्धान गर्ने निर्णय सार्वजनिक हुँदा यसको पुन: अनुसन्धानको पक्षमा रहेकाहरूमा भने आशा पलाएको छ।
जसरी सुधन गृहमा फर्किएर एकाएक निर्णय सार्वजनिक गरे त्यसले यो पहिला यसको संवेदनशीलता बुझेर पूर्व तयारीका साथ घोषणा भएको देखिन्न।
सम्पत्तिको अनुसन्धान समितिको प्रतिवेदन गोप्य नै राखेर भएको उनको एकखालको पुनर्बहाली शंकाको घेरा बाहिर छैन। उनका विगत अनि जेनजी आन्दोलनको उनको भूमिकाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको सिफारिस अनुसार उनी नै अनुसन्धानको घेरामा रहेका पात्र हुन्।
उनले निर्णय जसरी सार्वजनिक गरे त्यसले पूर्व तयारीका साथ निर्णय भएको देखिँदैन। किनकि निर्णय सार्वजनिक हुँदा कसको नेतृत्वमा अनि कति अवधि तोकेर अनुसन्धान समिति गठन भएको हो त्यो खुलाइएको छैन।
अनुसन्धान समिति हुने हो वा जाँचबुझ आयोग ऐन अनुसारकै आयोग बन्ने हो त्यो पनि खुलाइएको छैन। उनले केवल दबंगशैलीमा २०५८ जेठ १८ गते नारायणहिटी दरबारमा भएको घटनाको छानबिनको प्रतिवेदनको अध्ययन गरेर पुन: छानबिन गर्ने निर्णय मात्र सार्वजनिक गरे।
निर्णय औपचारिक रूपमा सार्वजनिक गरेकाले केही दिनमा जाँचबुझका लागि आयोग वा समिति गठनको अर्को निर्णय हुने अपेक्षा गर्न सकिन्छ। त्यसलाई तोकिने कार्यादेश अनि अवधिका आधारमा सरकार दरबार हत्याकाण्डको पुन: छानबिनबारे कतिको संवेदनशील भएर यो निर्णय गरेको हो भन्ने पनि पक्कै खुल्ने नै छ।
यहाँ हामीले के यो प्रकरणबारे पुन: अनुसन्धान सम्भव छ या छैन भन्ने कोणबाट विश्लेषणको प्रयास गरेका छौँ। प्रारम्भमा यो घटनाबारे पुन: अनुसन्धान गर्ने आधारहरू छन् या छैनन् त्यो पक्ष हेरौँ।
अनुसन्धान हुनसक्ने आधार र प्रमाण छन् त?
यो घटनाबारे पहिला नै अनुसन्धान भएर प्रतिवेदन समेत सार्वजनिक भइसकेको छ। तत्कालीन समयमा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल रहेको समिति गठन भएको थियो। समितिमा नेपाल भने बसेनन्। अन्य दुई जनाले काम गरे।
सो समितिले अनुसन्धानकोक्रममा बयान लगायतका महत्वपूर्ण सामग्रीहरू संकलन गरेका थिए। अधिकांश घटनाका साक्षीहरू अहिले पनि जीवितै छन्। यी सबै पक्षहरूको आधारमा यदि सरकारले तत्कालीन लोकप्रियता नहेरी वास्तवमै दरबार हत्याकाण्डबारे पुन: छानबिन गर्न चाहेको हो भने पुन: अनुसन्धान गर्ने आधारहरू देखिन्छन्। केही आधारहरू यस्ता छन् :
१. चिकित्सकीय प्रतिवेदन
