जर्मनीको प्रशिक्षक बन्नेबित्तिकै मिडियामाथि खनिए क्लोप, राजनीनामा दिनेसम्मको चेतावनी
एजेन्सी : लिभरपुलका पूर्वम्यानेजर योर्गेन क्लोपले जर्मनीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्।
तर, पदभार ग्रहण गर्दैगर्दा उनले सञ्चारमाध्यमलाई कडा चेतावनी दिएका छन्- ‘यदि मेरो परिवारको गोपनीयतामा दखल दिए तत्काल पद छाड्नेछु।’
हालै सम्पन्न विश्वकपको अन्तिम ३२ मा पाराग्वेसँग स्तब्ध हुँदै बाहिरिएपछि युलियन नागेल्सम्यानले प्रशिक्षकबाट राजीनामा दिएका थिए। उनको स्थानमा ५९ वर्षीय क्लोपलाई जर्मन फुटबलले चार वर्षको सम्झौतामा नियुक्त गरेको हो।
मिडियालाई कडा सर्त
मुख्य प्रशिक्षकका रूपमा आफ्नो पहिलो पत्रकार सम्मेलनमै क्लोप निकै आक्रामक देखिए।
उनले सञ्चारमाध्यमलाई लक्षित गर्दै भने, ‘यदि तपाईंहरूको व्यवहार खराब भयो र मेरो परिवारलाई शान्तिसँग बस्न दिनुभएन भने म यहाँ बस्ने छैन, तत्कालै बाटो लाग्नेछु।’
उनले आफूले यो जिम्मेवारी व्यक्तिगत स्वार्थभन्दा पनि देशका लागि लिएको प्रस्ट पारे।
‘मलाई थाहा छ अन्य देशमा राष्ट्रिय टोलीका प्रशिक्षकहरूलाई अझै नराम्रो व्यवहार गरिन्छ। तपाईंहरूले नागेल्सम्यान र थोमस टुचेललाई कस्तो व्यवहार गर्नुभयो भन्ने देखेर पनि मैले यो जिम्मेवारी लिएको हुँ,’ उनले भने, ‘मलाई यो काम मन पर्छ, तर आवश्यक परेको खण्डमा जुनसुकै बेला यसलाई छाड्न म सधैँ तयार छु।’
स्मरण रहोस्, विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग १-० को अग्रता जोगाउन नसकेर पराजित भएपछि इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलको रक्षात्मक रणनीतिलाई लिएर मिडियाले कडा आलोचना गरेको थियो।
‘यो नै मेरो करियरको अन्तिम बिन्दु हो’
क्लोपको सम्झौता सन् २०३० को विश्वकपसम्म रहनेछ। उनले जर्मनीको राष्ट्रिय टोलीपछिको आफ्नो कुनै फुटबल करियर नहुने घोषणासमेत गरेका छन्।
‘जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारीपछि मेरो कुनै करियर बाँकी रहने छैन,’ उनले भने, ‘प्रशिक्षकका रूपमा मेरो फुटबल करियरको यो नै शिखर हो, सबैभन्दा उच्च बिन्दु हो। म आफूसँग भएको शतप्रतिशत दिनेछु।’
सन् २०२४ को गृष्मयाममा ‘आफूसँग ऊर्जा सकिएको’ भन्दै लिभरपुलमा नौ वर्षको सफल बसाइ अन्त्य गरेका क्लोप त्यसयता फुर्सदमा थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा फर्किन यो नै सही समय भएको महसुस गरेका छन्।
‘पछिल्ला केही दिन मलाई मेरै जीवनमा कुनै चलचित्र चलिरहेको जस्तो लागिरहेको छ,’ उनले भने, ‘मलाई सधैँ लाग्थ्यो जर्मनीको प्रशिक्षक हुनु निकै ठुलो कुरा हो, तर यो वास्तवमै कति ठुलो जिम्मेवारी रहेछ भन्ने बल्ल महसुस हुँदैछ। कुनै दिन मलाई यो प्रस्ताव आउँछ भन्ने त लागेको थियो, तर अहिले मलाई यो नै सही समय हो जस्तो लाग्छ।’
क्लोपको नेतृत्वमा जर्मनीले आफ्नो पहिलो खेल आगामी सेप्टेम्बर २४ मा नेसन्स लिगको समूह चरणअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।
साउन ९, २०८३ शनिबार ०८:०७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।