आकांक्षी नेपाल र उदाउँदो भारत कसरी पुन: जोडिन सक्छन्?

आकांक्षी नेपाल र उदाउँदो भारत कसरी पुन: जोडिन सक्छन्?

राजनीतिमा भर्खरै पाइला चालेका नवप्रवेशी र स्वतन्त्र पेसाकर्मीहरू मिलेर खोलेको एउटा नयाँ दलले चार वर्षभन्दा कम समयमै संसद्मा झन्डै दुई-तिहाइ बहुमत ल्याउनु र संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्नु आफैँमा एउटा असाधारण ऐतिहासिक परिघटना हो।

त्यसैले अहिले नेपाल कता जाँदैछ र यहाँ के भइरहेको छ भनेर विश्वभर चासो हुनु स्वाभाविकै हो। नेपालसँग हजार माइलभन्दा बढी खुला सीमा जोडिएको छिमेकी देश भारतमा त यो चासो झनै बढी हुनु अझ प्राकृतिक देखिन्छ।

नेपालमा भएको यो अभूतपूर्व राजनीतिक रूपान्तरण कुनै सडक हिंसा, सैन्य विद्रोह, बाह्य हस्तक्षेप वा संवैधानिक रिक्तताको उपज होइन। यो त जनताले मतपेटिकामार्फत ल्याएको शान्तिपूर्ण र लोकतान्त्रिक क्रान्ति हो।

यतिबेला विश्वका धेरै देशहरू तीव्र ध्रुवीकरण, शासनप्रतिको अविश्वास र भ्रष्ट राजनीतिले थलिएर गैर-लोकतान्त्रिक विकल्पतर्फ आकर्षित भइरहेका छन्। तर नेपालले भने बहुलवादी समाजमा परिवर्तनका लागि लोकतन्त्र नै सबैभन्दा बलियो माध्यम हो भन्ने प्रमाणित गरिदिएको छ।

आजको नेपाल कुनै अन्योलपूर्ण भविष्यतर्फ होइन, बरु एउटा समृद्ध र जीवन्त लोकतन्त्रको स्पष्ट गन्तव्यतर्फ अघि बढ्दैछ। हाम्रा मूल सिद्धान्तहरू पनि निकै सीधा र सरल छन्- कडा सुशासन र विकासमार्फत जनताप्रतिको प्रत्यक्ष जबाफदेहिता।

नयाँ राजनीतिक यथार्थ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको राजनीतिमा एउटा नयाँ र अपरिहार्य यथार्थ बनेको छ। यो यस्तो युवा शक्ति हो, जसले वर्षौँदेखि जकडिएको पुरानो राजनीतिक प्रणालीलाई सधैँका लागि चुनौती दिएको छ। हामीले युवा पुस्तालाई परिणाममुखी राजनीतिमा जोड्दै देशका लागि एउटा नयाँ सपना र मार्गचित्र प्रस्तुत गरेका छौँ।

हामीलाई राम्ररी थाहा छ, रास्वपाले पाएको मत केवल पुरानो व्यवस्थाप्रतिको आक्रोश मात्र होइन, यो त परिवर्तनका लागि नेपाली जनताले दिएको अभूतपूर्व आशा र भरोसा हो। यही भरोसाका कारण निष्कलङ्क, क्षमतावान् र युवा प्रतिभाहरू आज नेतृत्वमा पुग्न सफल भएका हुन्।

हाम्रो परराष्ट्र नीतिलाई नयाँ ढङ्गले अघि बढाउन हामीसँग एउटा ठूलो शक्ति छ- त्यो हो, हामीमाथि विगतको कुनै पनि राजनीतिक भारी वा असमझदारीको बोझ छैन। पुराना शत्रुताले हामीलाई बाँधेका छैनन्।

हामी सार्वभौम सन्धिहरू र जनस्तरको आत्मीय सम्बन्धको जगमा उभिएका छौँ, विगतका शासकहरूले गरेका अपारदर्शी सम्झौता वा स्वार्थी लेनदेनमा हामी कतै अल्झिएका छैनौँ। हामी भारत र सिङ्गो विश्वलाई खुला मन, सफा दृष्टिकोण र एउटै पारदर्शी लक्ष्यका साथ हेर्छौं- त्यो हो, नेपालको आर्थिक रूपान्तरण।

