‘नबोल्नु शक्ति होइन, पारदर्शी शासनबाट भाग्नु हो’
लोकतान्त्रिक राजनीतिमा भाषणलाई नेतृत्वको सबैभन्दा ठूलो सम्पति मानिन्छ। हाम्रा अघि लगातार बोलिरहने, ठूल्ठूला आश्वासन दिने र सञ्चारमाध्यममा सधैँ छाइरहने नेताहरूको भीड छ। तर, यसपालि नेपाली राजनीतिमा एउटा भिन्न दृश्य देखियो।
काठमाडौं महानगरपालिका को मेयर हुँदै राष्ट्रिय राजनीतिमा होमिएका, पछि झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले हराउँदै नेपालको प्रधानमन्त्रीका बनेका वालेन्द्र शाह (बालेन) ले एउटा नितान्त फरक रणनीति अपनाए- सार्वजनिक रूपमा नबोल्ने।
निर्वाचनका क्रममा देश दौडाहामा निस्किँदा वा चुनावी मैदानमा रहँदा समेत बालेनको यो मौनता, सञ्चारमाध्यमसँगको दूरी र चुनावी एजेन्डा वा मार्गचित्र सार्वजनिक गर्ने फरक प्रवृत्तिले धेरैलाई अचम्ममा पार्यो। के यो मौनता उनको राजनीतिक चलाखी हो वा लोकतान्त्रिक जवाफदेहिताको अभाव?
यसलाई बुझ्न राजनीतिशास्त्री फ्रेड ग्रीनस्टाइनले २००१ मा प्रतिपादन गरेको नेतृत्व सम्बन्धी सिद्धान्त निकै सान्दर्भिक देखिन्छ। ग्रीनस्टाइनले कुनै पनि राजनीतिक नेताको प्रभावकारिता मापन गर्न ६ वटा मुख्य आधारहरू प्रस्तुत गरेका छन्- सार्वजनिक सञ्चारको कुशलता, संगठनात्मक क्षमता, राजनीतिक कौशल, नीतिगत दूरदृष्टि, सोच्ने र बुझ्ने तरिका, र संवेगात्मक बुद्धिमत्ता। यिनै प्राज्ञिक कसीहरूमा राखेर हेर्दा बालेनको मौनताका सबल र दुर्बल दुवै पक्ष छर्लङ्ग हुन्छन्।
ग्रीनस्टाइनको पहिलो मापदण्ड सार्वजनिक सञ्चारको कुशलतासँग जोडिएको छ। इतिहासमा सार्वजनिक सञ्चार र मिडिया सम्बन्धलाई बेवास्ता गर्ने नेताहरूले ठूलो मूल्य चुकाउनुपरेको उदाहरणहरू छन्।
बेलायती प्रधानमन्त्री क्लेमेन्ट एट्ली स्वभावैले निकै कम बोल्ने र प्रेससँग टाढै रहन मन पराउने नेता थिए। उनले सञ्चारमाध्यमसँग उचित सम्बन्ध नराख्दा उनको सरकारका कतिपय राम्रा कामहरू पनि जनतामाझ पुग्न सकेनन्। त्यसैगरी, एडवर्ड हिथको रूखो र प्राविधिक सञ्चार शैलीले गर्दा उनी जनतासँग भावनात्मक रूपमा जोडिन सकेनन् र उनको नेतृत्व कमजोर साबित भयो।
यस हिसावले बालेन पनि यही सञ्चारविहीनताको पासोमा परेको जस्तो देखिन्छ। उनी पत्रकार सम्मेलन गर्दैनन्, मिडियाका प्रश्नहरूको सामना त गर्दैनन् नै, सार्वभौम संसद्का सांसदहरूको प्रश्नसमेत सुन्दैनन्। तर, बालेनले परम्परागत सञ्चारको सिद्धान्तलाई पूर्ण रूपमा उल्ट्याइदिएका छन्।
