फिफा विश्वकप २०२६ : ४८ टोली, ११ नयाँ नियम र ५० अर्ब डलरको जुवा
काठमाडौं : मेक्सिको सिटीको ऐतिहासिक एज्टेका रंगशालामा आज मध्यराति १२ बजेर ४५ मिनेटमा हुने मेक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेलसँगै फिफा विश्वकप २०२६ को औपचारिक यात्रा सुरु हुँदैछ।
यस पटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठूलो र फरक हुनेछ।
इतिहासमै पहिलो पटक ३२ बाट बढाएर ४८ टोली सहभागी गराइएको यस संस्करणले मैदानभित्र नयाँ नियमहरूको परीक्षण मात्र गर्ने छैन, बरु विश्वव्यापी अर्थतन्त्र, प्रविधि र खेल सट्टेबाजीको क्षेत्रमा पनि एउटा ठूलो हलचल ल्याउने संकेत गरेको छ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले २०२६ को विश्वकपलाई अपूर्व आकारको प्रतियोगिताका रूपमा व्याख्या गरिरहँदा यसका बहुआयामिक पाटाहरूमाथि विश्लेषण गर्नु सान्दर्भिक देखिन्छ।
सट्टेबाजीको विशाल बजार, तर सामाजिक जोखिमको चिन्ता
यस विश्वकपले व्यावसायिक रूपमा अर्बौं डलरको कारोबार गर्ने अनुमान छ।
वित्तीय सेवा प्रदायक कम्पनी ‘म्याक्वेरी’का अनुसार यस पटक विश्वभरि ५० अर्ब डलरभन्दा बढीको सट्टेबाजी हुने प्रक्षेपण गरिएको छ। यो सन् २०२२ को कतार विश्वकपको तुलनामा निकै ठूलो वृद्धि हो। त्यतिबेला ३५ अर्ब डलरको सट्टेबाजी भएको थियो थियो।
सट्टेबाजी वृद्धिका मुख्य कारणहरूमा टोलीहरूको संख्या बढ्नु एक हो। ४८ टोली पुगेसँगै खेलको संख्या ६४ बाट बढेर १०४ पुगेको छ। यसले गर्दा सट्टेबाजीका लागि धेरै अवसर सिर्जना भएका छन्।
यसका अलावा आयोजक राष्ट्रहरू (अमेरिका, क्यानडा र मेक्सिको)को समय पनि सट्टेबाजी बढ्नुको अर्को कारक हो। आयोजक राष्ट्रहरूको टाइम जोनका कारण युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका दर्शक तथा सट्टेबाजहरूलाई खेलहरू हेर्न र निर्णय लिन सहज हुनेछ।
तर यसको अर्को अँध्यारो पाटो पनि छ। जुवा नियन्त्रण र सचेतनासम्बन्धी संस्थाहरूले यसप्रति कडा चिन्ता व्यक्त गरेका छन्।
‘स्टप प्रेडेटरी ग्याम्बलिंग’का राष्ट्रिय निर्देशक लेस् बर्नालका अनुसार खेलकुदमा सट्टेबाजी गर्नेमध्ये ९९ प्रतिशत मानिसले दीर्घकालीन रूपमा पैसा गुमाउँछन्। युवाहरू ऋणको दलदलमा फस्ने, मानसिक तनावमा पर्ने र यसले आत्महत्या जस्ता गम्भीर सामाजिक समस्या निम्त्याउने जोखिमप्रति विज्ञहरूले सचेत गराएका छन्।
यसैगरी, बेलायतको एक प्रतिवेदनले देखाएअनुसार जुवा कम्पनीहरूको ७९ प्रतिशत आम्दानी केवल १० प्रतिशत उच्च खर्च गर्ने प्रयोगकर्ताहरूबाट आउने गर्दछ।
खेल सुधार्न ११ नयाँ नियम र प्रविधिको प्रयोग
खेललाई अझ तीव्र, रोचक र विवादरहित बनाउन फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाको नेतृत्वमा ११ वटा नयाँ नियम लागू गरिएका छन्।
यी नियमहरूमध्ये अधिकांश आगामी सिजनदेखि इंग्लिस प्रिमियर लिग, इएफएल र स्कटिस प्रिमियरसिपमा पनि लागू हुनेछन्। जसमध्ये मुख्य नियमहरू यस प्रकार छन्:
गोल-किक र थ्रो-इनमा ५ सेकेन्डको काउन्टडाउन हुनेछ। यदि खेलाडीले जानीजानी ढिलाइ गरेमा, रेफ्रीले हात हल्लाएर काउन्टडाउन सुरू गर्नेछन्। नियम उल्लंघन गरेमा गोल-किक विपक्षीको कर्नरमा र थ्रो-इन विपक्षीको थ्रो-इनमा परिणत हुन सक्छ।
१० सेकेन्डमा खेलाडी परिवर्तन गरिसक्नुपर्ने अर्को कारणले पनि यसपाली विश्वकप अझ छिटो हुनेछ।
