सुनसरी झडपबारे रास्वपा सांसद : प्रहरीले ताकी-ताकी छाती र पेटमा गोली हान्यो, मान्छे मारेर खाल्डोमा हालेको शंका छ
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीचको झडपका क्रममा प्रहरीले गोली चलाएको घटनालाई लिएर स्थानीय सांसद लालविक्रम थापाले सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद थापाले प्रहरीले प्रदर्शनकारीको छाती र पेटमा ताकी-ताकी गोली हानेको दाबी गरेका छन्।
आइतबार राति झडपपछि घटनास्थल कप्तानगञ्जको नयाँ हटिया पुगेका सांसद थापाले सुरक्षा अधिकारीहरूसामु घटनाबारे आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। उनले आफ्नो फेसबुक पेजमा राखेको भिडिओमा प्रहरीको गोली प्रहार ‘निर्मम’ रहेको र गोली चलाउनुपर्ने अवस्था नै नरहेको दाबी गरेका छन्।
‘मान्छे मारेर खाल्डोमा हालेको शङ्का छ’
सांसद थापाले प्रहरीको कारबाहीप्रति आशङ्का व्यक्त गर्दै बेपत्ता भएका कोही घाइते वा मृतकलाई लुकाइएको हुनसक्ने आशङ्कासमेत व्यक्त गरेका छन्।
“त्यो हिसाबले हेर्दा १० जनालाई ताकेर कसैको छातीमा त कसैको पेटमा गोली हानिएको छ। एक जनाको त ज्यानै गइसक्यो, दुई-तीन जनाको अवस्था गम्भीर छ,” भिडिओमा थापाले भनेका छन्, “गोली हानेर कसैलाई कतै खाल्डोतिर त हालिएको छैन भन्ने मलाई शङ्का लागिरहेको छ। कहीँ कतै कोही छटपटाइरहेको वा लास लडिरहेको भेटियो भने त्यसको जिम्मा कसले लिन्छ? त्यसैले खोजी गरौँ, कोही घाइते छ भने अझै उपचार गर्न सकिन्छ।”
‘गोली चलाउनुपर्ने अवस्था नै थिएन’
घटना हुनुअघिसम्म आफू त्यही क्षेत्रमा रहेको र वडा-वडामा पुगेर बुझ्दा त्यस्तो तनावपूर्ण अवस्थाको कुनै सङ्केत नपाएको उनले बताएका छन्। उनले प्रहरीसँग छुट्टै कुरा गरेर अवस्थाबारे सोधपुछ गर्दा पनि प्रहरीले कुनै समस्या नरहेको बताएको दाबी गरेका छन्।
“कुनै पनि हालतमा गोली चलाउनुपर्ने कन्डिसन छँदै थिएन। परिस्थिति बिग्रन लाग्यो भने समन्वयकारी भूमिका खेल्नुपर्ने हो। हातमा बन्दुक छ भन्दैमा नागरिकलाई बङ्बङ हान्न पाइँदैन,” उनले भनेका छन्, “मेरो नागरिक र युवाहरूमाथि डङ्डङ छातीमा गोली चलाइएको छ। यसमा अलिकति पनि माया-दया राखिएको छैन।”
प्रशासनिक नेतृत्वको बेवास्ता
सांसद थापाले घटनाका बेला सिडिओ र एसपीको भूमिकासमेत गैरजिम्मेवार रहेको आरोप लगाएका छन्।
“मैले सिडिओ साबलाई सोध्दा उहाँले मलाई जानकारी छैन भन्नुभयो। एसपी साबलाई फोन गर्दा उहाँले फोन उठाउनुभएन, अरू कसैले उठाइरहेको थियो,” थापाले आक्रोश पोख्दै भने, “नयाँ सरकार भर्खरै बनेको छ, यस्तो बेलामा युवाहरूमाथि गोली चलाउँदा यसले देशव्यापी रूपमा कस्तो असर पार्छ भन्ने सबैले मनन गर्नुपर्छ।”
कप्तानगञ्जमा साउने सोमबारको ‘बोलबम’ यात्राको डिजे बजाउने विषयमा दुई समूहबीच विवाद भई झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने प्रहरी निरीक्षकसहित ८ जना प्रहरी अनि केही सर्वसाधारण घाइते भएका छन्।
अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले सुनसरीको दक्षिण क्षेत्रका पाँचवटा बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
साउन ११, २०८३ सोमबार ११:३७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।