नेपालको राजनीतिक परिवेशमा नेताहरू दिनरात टेलिभिजन र सामाजिक सञ्चालमा एकअर्कामाथि हिलो छ्यापाछ्याप गरिरहेका हुन्छन्, त्यहाँ बालेनको मौनता तर काममा अर्जुनदृष्टि आफैँमा एउटा शक्तिशाली ‘सञ्चार’ बनेको छ। जनता पुराना नेताहरूको खोक्रो भाषणबाट थकित भइसकेका छन्।
यस्तो अवस्थामा बालेनले कम बोलेर आफ्ना शब्दहरूको मूल्य बढाएका छन्। परम्परागत मिडियाको घेरा तोडेर सामाजिक सञ्जालमा छोटा पोस्टमार्फत जनतासँग सिधै जोडिएको जस्तो देखिन्छ। यसरी नबोलेरै चर्चाको शिखरमा रहनु र जनतामा कौतुहलता जगाइराख्नु उनको आधुनिक मिडिया व्यवस्थापनको एउटा उत्कृष्ट कला हुनसक्छ।
ग्रीनस्टाइनका अनुसार ‘राजनीतिक कौशल’ भनेको शक्ति सन्तुलन मिलाउने, सही समयको पहिचान गर्ने र विपक्षीहरूलाई पाखा लगाउने क्षमता हो। नेपालको राजनीतिमा भाषणहरू प्रायः विपक्षीलाई गाली गर्न, पार्टीभित्रको आन्तरिक कलह बाहिर ल्याउन वा गुटबन्दी बलियो बनाउन प्रयोग गरिन्छ। बालेनप्रतिको आकर्षण विगतका राजनीतिक नेतृत्वप्रतिको चरम वितृष्णा र आक्रोशको उपज हो।
यो अवस्थामा बालेनले उच्च ‘संवेगात्मक बुद्धिमत्ता’ र रणनीतिक अनुशासन प्रदर्शन गरेका छन्। जब कुनै नेता धेरै बोल्छ, उसले गल्ती गर्ने सम्भावना बढी हुन्छ र विपक्षीहरूले उसकै शब्दलाई हतियार बनाएर प्रहार गर्ने मौका पाउँछन्। उदाहरणका लागि, पुराना पार्टीका कतिपय वरिष्ठ नेताहरू निरन्तर सञ्चारमाध्यममा छाइरहँदा र बचाउ गरिरहँदा विभिन्न विवादमा तानिएका छन्।
यसको विपरीत, बालेनले विपक्षीहरूलाई आफूविरुद्ध बोल्ने कुनै मौका नै दिएका छैनन्। उनले आफ्ना राजनीतिक रणनीति र निर्देशनहरू गोप्य राखेका कारण विपक्षीहरूले उनीविरुद्ध कुनै बलियो भाष्य निर्माण गर्न सकेका छैनन्। उनी असन्तुष्ट जनताका लागि एउटा यस्तो सादा पाना बनेका छन्, जसमा हरेक नागरिकले आफ्नो इच्छा अनुसारको समृद्धिको चित्र कोरिरहेका छन्।
तथापि, केवल रणनीतिक मौनताकै भरमा कुनै पनि नेतृत्व लामो समयसम्म टिक्न सक्दैन। यही मुद्दामा ग्रीनस्टाइनको ‘नीतिगत दूरदृष्टि’ र ‘संज्ञानात्मक शैली’को मापदण्ड लागू हुन्छ। इतिहास साक्षी छ- अल्पकालीन राजनीतिक दाउपेचमा खप्पिस तर दीर्घकालीन दूरदृष्टि र स्पष्ट विचार सञ्चार गर्न नसक्ने नेताहरू अन्ततः असफल हुन्छन्।
बेलायती प्रधानमन्त्री ह्यारोल्ड विल्सन आफ्नो समयका अत्यन्तै चतुर र उत्कृष्ट टेलिभिजन सञ्चारकर्ता थिए। उनी पार्टीभित्रको सन्तुलन मिलाउन र राजनीतिक संकट टार्न माहिर थिए। तर, इतिहासकारहरूका अनुसार उनको त्यो उत्कृष्ट कौशल केवल तत्कालीन संकट व्यवस्थापनमा मात्र सीमित रह्यो।
