तीव्र गतिमा गाडी हुक्याएका अस्ट्रेलियन फुटबलर ‘कोकिन’ परीक्षण पोजेटिभ, छ महिनाका लागि लाइसेन्स निलम्बन

तीव्र गतिमा गाडी हुक्याएका अस्ट्रेलियन फुटबलर ‘कोकिन’ परीक्षण पोजेटिभ, छ महिनाका लागि लाइसेन्स निलम्बन

एजेन्सी : अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर क्रिस्टियन भोल्पाटो एकै रात दुई पटक अति तीव्र गतिमा गाडी चलाएको कसुरमा पक्राउ परेका छन्।

त्यस क्रममा गरिएको स्वास्थ्य परीक्षणमा उनी लागुऔषध ‘कोकिन’ सेवनमा समेत पोजिटिभ पाइएका छन्।

अस्ट्रेलियाको सिड्नीमा घटेको यस घटनापछि प्रहरीले उनको अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स छ महिनाका लागि निलम्बन गरिदिएको छ।

प्रहरीका अनुसार २२ वर्षीय भोल्पाटोलाई बिहीबार राति ११:०५ बजे सिड्नीको ‘एन्जाक ब्रिज’मा प्रहरीले रोकेको थियो।

६० किमी/घन्टाको गति सीमा रहेको सडकमा उनले आफ्नो बीएमडब्ल्यु कार ८६ देखि ९४ किमी/घन्टाको रफ्तारमा कुदाएका थिए। त्यसबेला गरिएको मादक पदार्थ परीक्षणमा भने नतिजा नेगेटिभ आएको थियो।

तर, सो घटनाको दुई घण्टा नबित्दै उनी पुनः सोही ६० किमी/घन्टाको गति सीमा क्षेत्रमा १०९ किमी/घन्टाको अत्यधिक गतिमा गाडी कुदाउँदै गर्दा समातिए।

दोस्रो पटक प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा उनले कोकिन सेवन गरेको पाइएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।

न्यु साउथ वेल्स प्रहरीले तीव्र गतिको कसुरमा भोल्पाटोलाई सजायको पुर्जी थमाउँदै उनको ड्राइभिङ लाइसेन्स ६ महिनाका लागि निलम्बन गरिदिएको छ। यसको अर्थ अब उनले न्यु साउथ वेल्स राज्यभित्र गाडी चलाउन पाउने छैनन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र थप परीक्षणका लागि उनको र्यालको नमुना प्रयोगशाला पठाइएको जनाएको छ।

भोल्पाटोले हालै सम्पन्न विश्वकपमा अस्ट्रेलियाका चारमध्ये तीन खेल खेलेका थिए। उक्त प्रतियोगिताको अन्तिम ३२ को खेलमा अस्ट्रेलिया इजिप्टसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो।

इटालीको युवा टोलीबाट अन्तर्राष्ट्रिय फुटबलको यात्रा सुरु गरेका भोल्पाटोले गत मे महिनामा मात्र अस्ट्रेलियाको टोलीबाट खेल्ने निर्णय गरेका थिए।

उनी सन् २०२३ देखि इटालीको शीर्ष डिभिजन (सिरि ए) क्लब 'सासुआलो'बाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। गत सिजन उनले क्लबका लागि २४ लिग खेल खेलेका थिए।

साउन ८, २०८३ शुक्रबार १३:०२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।