नेपाल र भारत केवल दुईवटा फरक देश मात्र होइनन्, हामी एउटै साझा र प्राचीन सभ्यताका हिस्सेदार हौँ। रामको गाथा तब मात्र पूर्ण हुन्छ, जब जनकपुर र अयोध्या जोडिन्छन्। हाम्रो आस्था तब मात्र पूरा हुन्छ, जब पशुपतिनाथ र केदारनाथ एकाकार हुन्छन्। अनि हाम्रो साझा सभ्यताको मूल पहिचान तब मात्र साकार हुन्छ, जब लुम्बिनी र बोधगया एकापसमा जोडिन्छन्।

तर, हामीसँग केवल अतीतलाई सम्झेर मख्ख पर्ने छुट छैन, न त हामी आफ्ना कमजोरीलाई घिसेपिटेका शब्दहरू पछाडि लुकाउन नै चाहन्छौँ। हाम्रो सम्बन्धले हिजोका दिनमा के पायो भन्नेमा मात्र अल्झिनुभन्दा, हामी यो सम्बन्धले के हासिल गर्न सक्थ्यो र भोलिका दिनमा यो कस्तो बन्न सक्छ भन्ने कुरामा ध्यान दिँदै एउटा नयाँ सुरुवात गर्न चाहन्छौँ।

सिमाना मात्र होइन, अर्थतन्त्र जोड्ने पुल
सीमापारि नियाल्दा हामी एउटा नयाँ र गतिशील भारत देख्छौँ। विगतका प्रशासनिक झन्झटहरूबाट मुक्त हुँदै भारत आज विश्वकै सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्रमध्ये एक बन्न सफल भएको छ। भारतको यो उपलब्धिलाई हामी सम्मान गर्छौँ र यसैले हामी विकासका हरेक पाटाहरूमा उसको साझेदार बन्न चाहन्छौँ।

भारतले आज मेट्रो रेल विस्तारमा विश्वमै कीर्तिमान कायम गर्दै दैनिक करिब १५ किलोमिटर नयाँ ट्र्याक बिछ्याइरहेको छ। यस्तोमा प्रस्तावित रक्सौल-काठमाडौँ रेलमार्ग त केवल १५० किलोमिटरभन्दा छोटो छ।

जुन दिन यो ट्र्याक जोडिनेछ, त्यसले हाम्रो व्यापार, पर्यटन, ढुवानी र दुई देशबिचको कनेक्टिभिटीमा अभूतपूर्व क्रान्ति ल्याउनेछ। नेपाल केवल सिमाना जोडिएको हेर्न चाहँदैन, यो रेलमार्गले देशकै अर्थतन्त्रलाई गति दिओस् भन्ने हाम्रो चाहना हो।

हामी केवल नयाँ दिल्लीसँग मात्र संवाद गरिरहेका छैनौँ, हामी भारतका विभिन्न प्रान्तीय राज्यहरूमा भइरहेको द्रुत विकासलाई पनि उत्तिकै नजिकबाट हेरिरहेका छौँ।

भारतको उड्डयन क्षेत्रले लिएको उचाइबाट सिक्दै के हामी पोखरा र लुम्बिनीबाट सिधै दिल्ली, मुम्बई वा बेङ्गलोरजस्ता सहरहरूमा उडान सुरु गर्न सक्दैनौँ? आन्ध्र प्रदेश र तेलङ्गानाले आईटी (सूचना प्रविधि) क्षेत्रमा बनाएको सबल इकोसिस्टम बुझ्दै के हामी ‘काठमाडौँ-बेङ्गलोर डिजिटल कोरिडोर’को सपना देख्न सक्दैनौँ? गुजरातको औद्योगिकीकरणबाट प्रेरणा लिँदै के हामी सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना गर्न तत्कालै सहकार्य अघि बढाउन सक्दैनौँ?