यो हत्यासँग जोडिएको घटना भएकाले पुन: अनुसन्धानका लागि सबैभन्दा महत्वपूर्ण तथ्यहरू मेडिकल रिपोर्टहरू हुनेछन्। मृत्युको कारण पहिल्याउने सबैभन्दा महत्वपूर्ण तथ्य मृतकहरूको पोस्टमार्टम हो। तर दरबार घटनामा मारिएका कसैको पनि पोस्टमार्टम भएन।
यसले गर्दा सबैभन्दा महत्वपूर्ण तथ्य अब सरकारले चाहेर पनि जम्मा पार्न सक्दैन। तर वीरेन्द्र शाहदेखि दीपेन्द्रसम्मको उपचार सैनिक अस्पताल छाउनीमा भएको थियो। उपचारको क्रममा चिकित्सकहरूले पक्कै पनि मेडिकल रिपोर्ट तयार पारेका हुन्छन् नै।
ती मेडिकल रिपोर्टहरू हिजोको समितिले हेर्यो या हेरेन अनि उनीहरूले व्याख्या गरे या गरेनन् त्यो खुल्दैन। तर, तत्कालीन समयमा सैनिक अस्पतालमा काम गर्नेहरू, सैनिक अस्पतालमा नरहेका तर उपचारमा संलग्नहरूले पछि सार्वजनिक गरेको विवरणका आधारमा मेडिकल रिपोर्टहरू तयार भएको देखिन्छ।
ती मेडिकल रिपोर्ट अहिलेसम्म सुरक्षित छन् या छैनन् भन्ने खुलेको छैन। यदि व्यक्तिगत रूपमा वीरेन्द्रदेखि दीपेन्द्रसहित जो जति मारिए उनीहरूको मेडिकल रिपोर्ट फेला परेको अवस्थामा चिकित्सकीय विज्ञहरूको टोलीबाट त्यसको विश्लेषण गराएर बलियो प्रमाण संकलन गर्न सकिन्छ।
२. घटनास्थलको तस्बिर र दृश्य लगायतका प्रमाण
घटना भएको स्थान नारायणहिटी भित्र रहेको त्रिभुवन सदन हो। सो सदन ज्ञानेन्द्र राजा भएपछि भत्काउन लगाएका थिए। उनले यती महत्वपूर्ण स्थान किन भत्काउन लगाए त्यो खुलेको छैन। तर पछि सरकारले त्रिभुवन सदनको पुनर्निर्माण गराएको थियो।
मूल घटनास्थलको पुनर्निर्माण गरिएकाले कहाँ के भएको थियो भन्ने सामान्य आँकलन गर्न सकिए पनि त्यहाँबाट थप प्रमाण भने संकलन गर्न सकिन्न। तर, अनुसन्धानमा बलियो प्रमाण हुनसक्ने अर्को तथ्यहरू हुन सक्छन् दृश्य र तस्बिरहरू।
छानबिन समितिले तत्कालीन समयमा छानबिन गर्न भिडियोग्राफर र फोटोग्राफर लगेर तस्बिर र भिडियो खिचेका थिए। यसरी तस्बिर र भिडियो खिच्न संलग्न नेपाल प्रहरीका तत्कालीन फरेन्सिक फोटोग्राफर थिए शेरबहादुर कार्की।
प्रहरीबाट एसपी भएर अवकाश पाएका उनले उकेरासँग त्यस बेलाको अवस्थाबारे सविस्तार बताएका थिए।
उनले उकेरासँग भनेका थिए, “विलियर्ड हलभित्र जानुभन्दा पहिले ढोकामा उभिएर भित्र हेरेँ। अहो! भित्रको दृश्य त हेरि नसक्नु रहेछ। भुँइभरि रगतै-रगत। गोलीको खोकाका बिस्कुन। छरपस्ट सामान। त्यस्तो बीभत्स घटनास्थल देखेर मेरो त ज्यान नै सिरिङ्ग भयो। केही समय टोलाएँ म। के गर्ने के भन्ने छटपटी भयो।”
उनका अनुसार उनी दिनभर नारायणहिटीमा गएर तस्बिर र भिडियो खिच्थे। उनका अनुसार अनुसन्धान टिममा गोलीबारे हेर्न ब्यालेस्टिक एक्सपर्ट प्रकाशजंग कार्की थिए। फिंगरप्रिन्ट लगायतका प्रमाण संकलन गर्ने अर्का थिए।
