साना तथा महिला उद्यमीका लागि लक्ष्मी सनराइज बैंक र बेलायतको बीआईआईबीच २ करोड ५० लाख डलरको कर्जा सम्झौता
काठमाडौं : नेपालका लघु, साना तथा मझौला उद्यम र विशेषगरी महिला उद्यमीहरूको वित्तीय पहुँच विस्तारका लागि बेलायतको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलरको कर्जा सम्झौता भएको छ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा साना तथा मझौला उद्यम क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको र यसले झण्डै २० लाख मानिसलाई रोजगारी प्रदान गरेको अवस्थामा यो लगानीले निजी क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सीमित पहुँच र प्रक्रियागत असमानताका कारण हाल १६ प्रतिशत साना तथा मझौला उद्यमले मात्र औपचारिक वित्तीय सुविधा पाएका छन्।
लगानीमार्फत लक्ष्मी सनराइज बैंकले साना तथा मझौला उद्यम क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ, जसअन्तर्गत कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिनेछ। यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पुँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुऱ्याउने विश्वास गरिएको छ।
लक्ष्मी सनराइज बैंकले महिलाको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वव्यापी पहल 'टू-एक्स च्यालेन्ज'अन्तर्गत मान्यता प्राप्त गरेको छ। बैंकको सुशासन, नेतृत्व, रोजगारी र कर्जा व्यवस्थापनमा लैङ्गिक समावेशिताका क्षेत्रमा देखाएको प्रगतिलाई आधार मानी यो मान्यता प्रदान गरिएको हो। साथै, बेलायती संस्थाको प्राविधिक सहयोग कार्यक्रम 'इन्भेस्ट फर इम्प्याक्ट नेपाल' ले महिला स्वामित्व तथा नेतृत्व भएका व्यवसायलाई सेवा विस्तार गर्न बैंकलाई थप सक्षम बनाउन सहयोग गरेको छ।
यससँगै लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
साझेदारीको स्वागत गर्दै बेलायतकी हिन्द–प्रशान्त मामिला तथा समानता मन्त्री सीमा मल्होत्राले यो सम्झौता आर्थिक अवसर विस्तार गर्न र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न कोसेढुङ्गा साबित हुने बताइन्।
त्यस्तै, ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका एसिया क्षेत्र प्रमुख श्रीनी नागराजनले नेपाल आफ्नो सिमान्त बजार रणनीतिको महत्त्वपूर्ण हिस्सा भएको र वित्तीय पहुँचबाट वञ्चित व्यवसायलाई सघाउन यो लगानी गरिएको उल्लेख गरे।
लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराईले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टसँगको यो सहकार्य समावेशी र दिगो बैंकिङतर्फको यात्रामा महत्त्वपूर्ण उपलब्धि भएको बताए। साना तथा मझौला उद्यमहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भए पनि विशेषगरी महिला नेतृत्वका व्यवसाय अझै औपचारिक वित्तीय पहुँचबाट टाढा रहेको र यो २ करोड ५० लाख अमेरिकी डलरको सुविधा मार्फत त्यो खाडल कम गर्न बैंक सक्षम हुने उनले उल्लेख गरे।
जेठ १४, २०८३ बिहीबार १३:१५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।