हामी नेपालमा आईआईटी र एम्स जस्ता विश्वस्तरीय भारतीय प्रविधि र स्वास्थ्य संस्थाहरू भित्र्याउन चाहन्छौँ। आजको नेपालले भारतका ठूला आईटी कम्पनी, स्टार्टअप र विश्वविद्यालयहरूलाई ढुक्कसँग भन्न सक्छ- ‘नेपालमा प्रविधि हब, इनोभेसन ल्याब र इन्क्युबेसन सेन्टरहरू खोलेर हामीलाई नवप्रवर्तनको साझेदार बनाउनुहोस्।’

हामीसँग अत्यन्तै क्षमतावान् युवा पुस्ता, प्रचुर हरित ऊर्जा र बलियो बन्दै गएको डिजिटल इकोसिस्टम छ, जसलाई भारतको आधुनिक प्रविधिको साथ मिल्ने हो भने यसले निकै ठुलो रूप लिन सक्छ। हामी डिजिटल भुक्तानी, फिनटेक र सीमापार प्लेटफर्महरूमा सहकार्य बढाएर दुवै देशका साना उद्यमीहरूलाई बलियो बनाउन चाहन्छौँ।

भूराजनीतिबाट ‘विकास कूटनीति’ तर्फको प्रस्थान
राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल-भारत सम्बन्धको पुरानो कूटनीतिक भाषा बदल्न चाहन्छ। हामी यसलाई भूराजनीतिक दाउपेचबाट बाहिर निकालेर पूर्ण रूपमा ‘विकास कूटनीति’को जगमा उभ्याउन चाहन्छौँ।

हाम्रो मुख्य लक्ष्य भनेकै हाम्रा दूतावासहरूलाई व्यापार, लगानी र आर्थिक साझेदारीको संवाहक बनाउनु हो। हामी यस्तो सम्बन्धको पक्षमा छौँ, जसको नतिजा दुवै देशका आम नागरिकले आफ्नो दैनिक जीवनमा महसुस गर्न सकून्।

नेपालको अथाह जलविद्युत् सम्भावना अब हाम्रो आन्तरिक स्रोत मात्र रहेन, यो त उदीयमान भारतको औद्योगिक क्षेत्रलाई चलायमान बनाउने स्वच्छ र हरित ऊर्जा पनि हो। यसका लागि सानातिना सीमापार सम्झौताहरू भन्दा माथि उठेर एउटा बलियो र एकीकृत ऊर्जा बजार निर्माण गर्नु आवश्यक छ।

गोलभेँडाको मूल्य तोक्न वा मेसिनरी सामान आयात गर्न अब हाम्रा व्यवसायीहरूले प्रशासनिक ढिलासुस्ती भोग्नु हुँदैन। हामीलाई आधुनिक, प्रविधिमैत्री एकीकृत जाँच चौकी र उन्नत पारगमन कोरिडोरहरू चाहिन्छन्, जसले बलिया सीमानाहरूलाई झन्झटमुक्त पुलमा रूपान्तरण गरुन्।

हिमालका चुचुराहरूदेखि जनकपुर, लुम्बिनी र बोधगयाका पवित्र धार्मिक क्षेत्रसम्म हाम्रो पर्यटन व्यवसाय एकअर्कामा जोडिएको छ। हामीले यस्तो साझा पर्यटन सर्किट बनाउनुपर्छ, जहाँ विदेशी पर्यटकले कुनै प्रशासनिक झन्झट बिना दुवै देशको साझा सम्पदा सजिलै घुम्न सकून्।

हामीले भर्खरै अहमदाबादमा आईपीएलको फाइनल खेल मात्र हेरेका छैनौँ, नेपाली खेलाडी र रङ्गशालाहरूलाई कसरी आईपीएलको फ्रेन्चाइजमा जोड्न सकिन्छ भनेर समेत योजना बनाइरहेका छौँ।

आपसी विश्वासको जग
कृषि, स्वास्थ्य, साइबर सुरक्षा र विपद् व्यवस्थापन जस्ता अनगिन्ती क्षेत्रमा सहकार्य गर्ने प्रशस्त ठाउँ छन्। तर, यो सहकार्यको सबैभन्दा बलियो खम्बा भनेकै ‘आपसी विश्वास’ हो।