उनीहरू दिनभर बसेर फोटो खिच्ने लगायतका काम गर्थे अनि बेलुका सबै रिल छानबिन समितिका सदस्य तारानाथ रानाभाटले लिन्थे। उनले यसरी चार दिन काम गरेको उकेरासँग बताएका थिए।
यसको आधारमा समितिले त्यो बेलामा घटनास्थलको दृश्य खिचाएर प्रमाण लिएको पुष्टि हुन्छ नै। सँगै टोलीमा त्यहाँ चलेका गोलीका प्रकार लगायतबाट अनुसन्धान गर्न र घटनास्थलको फिंगरप्रिन्ट समेत संकलन भएको खुल्छ।
ती सामग्रीहरू कहाँ छन् अहिलेसम्म सार्वजनिक भएका छैनन्। यदि ती सुरक्षित रहेको अवस्थामा त्यही प्रमाणको आधारमा अपराध अनुसन्धानमा पोख्त र अनुभवीहरूको समूह बनाएर पुन प्रमाणहरू हेर्ने र व्याख्या तथा विश्लेषण गर्न सक्ने सम्भावना देखिन्छ।
घटनास्थलमा भेटिएका हतियारका प्रकार र खोका
छानबिन प्रतिवेदनमै उल्लेख भएका कतिपय विवरणहरूले समेत पुन: हुने अनुसन्धानलाई सघाउन सक्छ। जस्तो प्रतिवेदनमा घटनास्थलमा जर्मनीको प्रख्यात हतियार निर्माता कम्पनी Heckler & Koch (HK) द्वारा निर्मित सब-मेशिन गन प्रयोग भएको उल्लेख छ।
विशेष गरी MP5 शृङ्खलाको रूपमा चिनिने यो हतियारबाट ९ एम.एम. क्यालिबरको गोली प्रहार हुन्छ। यसले प्रतिमिनेट ८०० सम्म गोली प्रहार गर्न सक्छ। प्रतिवेदन अनुसार त्रिभुवन सदनको विभिन्न स्थान (बिलियर्ड बोर्ड नजिक, ढोकाको बाहिरी किनारा र दुवोको झारभित्र) यसका मेग्जीनहरू र हतियार फेला परेका थिए।
अर्कमा एम.१६ ए.२ कमाण्डो राइफल उल्लेख छ। यो अमेरिकी सेनाले व्यापक रूपमा प्रयोग गर्ने M16 राइफल को परिमार्जित र छोटो रूप हो, जसलाई M4 को प्रारम्भिक रूपका रूपमा बुझिन्छ।
यो हतियारमा ५.५६ एम.एमको गोली प्रयोग हुन्छ। यो मुख्य राइफल भन्दा छोटो र हलुका हुने भएकाले विशिष्ट कमाण्डो दस्ता र भिडन्तका लागि प्रयोग गरिन्छ। त्रिभुवन सदनको पूर्वी मुख्य ढोका बाहिरको बरन्डामा, चौरको लामो झारभित्र र पुल नजिकै यो राइफल र यसका मेग्जीनहरू फेला परेका थिए।
फेला परेको अर्को हतियार हो ग्लक पिस्तोल ९ एम.एम। यो अस्ट्रियाको Glock GmbH कम्पनीद्वारा निर्मित विश्व प्रसिद्ध सेमी-अटोमेटिक पिस्तोल हो। यसको फ्रेम हलुका पोलीमर (प्लास्टिक जस्तै देखिने तर कडा धातु) बाट बनेको हुन्छ, जसले गर्दा यो बोक्न सजिलो र टिकाउ हुन्छ। यसमा पनि ९ एम.एमकै गोली प्रयोग हुन्छ।
एउटा ग्लक पिस्तोल त्रिभुवन सदनभित्रै एसएमजि. नजिकै र अर्को पिस्तोल पूर्व-उत्तरतर्फ पुल पारि पानीको किनारामा फेला परेको थियो।