विल्सनसँग देशलाई रूपान्तरण गर्ने कुनै ठोस र दीर्घकालीन नीतिगत मार्गचित्र थिएन, जसका कारण उनको कार्यकालले देशमा ठूलो आर्थिक र संरचनात्मक सुधार ल्याउन सकेन। सायद यो उदाहरण बाबुराम भट्टराई, पुष्पकमल दाहाल, विपी कोइराला, र मदन भण्डारीमा पनि मेल खान्छ।
बालेन शाह अहिले ठ्याक्कै यही जोखिमको मोडमा उभिएका छन्। काठमाडौं महानगरको नेतृत्व गर्दा उनको दृष्टिकोण र कामहरू प्रत्यक्ष रूपमा देखिन्थे। जस्तै- अवैध संरचना भत्काउने, फोहोर व्यवस्थापन गर्ने र फुटपाथ खाली गराउने।
तर, देशको केन्द्रीय राजनीति र प्रधानमन्त्री पदको जिम्मेवारी नितान्त फरक र व्यापक हुन्छ। एक प्रधानमन्त्रीले देशको समष्टिगत अर्थतन्त्र, वैदेशिक नीति, संघीयताको कार्यान्वयन र राष्ट्रिय कानुन निर्माण जस्ता जटिल विषयहरू सम्हाल्नुपर्छ।
राष्ट्रिय मुद्दाहरूमा मौन बसेर बालेनले राजनीतिक रूपमा त फाइदा उठाउलान्, तर यसले देशको भविष्यलाई लिएर एउटा अन्योल र संशयको वातावरण सिर्जना गर्न सक्छ। परम्परागत दलहरूविरुद्धको आक्रोशलाई मतमा बदल्न मौनता उपयोगी होला, तर देश चलाउनका लागि एउटा स्पष्ट, पारदर्शी र लिखित मार्गचित्रको आवश्यकता पर्दछ।
आफ्नो रणनीति गोप्य राख्नु, परम्परागत दलहरूको प्रहारबाट बच्नु र आफ्नो राजनीतिक ओज कायम राख्नु बालेनको एक बलियो हतियार थियो। यसले उनलाई पुराना नेताहरूको खोक्रो र दिक्क लाग्दो भाषणबाजीको भीडभन्दा फरक र विशिष्ट देखाएको छ। त्यसोभए, के नेपालका उदयमान नेता बालेन शाहले भाषण दिनुपर्छ वा पर्दैन त?
यसको जवाफ समयको गति र उनको राजनीतिक यात्राको चरणमा निर्भर गर्दछ। चुनावअघिको प्रचार र रणनीतिक तयारीका लागि उनको यो मौनता सही थियो होला, तर राज्य सञ्चालन र लोकतान्त्रिक जवाफदेहिताका लागि उनले कम भएपनि बोल्नैपर्छ।
लोकतन्त्रको सुन्दरता नै नागरिकप्रतिको जवाफदेहितामा हुन्छ। देशको सर्वोच्च कार्यकारी पद अर्थात् प्रधानमन्त्री बन्ने आकांक्षा राख्ने नेताले आफ्ना विचार, सिद्धान्त र योजनाहरू जनतामाझ स्पष्ट रूपमा राख्नुपर्छ।
प्रधानमन्त्री बालेनले रणनीतिक मौनताको सहज चौघेराबाट बाहिर निस्केर, साहसिक रूपमा देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको विस्तृत खाका नेपाली जनतासामु प्रस्तुत गर्नुपर्दछ। किनकि, एउटा कुशल जननायकले सधैँ मौन बसेर होइन, सही समयमा सही र ओजपूर्ण विचार व्यक्त गरेर नै राष्ट्रलाई सही दिशा दिनसक्छ।
(डा.दुवाडी काठमाडौं विश्वविद्यालय, स्कुल अफ म्यानेज्मेन्ट अन्तर्गत ह्युमन रिसोर्स एण्ड जेनेरल म्यानेजमेन्टका एसोसियट प्रोफेसर हुन्।)
साउन ७, २०८३ बिहीबार १४:०६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।