मुख्य मुद्दाहरूलाई पन्छाएर हामीबिच कहिल्यै पनि साँचो मित्रता हुन सक्दैन। हामी यस्ता छिमेकी हौँ, जसको सांस्कृतिक र सभ्यताको सम्बन्ध मानिसले बनाएको सीमानाभन्दा हजारौँ वर्ष पुरानो छ। त्यसैले, हालैका वर्षहरूमा सिर्जना भएका सीमा विवाद वा अन्य असमझदारीहरूलाई लम्ब्याइरहनु आवश्यक छैन।

ती सबै समस्याहरू ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा सजिलै सुल्झाउन सकिन्छ। हामी पुराना नेताहरूले गर्ने उग्र-राष्ट्रवादी भाषणबाजी र राजनीतिक दाउपेचको सट्टा प्रमाण, संवाद र व्यावहारिक दृष्टिकोणमा आधारित निकास चाहन्छौँ।

​​​​​​​​​​​​​​एक स्थिर र समृद्ध नेपाल भारतको उत्तरी सीमाका लागि भरपर्दो सुरक्षा कवच हो, जबकि नेपालमा हुने अस्थिरताले छिमेकी भारतलाई पनि चिन्तित बनाउँछ। त्यसैले नेपालको आर्थिक समृद्धि भारतका लागि पनि एउटा रणनीतिक आवश्यकता हो।

इतिहासले दिएको सुनौलो अवसर
इतिहासले कसैलाई पनि सधैँभरि अवसर दिँदैन, यसले केही समयका लागि मात्र अनुकूल ढोका खोल्छ। अहिले अर्थात् सन् २०२६ को यो समय नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दशकौँ यताकै सबैभन्दा अनुकूल अवसर हो।

विगत ३० वर्षको राजनीतिक अस्थिरता र नीतिगत अन्योलताको छवि बोकेको नेपाल अब इतिहास भइसकेको छ। आजको नेपालसँग सचेत युवा मतदाताहरूको बलियो जनादेश छ, जसले राजनीतिक भागबन्डा होइन, संस्थागत र पारदर्शी कार्यसम्पादनको भाषा बुझ्ने व्यावसायिक नेतृत्व चुनेको छ।

हामी नीतिगत निरन्तरता, पारदर्शिता र इमानदारीको प्रतिज्ञा गर्छौँ। नेपालका जनता तयार छन् र रास्वपाको नेतृत्व पनि पूर्ण रूपमा तयार छ। आउनुहोस्, विगतका आशङ्काहरूलाई त्यागेर साझा भविष्यका असीमित सम्भावनाहरूतर्फ हातेमालो गरौँ।

हाम्रो सम्बन्धलाई पुनर्गठन गर्ने सन्दर्भमा हामीसँग एउटा ऐतिहासिक क्षण छ- सन् २०१४ अगस्ट ३ को दिन। त्यस दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई मात्र सम्बोधन गर्नुभएन, उहाँ नेपाली जनतासँग सिधै संवाद गर्न काठमाडौँका सडकमा ओर्लिनुभएको थियो।

उहाँले हाम्रो सम्बन्धलाई सरकारी कागजातहरू भन्दा माथि हिमालय र गङ्गा जत्तिकै प्राचीन र पवित्र रहेको बताउनुभएको थियो। सीमानाहरू अवरोध होइन, हाम्रा दुई देशलाई जोड्ने पुल बन्नुपर्छ भन्ने सुन्दर धारणा राख्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो।

त्यसयता बागमती र गङ्गा नदीमा धेरै पानी बगिसकेको छ। नदीहरूले पहाडसँग बाटो माग्दैनन्, तिनीहरू आफैँ बग्छन् र आफ्नो बाटो बनाउँछन्- हामीले पनि त्यसै गर्नु छ। हामीसँग त्यो अगस्टको आत्मीयता र विश्वासमा फर्कनुको विकल्प छैन।

र हामी अवश्य फर्कनेछौँ- पूर्ण इमानदारीका साथ। नयाँ सम्भावनाहरूलाई आत्मसात गर्न र पुराना मतभेदहरूलाई सदाका लागि मेटाउन प्रतिज्ञा गरिएको त्यो मित्रताको पुलमा पहिलो इँटा थप्न हामी पूर्ण रूपमा तयार छौँ।

(भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले हिन्दुस्तान टाइम्समा छापिएको लेखको नेपाली अनुवाद)

जेठ १९, २०८३ मंगलबार १२:११:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।