मैदान बाहिर निस्कने खेलाडीले १० सेकेन्डभित्र सबैभन्दा नजिकको विन्दुबाट मैदान छाड्नुपर्नेछ। ढिलो गरेमा, उनको सट्टामा मैदान छिर्ने खेलाडीले कम्तीमा एक मिनेटसम्म वा खेल अर्को पटक नरोकिँदासम्म कुर्नुपर्नेछ र टोली १० खेलाडीमा सीमित हुनेछ।
उपचारपछि १ मिनेट बाहिरै बस्नुपर्ने अर्को नियम पनि यसै विश्वकपदेखि लागू हुँदैछ।
मैदानमा फिजियो बोलाएर उपचार गराएका खेलाडीले अब ३० सेकेन्डको सट्टा पूरा १ मिनेट मैदान बाहिर बस्नुपर्नेछ। तर गोलकिपर घाइते हुँदा, वा टाउकोमा गम्भीर चोट लाग्दा भने यो नियम लागू हुने छैन।
त्यसैगरी यसपालीदेखि नै गोलकिपरको रणनीतिक ‘टाइमआउट’मा फिफाले ब्रेक लगाएको छ।
गोलकिपरहरूले खेलको गति बिगार्न वा प्रशिक्षकबाट निर्देशन लिन कृत्रिम रूपमा घाइते भएको बहाना गर्ने प्रवृत्ति रोक्न नयाँ व्यवस्था गरिएको छ। अब गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू रणनीतिक सल्लाहका लागि प्रशिक्षक भएको ठाउँ (टेक्निकल एरिया) मा जान पाउने छैनन्।
यति मात्र होइन यसपालीको विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को दायरा समेत विस्तार गरिएको छ। कर्नर सही रूपमा दिइएको छ कि छैन जाँच गर्न अब भीएआर प्रयोग हुनेछ भने दोस्रो पहेँलो कार्डको निर्णयमा स्पष्ट त्रुटि भएमा भीएआरले समीक्षा गर्न सक्नेछ।
साथै, बल खेलमा आउनुअघि भएको फाउलका कारण गोल, पेनाल्टी वा अनुशासनात्मक कारबाही गर्ने जरुरी ठानेमा त्यसको समीक्षा पनि भीएआरमार्फत गरिनेछ भने रेफ्रीले गल्तीवश अर्कै खेलाडीलाई कार्ड दिएमा त्यसलाई सच्याउन सकिनेछ।
विवादको समयमा आफ्नो मुख छोपेर विपक्षी वा रेफ्रीलाई गालीगलौज गर्ने शंकास्पद खेलाडी वा रेफ्रीको निर्णयको विरोधमा मैदान छाडेर जाने खेलाडीलाई सिधै रातो कार्ड दिन सक्ने अधिकार रेफ्रीलाई दिइएको छ।
नयाँ टोलीहरूको आगमन र रोचक ऐतिहासिक-राजनीतिक भिडन्तहरू
४८ टोलीको नयाँ ढाँचाका कारण केही यस्ता देशहरूले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका छन्, जसको सहभागिता आफैँमा ऐतिहासिक छ।
केवल १ लाख ५६ हजार जनसंख्या भएको क्युरासाओ नामक टापु राष्ट्र विश्वकप खेल्ने इतिहासकै सबैभन्दा सानो देश बनेको छ भने करिब ५ लाख जनसंख्या भएको केप भर्ड पनि पहिलो पटक विश्वकपमा डेब्यु गर्दैछ।
साथै दुई एसियाली देशहरू जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकपको मञ्चमा देखिँदैछन्।
खेलको मैदान केवल फुटबलमा मात्र सीमित छैन; यस पटक इतिहास, राजनीति र कूटनीतिले पनि केही खेलहरूलाई निकै रोचक बनाएको छ।
औपनिवेशिक इतिहास जोडिएका फ्रान्स र सेनेगलबीचको भिडन्त मैदानभित्र निकै प्रतिस्पर्धात्मक हुनेछ। यिनीहरूबीचको खेल १६ जुनमा हुनेछ। २३ जुनमा फिलाडेल्फियामा हुने घाना र इङ्गल्याण्डबीचको खेलमा पनि ऐतिहासिक औपनिवेशिक सम्बन्धको पृष्ठभूमि जोडिएको छ।
स्थानीय रूपमा ‘प्राइड’ म्याच भनिएको इरान र इजिप्टबीचको खेललाई लिएर दुवै देशका फुटबल संघले फिफासमक्ष औपचारिक असन्तुष्टि जनाएका छन्। साथै, अमेरिकासँगको राजनीतिक तनावका कारण इरानले आफ्नो क्याम्प मेक्सिकोमा राखेको छ र खेलका लागि मात्र अमेरिका यात्रा गर्नेछ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका लेखहरूमा आधारित
जेठ २८, २०८३ बिहीबार १२:३०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।