विश्वकपका 'सरप्राइज हिरो' भोजिन्हा चिलीको कोलो कोलोमा आबद्ध हुँदै
एजेन्सी : विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबल समर्थकमाझ चर्चित बनेका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्।
क्लबका अध्यक्ष अनिबाल मोसाले भोजिन्हाको अनुबन्धको पुष्टि गर्दै उनी छिट्टै चिली पुगेर स्वास्थ्य परीक्षण पूरा गरेपछि औपचारिक रूपमा सार्वजनिक गरिने बताएका छन्।
४० वर्षीय भेट्रान गोलकिपर भोजिन्हा पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि क्लबविहीन अवस्थामै विश्वकप खेलेका थिए। तर समूह चरणमा विश्वविजेता बनेको स्पेनविरुद्धको खेललाई गोलरहित बराबरीमा रोक्न उत्कृष्ट प्रदर्शन गरेपछि विश्वभर चर्चा बटुलेका थिए।
चिलीको शीर्ष डिभिजन लिग 'लिगा डि प्रिमेरा' को शीर्ष स्थानमा रहेको कोलो कोलोका अध्यक्ष एनिबल मोसाले भोझिन्हा आफ्नो क्लबमा आबद्ध हुन लागेको पुष्टि गरेका छन्। "भोझिन्हा अब कोलो कोलोका खेलाडी हुनेछन्। आगामी केही दिनमा उनी चिली आउनेछन्, मेडिकल परीक्षण पूरा गर्नेछन् र त्यसपछि हाम्रा घरेलु मैदान 'एस्टाडियो मोनुमेन्टल' मा प्रस्तुत गरिनेछ," मोसाले भने।
अध्यक्ष मोसाका अनुसार विश्वकपमा भोझिन्हाको प्रदर्शनले उनी यो सम्झौताका लागि योग्य रहेको प्रमाणित गरेको छ। साथै, यो अनुबन्धले क्लबको मार्केटिङ र व्यावसायिक प्रवर्द्धनमा पनि ठूलो सहयोग पुर्याउने उनले स्वीकार गरे।
सम्झौताको औपचारिक घोषणा बाँकी नै रहे पनि कोलो कोलोले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा भोझिन्हाको परिचित घुम्रिएको कपाल देखिने तस्बिर सेयर गर्दै नयाँ साइनिङको संकेत दिइसकेको छ।
विश्वकपको इतिहासमा केप भर्डेका लागि स्पेनविरुद्ध पहिलो ऐतिहासिक अंक दिलाएपछि यी गोलकिपर सामाजिक सञ्जालमा भाइरल बनेका थिए र उनका लाखौँ नयाँ फलोअर्स थपिएका थिए।
विश्वकपको अन्तिम चरणमा पुग्ने दोस्रो सबैभन्दा सानो राष्ट्र केप भर्डे ले अन्तिम ३२ को खेलमा अर्जेन्टिना विरुद्ध पनि कडा चुनौती दिएको थियो। तर अतिरिक्त समयमा लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
भोझिन्हाले यसअघि आफ्नो व्यावसायिक फुटबल करिअरका क्रममा स्लोभाकिया, अङ्गोला, मोल्डोभा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबहरूबाट खेलिसकेका छन्।
साउन १०, २०८३ आइतबार १२:१६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।