रास्वपा सांसद पौडेलबारे गगनले हटाएको पहिलो पोस्टमा के थियो ?
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेलमाथि कालोमसी छ्यापिएको घटनाको निन्दा गरेका छन्। बिहीबार राति रौतहटको गढीमाई नगरपालिकामा स्थानीयसँगको छलफलका क्रममा सांसद पौडेलमाथि कालोमसी प्रहार भएको थियो।
पौडेलमाथि कालोमसी छ्यापिएको तस्बिरसहित सुरुमा पोस्ट गरेका थापाले केही समयमै उक्त पोस्ट हटाएर दोस्रो पोस्ट गरे। कालोमसी छ्यापिएको देखाइएको पौडेलको तस्बिर वास्तविक होइन। उक्त तस्बिर एआईबाट बनाइएको भएर थापाले पोस्ट हटाएको बताइएको छ।
थापाले सामाजिक सञ्जालमा सुरुमा पोस्ट गरेको तस्बिरमा पौडेलको अनुहारभरि कालोमसी छ्यापिएको देखिन्थ्यो। तस्बिरको क्याप्सनमा कालोसमी प्रहार कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उनले लेखेका छन्, "‘नो इफ’ ‘नो बट’"
पहिलो पोस्ट हटाएर गरेको दोस्रो पोस्टमा सोही क्याप्सन राखेका छन्। तस्बिरको सट्टामा उनले घटनाको निन्दा गरेको पोस्ट राखेका छन्। जसमा थापाले भनेका छन्, "लोकतन्त्रमा विचार फरक हुन सक्छ, असहमति पनि हुन सक्छ। तर कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।"
उनले अगाडि लेखेका छन्, "सांसद गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ। असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन।"
साउन ७ गते बिहीबार राति मुस्लिम समुदायका केही व्यक्तिहरूले मस्जिद भ्रमणको प्रस्ताव राखेको र सांसद पौडेलले 'समय ढिलो भएकाले अर्को पटक आउने' बताएपछि उनीमाथि कालोमसी छ्यापिएको घटना सार्वजनिक भएको थियो।
साउन ९, २०८३ शनिबार २२:२१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।