जेन-जी फकाउन मोदीको ट्याक्टिस, ‘मित्रों’ छाडेर ‘फ्रेन्ड्स’ भन्दै इन्स्टाग्रामबाट सम्बोधन
एजेन्सी : बुधबार मध्यरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भइरहेको युवा तथा विद्यार्थीहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै आफ्नो इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरे। यो भिडियो विगतमा उनले गम्भीर राष्ट्रिय मुद्दाहरूमा गर्ने सम्बोधनको शैलीभन्दा निकै फरक थियो।
सन् २०१६ को नोटबन्दी होस् वा कोभिड-१९ को महामारी, भारतीय जनता मोदीलाई ‘प्राइम टाइम’मा टेलिभिजनमा बोल्दै गरेको देख्न अभ्यस्त थिए। सरकारी युट्युब र टिभी च्यानलहरूले लाइभ प्रसारण गर्ने परम्पराविपरीत यसपटक मोदीको सन्देश मध्यरातमा इन्स्टाग्राम भिडियोमार्फत आयो।
यो भिडियो मोबाइलको फ्रन्ट क्यामेराबाट ‘भर्टिकल फर्म्याट’मा रेकर्ड गरिएको थियो। अझ रोचक कुरा, उनले आफ्नो चिरपरिचित सम्बोधन ‘मित्रों’ को सट्टा यसपटक अङ्ग्रेजी शब्द ‘फ्रेन्ड्स’ प्रयोग गरेर भिडियोको सुरुवात गरे।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको यो सन्देश विशुद्ध रूपमा आन्दोलनरत युवा पुस्ता जेनजीसम्म प्रभावकारी रूपमा पुग्न तयार पारिएको थियो।
वरिष्ठ राजनीतिक पत्रकार नीरजा चौधरी भन्छिन्, ‘उनले इन्स्टाग्राम प्रयोग गर्नुको कारण स्पष्ट छ, किनकि यो विद्यार्थी र युवाहरूको प्लेटफर्म हो।’
‘पेपर लिक’ जस्ता गम्भीर मुद्दामा कडा कारबाही गर्ने र फास्ट-ट्र्याक अदालत गठन गर्ने कुरा राखेर मोदीले विद्यार्थीका कुरा गम्भीरतापूर्वक लिइरहेको सन्देश दिन खोजेको चौधरीको विश्लेषण छ।
दिल्ली विश्वविद्यालयका प्राध्यापक चन्द्रचूड सिंह पनि प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेपले आन्दोलनको आगो शान्त हुन सक्ने सरकारको बुझाइ रहेको बताउँछन्।
युवाको हतियार : स्मार्टफोन र रिल्स
प्रधानमन्त्रीले इन्स्टाग्राम प्रयोग गर्नुले अहिलेका विरोध प्रदर्शनहरूको नयाँ प्रवृत्तिलाई दर्साउँछ। अहिलेका युवाहरू सस्तो माइक्रोफोन, सेल्फी स्टिक र स्मार्टफोन बोकेर इन्स्टाग्राममार्फत नै आफ्नो आवाज उठाइरहेका छन्।
दिल्ली विश्वविद्यालयकी २२ वर्षीया छात्रा सखी भन्छिन्, ‘मूलधारको मिडियाले हाम्रो प्रतिनिधित्व गर्दैनन्। मिडियाले हामीलाई ब्ल्याकआउट गरे पनि हामीसँग आफ्नै प्लेटफर्म थियो, त्यसैले हामी इन्स्टाग्राममा आयौँ।’
जुलाई २० को प्रदर्शनमा हजारौं विद्यार्थी सडकमा उत्रिँदा प्रहरीले गरेको लाठीचार्ज र अश्रुग्यास प्रहारको घटनालाई सखीले इन्स्टाग्राम रिल्समार्फत बाहिर ल्याइन्।
प्रहरी बर्बरताको प्रमाणस्वरूप उनले पोस्ट गरेका तीनवटा रिल्समध्ये एउटा ३ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ भने उनका फलोअर्स ३ हजारबाट बढेर ७० हजार पुगेका छन्।
‘फेसबुक हाम्रा आमाबुवाको पुस्ताका लागि हो, ह्वाट्सएप हामीभन्दा अघिल्लो पुस्ताको हो, तर इन्स्टाग्राम जेन जेडको प्लेटफर्म हो’, सखी भन्छिन्।
भारतमा इन्स्टाग्रामका ५० करोडभन्दा बढी प्रयोगकर्ता छन्, जसमा अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका छन्।
के भाजपाले आफ्नो रणनीति बदल्दैछ ?
सन् २०१४ मा सत्तामा आएदेखि नै डिजिटल प्रचारप्रसार र सन्देश प्रवाहमा मोदी र उनको पार्टी भाजपालाई भारतीय राजनीतिमा अब्बल मानिन्छ।
तर, अहिलेको युवा पुस्ता अर्कै सोसल मिडिया माहोलमा हुर्किएको छ। यस्तोमा भाजपाको डिजिटल रणनीति फितलो भएको भन्दै आलोचना सुरु भएको छ।
राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का चिन्तक रतन शारदाले सामाजिक सञ्जाल एक्समा लेख्दै युवाहरूको असन्तुष्टिलाई बुझ्न नसकेको भन्दै भाजपाको सोसल मिडिया प्रणालीको आलोचना गरे।
उनले सत्तारुढ दलको सोसल मिडिया रणनीति केवल ‘मिम्स र ह्वाटअबाउट्री’मा सीमित भएको आरोप लगाए।
यद्यपि, राजनीतिक विश्लेषक राहुल वर्मा भने किसान आन्दोलन वा सिएए विरोधी प्रदर्शन नीतिगत मुद्दामा केन्द्रित भए पनि अहिलेको प्रदर्शन विशुद्ध ‘प्रशासनिक विफलता’का कारण उब्जिएको बताउँछन्।
‘युवाहरूले इन्स्टाग्राम प्रयोग गर्ने भएकाले नै प्रधानमन्त्रीले यो माध्यम रोजेका हुन्’, उनले भने।
प्राध्यापक चन्द्रचूड सिंहका अनुसार जेन जेडको आक्रोश केवल डिजिटल प्लेटफर्मको नजरबाट मात्र समाधान हुन सक्दैन।
‘युवाहरूको निराशा निकै गहिरो र व्यापक छ। उनीहरूको ऊर्जा र संकल्पमाथि कसैले डिजिटल अपिलकै भरमा मात्र नियन्त्रण पाउन सक्दैन’, उनले भने।
साउन ९, २०८३ शनिबार १०:१५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।