पर्यटन, व्यापार र पूर्वाधारको त्रिवेणी : देशकै आर्थिक ‘पावरहाउस’ बन्ने दौडमा रूपन्देही

पर्यटन, व्यापार र पूर्वाधारको त्रिवेणी : देशकै आर्थिक ‘पावरहाउस’ बन्ने दौडमा रूपन्देही
एआईको सहयोगमा बनाइएको तस्बिर

बुटवल : सीमावर्ती व्यापार, अन्तर्राष्ट्रिय विमानस्थल, बहुप्रतीक्षित औद्योगिक क्षेत्र, उर्वर कृषि र विश्वकै आस्थाको केन्द्र बुद्ध जन्मस्थल- यी सबै पूर्वाधार र सम्भावनालाई एउटै आर्थिक शृंखलामा उन्ने हो भने रूपन्देही मुलुककै सर्वाधिक शक्तिशाली आर्थिक केन्द्र बन्ने आधार देखिएको छ।

त्यसमाथि, बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण र एकीकृत विकासका लागि साढे १२ अर्ब रुपैयाँभन्दा बढीको ‘बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना’ अघि बढेपछि यस क्षेत्रको पर्यटन र समग्र अर्थतन्त्रले ऐतिहासिक फड्को मार्ने अपेक्षा गरिएको छ।

विश्व बैंकको ८ करोड ५० लाख अमेरिकी डलर (करिब साढे १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै यो महत्वाकांक्षी आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस परियोजनाले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बुद्धकालीन स्थलहरूलाई एकीकृत पर्यटन सञ्जालमा जोड्नेछ।

परियोजनाअन्तर्गत लुम्बिनीको पवित्र उद्यान तथा संग्रहालय, कपिलवस्तुको तिलौराकोट, रूपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा पर्यटन पूर्वाधार सुधार, सम्पदा संरक्षण र आगन्तुक सुविधाहरू विस्तार गरिनेछ।

निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको भवन।

यसबाहेक आधुनिक सडक, सरसफाइ, ढल, ध्यान केन्द्र, सूचना केन्द्र र स्थानीय उत्पादन बिक्री कक्षहरू निर्माण गरिनेछ। यसको मुख्य ध्येय पर्यटकको बसाइ अवधि लम्ब्याउने, निजी लगानी भित्र्याउने र स्थानीयस्तरमै हजारौँ रोजगारी सिर्जना गर्नु हो।

तर, पूर्वाधार मात्रै बनेर लाभ स्वतः नआउने अध्येता देवेन्द्रराज शाक्यको विश्लेषण छ।

“लुम्बिनी आउने पर्यटकलाई होटल, यातायात, स्थानीय उत्पादन र अन्य सेवा व्यवसायसँग नजोडेसम्म लाभ लिन सकिँदैन,” शाक्य भन्छन्, “लुम्बिनी ओर्लिएका पर्यटकलाई देवदह, बुटवल तथा आसपासका प्राकृतिक र ऐतिहासिक गन्तव्यसम्म पुर्याउन सके मात्र पर्यटनको आम्दानी तल्लो तहका समुदायसम्म पुग्छ।”

मोतीपुरको गाँठो फुकाउनै पर्ने
रूपन्देहीको अर्थतन्त्रको मेरुदण्ड भारतसँगको पारवहन र व्यापार हो। मुलुककै दोस्रो ठूलो बेलहिया नाकाबाट इन्धन, औद्योगिक कच्चा पदार्थ, मेसिनरी, सवारीसाधन तथा उपभोग्य वस्तु भित्रिन्छन् भने यही बाटो हुँदै नेपाली उत्पादन भारतीय बजारसम्म पुग्छन्।

सीमा व्यापारसँगै भन्सार, ढुवानी, गोदाम र आतिथ्य व्यवसायले यस क्षेत्रलाई चौबीसै घण्टा चलायमान बनाएका छन्।

बुटवल-भैरहवा औद्योगिक करिडोरमा सञ्चालित साना, मझौला र ठूला उद्योगले उत्पादन र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान दिएका छन्। तर, यतिमै सन्तोष मान्ने अवस्था छैन।

आर्थिक क्षेत्रका जानकार मनिकर कार्की रूपन्देहीको औद्योगिक भविष्य मोतीपुर औद्योगिक क्षेत्रसँग जोडिएको बताउँछन्।

“मोतीपुर औद्योगिक क्षेत्रको विकासले रूपन्देहीमा नयाँ लगानीको ढोका खोल्ने क्षमता राख्छ,” कार्की भन्छन्, “जग्गासम्बन्धी विवाद तत्काल समाधान गरी आधारभूत पूर्वाधारसहित आयोजना अघि बढाउन सरकारले ढिलाइ गर्नु हुँदैन।”

रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली पनि उद्योग स्थापनाका लागि जग्गासँगै विद्युत्, सडक र पानीको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताउँछन्।

“औद्योगिक विकासलाई दिगो बनाउन साना तथा मझौला उद्योगको संरक्षण पहिलो सर्त हो,” पराजुली भन्छन्, “स्थानीय कृषिमा आधारित खाद्य प्रशोधन, दुग्धजन्य उत्पादन, हस्तकला र घरेलु उद्योगलाई ठूला बजारसँग जोड्न सके गाउँ-गाउँमै रोजगारी सिर्जना हुन्छ।”

विमानस्थलको व्यावसायिक उपयोग
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीको भाग्य बदल्न सक्ने सबैभन्दा ठूलो भौतिक पूर्वाधार हो। तर, निर्माण सम्पन्न भएको लामो समयसम्म पनि यसको पूर्ण व्यावसायिक उपयोग हुन नसक्नु चिन्ताको विषय बनेको छ।

विशेषगरी लुम्बिनी भ्रमणमा आउने बौद्ध धर्मावलम्बी र विदेशी पर्यटकलाई लक्षित गरी नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सके पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने पर्यटन व्यवसायी माधव नेपाल बताउँछन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।

“विमानस्थललाई अन्तर्राष्ट्रिय ‘कन्भेन्सन सेन्टर’, धार्मिक पर्यटन र व्यापारिक प्रदर्शनीहरूसँग जोड्नुपर्छ,” नेपाल भन्छन्, “विमानस्थलबाट ओर्लिने पर्यटकलाई तत्काल बुद्ध परिपथ (लुम्बिनी, देवदह, तिलौराकोट) सँग जोड्ने प्रभावकारी यातायात सञ्जाल बने यसको लाभ भैरहवामा मात्र सीमित हुँदैन, सम्पूर्ण क्षेत्रका होटल, रेस्टुरेन्ट र स्थानीय उत्पादनले पाउँछन्।”

उद्योग संघका अध्यक्ष पराजुली पनि विमानस्थललाई नियमित र व्यावसायिक रूपमा सञ्चालन गर्न नीतिगत सहजीकरणको खाँचो औँल्याउँछन्। विमानस्थल पूर्ण क्षमतामा चल्नासाथ यस क्षेत्रमा खर्बौंको निजी लगानी थप आकर्षित हुने उनको दाबी छ।

बजार र ढुवानीको लाइफलाइन
पूर्वाधारको विकासबिना आर्थिक गतिशीलता सम्भव छैन। अहिले निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–गोरुसिङ्गे सडक विस्तार तथा सिद्धबाबा सुरुङमार्गले यस क्षेत्रको ढुवानी र यात्राको परिभाषा बदल्ने अपेक्षा गरिएको छ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर पौडेल सडक पूर्वाधारलाई समग्र अर्थतन्त्रको ‘लाइफलाइन’ मान्छन्।

बुटवलको सडक खण्ड।

“सडक पूर्वाधार चुस्त हुँदा ढुवानीको समय र लागत भारी मात्रामा घट्छ। कच्चा पदार्थ उद्योगसम्म र उत्पादित वस्तु तथा कृषि उपज बजारसम्म छिटो पुग्छन्,” पौडेल भन्छन्, “सडक सहज हुनासाथ त्यसको पहिलो सकारात्मक प्रभाव पर्यटन र व्यापारमा देखिन्छ।”

कृषिको औद्योगिकीकरण
रूपन्देहीको उर्वर माटोमा फल्ने धान, गहुँ, दलहन, तेलहन र तरकारी स्थानीय अर्थतन्त्रका बलिया खम्बा हुन्।

तर, परम्परागत कृषिलाई आधुनिक बजार, शीतभण्डार र प्रशोधन उद्योगसँग जोड्न नसक्दा किसानले अपेक्षित लाभ पाउन सकेका छैनन्। बुटवलको सेमलारमा निर्माणाधीन कृषि उपज संकलन केन्द्रले बजार व्यवस्थापनमा केही राहत दिने आशा जगाएको छ।

बुटवल शहरको ड्रोन भ्यू।

किसान महासंघका अगुवा महेन्द्र गिरी नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्न उत्पादन लागत घटाउने र बजारको ग्यारेन्टी राज्यले लिनुपर्ने बताउँछन्।

“सिँचाइ, गुणस्तरीय बीउबिजन, प्रविधि र मूल्यको सुनिश्चितता नभएसम्म कृषि पेसा सम्मानित र व्यावसायिक बन्न सक्दैन,” गिरी भन्छन्, “किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण सरकारले तत्काल बनाउनुपर्छ।”

कात्तिक ५, २०८३ बिहीबार २१:०७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।