अर्को थियो १२ बोर सट गन। यो सामान्यतया सिकार खेल्न वा सुरक्षा गार्डहरूले प्रयोग गर्ने ‘सटगन’ (एक प्रकारको बन्दुक) हो। यसमा १२ बोरको कार्टिज (कारतुस) प्रयोग हुन्छ। यसबाट प्रहार गर्दा एउटै गोली नगएर भित्र रहेका साना-साना सिसा वा धातुका छर्राहरू चारैतिर फैलिएर निस्कन्छन्, जसले नजिकको निशानामा ठूलो क्षति पुर्याउँछ।
त्रिभुवन सदनबाट पूर्वतिर मूल ढोकाबाट ८/१० कदम अगाडि बायाँपट्टि दुवोको चौरमा यो हतियार फेला परेको थियो।
तर, प्रतिवेदनमा चान्स प्रिन्ट डेभलपको चर्चा गर्दै फोटो खिचेर ठूलो बनाइएर हेर्दा पनि औँठाछापको ‘रिज क्यारेक्टरिस्टिक्स’ (औँठाका रेखाहरूको मोड, अन्त्य वा तिनीहरूको बनोट) प्रस्ट नभएको उल्लेख छ।
मुचुल्काको अध्ययन र पुन: बयान
राजा वीरेन्द्रका एडिसी सुरेन्द्र बहादुर शाहले एक अन्तर्वार्तामा मृत्युशय्यामा रहेका दीपेन्द्रलाई हजुरआमा रत्नले फर्किएर पनि नहेरी गएको दाबी गर्दै भनेका छन्, ‘अनुसन्धान सम्झेर एकदम दु:ख लाग्छ। अनुसन्धानको जिम्मेवारी त अनुसन्धान गर्ने निकायलाई दिनुपर्ने हो। तर घटनालाई राजनीतिक रूपमा हेरियो। अनुसन्धान गर्नेलाई दिइएन।’
उनी नेपाल प्रहरीमा अनुसन्धानका अनुभवी प्रहरी अधिकृत हुन् जो एआईजीबाट अवकाश भए। उनी अहिले पनि सक्रिय नै छन्। उनको यो भनाइबाट समेत तत्कालीन समयमा अनुसन्धानमा भएको लापरबाहीसँगै पुन: अनुसन्धानको सम्भावना समेत देखाउँछ नै!
घटनास्थलको भौतिक वस्तुको विधि विज्ञान परीक्षण, उपचार गराउँदाको अवस्थाको घाउ चोटको स्थिति र मृत्युको कारण लगायत दस्ताबेज सुरक्षित देखिन्छ। उपचारमा संलग्न अधिकांश चिकित्सकहरूले त्यस समयमा आफ्नो अनुभवहरू सार्वजनिक गरेका छन्।
दरबारमा कार्यरत कतिपयले पुस्तकै लेखेका छन्। यसलाई समेत अनुसन्धानको प्रमाणको रूपमा लिन सकिन्छ। घटनाका प्रत्यक्षदर्शी, सुरक्षाकर्मीहरूमध्ये अधिकांश अहिले पनि जीवित रहेको अवस्थामा प्रतिवेदनको अध्ययन गरेर त्यसमा नआएका विषयहरूबारे पूरक प्रश्न बनाएर पुन सोध्न सकिन्छ।
अनुसन्धानको केन्द्रमा ज्ञानेन्द्र र सेना
माथिका तथ्यहरूका आधारमा दरबार हत्याकाण्डबारे अनुसन्धान ब्युँताएर निष्कर्षमा पुग्न त्यति सहज देखिन्न। तर, प्रयास गर्न नसकिने विषय भने हैन। यसका अधिकांश तथ्यहरू पुन: संकलन गरेर पुन: व्याख्या गर्न सकिने आधारहरू भने देखिन्छन्। तर मुख्य पक्ष अनुसन्धानको केन्द्रमा जो जो देखिन्छन् उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकिन्छ भन्ने मुख्य प्रश्न हो।
