चार महिनामै रास्वपा सांसदलाई सकस : कतै कालोमसी, कतै चिट्ठाको सांसद भन्दै आलोचना

चार महिनामै रास्वपा सांसदलाई सकस : कतै कालोमसी, कतै चिट्ठाको सांसद भन्दै आलोचना

काठमाडौं : सरकारले बिजनेश नदिएपछि सभामुख डिपी अर्यालले असार ३१ बाट साउन १४ सम्म संसद् बैठक स्थगित गर्दै यो बिचमा सांसदहरूलाई जनताको गुनासो सुन्न आफ्नो निर्वाचन क्षेत्रमा जान आग्रह गरे। त्यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आ-आफ्नो क्षेत्रमा गइरहेका छन्।

तर निर्वाचित भएको ४ महिना नपुग्दै रास्वपाका सांसदहरूले आफ्नो क्षेत्रमा अनपेक्षित व्यवहारको सामना गर्नु परेको छ। कतै सांसदमाथि कालोमसी छ्यापिएको घटना सार्वजनिक भएको छ त, कतै 'चिट्ठामा पाएको सांसद पद' भन्दै स्थानीयले सांसदलाई भाग्न बाध्य पारेको दृश्यहरू सार्वजनिक भइरहेका छन्।

सांसद गणेश पौडेल गृह जिल्ला रौतहटको गढीमाई नगरपालिकामा स्थानीयसँग छलफल गर्न गएको बेला साउन ७ बिहीबार राति करिब साढे ८ बजेतिर स्थानीयले कालोमसी छ्यापेका थिए।

सांसद पौडेललाई मुस्लिम समुदायका व्यक्तिहरूले आफ्नो मस्जिद भ्रमण गरिदिन भनेको तर पौडेलले रातिको समय भएकाले अर्को पटक जाने बताएपछि कालोमसी छ्यापिएको घटना सार्वजनिक भएको थियो।

पौडेल रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का सांसद हुन्। उनीमाथि भएको घटनाको पार्टीले भर्त्सना गर्दै घटनामा संलग्नमाथि कारबाहीको माग गरेको छ।

उता रास्वपाका अर्का सांसद पारसमणी गेलाललाई स्थानीय समस्या सुनाउने क्रममा आफ्नो क्षेत्र नपर्ने भनेपछि स्थानीयले चिट्ठा पाएको सांसद पद भन्दै विरोध गरेको भिडियो सञ्जालमा भाइरल भइरहेको छ।

उपहारन्युज डटकमले सार्वजनिक गरेको भिडियोमा एक युवाले उनलाई चिट्ठामा पाएको, चाउचाउमा जसरी चिट्ठामा पाएको पद भन्दै आलोचना गरेको सुनिन्छ।

वरपर रहेका मिडियाले भिडियो खिच्दै गरेकोमा उनले भ्युजका लागि आएको भनेपछि स्थानीयको समस्या सोध्दा भ्युजको लागि भनेको भन्दै प्रतिप्रश्न गरेपछि उनी "यो क्षेत्र मेरो हैन" भन्दै गाडी चढेर उम्किन्छन्।

साउन ९, २०८३ शनिबार १९:३५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।