दरबार हत्याकाण्डबारे सार्वजनिक वृत्त एक मत छैन। केहीले यसलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको खेलमा भएको घटनाको रूपमा व्याख्या गर्छन् त केहीले यसलाई ज्ञानेन्द्र शाह राजा बन्द भएको षड्यन्त्रको रूपमा व्याख्या गर्छन्।
यसमा ज्ञानेन्द्रलाई केन्द्रमा राख्नुको कारणहरू देखिन्छ। पहिलो यस्तो त्रासदीपूर्ण घटनामा पनि उनको परिवारका सबै जीवित रहनु, वीरेन्द्र वा दीपेन्द्रको मृत्यु भएको अवस्थामा पनि राजगद्दी सम्हाल्न सक्ने कोही जीवित नरहनु।
घटनाको दिन ज्ञानेन्द्र पोखरामा थिए। सो दिन त्रिभुवन सदनमा भएको भेलामा ज्ञानेन्द्रका छोरा पारस र उनको श्रीमती कोमल शाह सहभागी भए पनि दुवै जीवित रहे। कोमल घाइते भइन् तर पारसलाई केही भएन। घटनामा वीरेन्द्रसँगै राजगद्दीका सबै उत्तराधिकारी मारिएपछि ज्ञानेन्द्र राजा भए।
यसले आफू राजा हुन ज्ञानेन्द्रले नै हत्याकाण्ड गराएको शङ्काहरू बढे। उनी विरुद्ध नाराबाजी भए। आक्रोश बढ्यो। तर छानबिन समितिले दरबार हत्याकाण्डको कारक दीपेन्द्रलाई देखायो। दरबारमा भएको घटनामा प्रत्यक्ष जोडिने उनै ज्ञानेन्द्र नै हुन्। यदि गृहमन्त्रीले सार्वजनिक गरेको निर्णय अनुसार छानबिन सुरू भएमा छानबिनको पहिलो केन्द्रमा उनी नै हुने देखिन्छ।
यसैमा जोडिएर आउँछ सेना। दरबार पूर्ण रूपमा सेनाको सुरक्षा घेरामा थियो। दरबार र राज परिवारको सुरक्षाका लागि नारायणहिटीमा सेनाको अलग्गै टुकडी राखिन्थ्यो नै। घटनाको दिन पनि राजपरिवार पुरै सेनाको सुरक्षा घेरामा रहेकै बेलामा उनीहरूको हत्या भएको छ। यसले अनुसन्धानको दोस्रो प्राथमिकतामा सेनाको नेतृत्व र उनीहरूको भूमिका पर्छ नै।
त्यसपछि देशी-विदेशी शक्ति, त्यस बेलाको नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारमा प्रमुख गिरिजाप्रसाद कोइराला लगायत सरकारमा रहेकाहरूको भूमिका पनि स्वाभाविक रूपमा अनुसन्धानको दायरामा आउँछ नै।
गिरिजाप्रसाद कोइराला जीवित छैनन्। तर दरबार हत्याकाण्डको समयका अधिकांश सेनाका अधिकारीहरू भने अहिले पनि जीवितै छन्।
ज्ञानेन्द्रसहितका परिवारका सदस्य जीवितै रहेको अवस्थामा अनुसन्धानको प्रारम्भ उनीहरूबाट गर्न सकिने बाटो छ। तर, वर्तमान सरकारले नारायणहिटीको हत्याकाण्डको अनुसन्धानको प्रारम्भ ज्ञानेन्द्र परिवारको भूमिका र सेनाबाट सुरू गर्ने हिम्मत गर्ला?
यो पनि पढ्नुहोस्
जेठ २७, २०८३ बुधबार ०७:३२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।