फापरखेतको पहिरो पन्छाइएपछि एक हप्तापछि सञ्चालनमा आयो बेनी–दरवाङ सडक

फापरखेतको पहिरो पन्छाइएपछि एक हप्तापछि सञ्चालनमा आयो बेनी–दरवाङ सडक

म्याग्दी : सुख्खा पहिरोका कारण एक हप्तादेखि बन्द रहेको म्याग्दीको बेनी–दरवाङ सडक खण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असोज ३१ गतेदेखि लगातार खसेको सुख्खा पहिरोका कारण सो सडक ठप्प भएको थियो। पूर्वाधार विकास कार्यालय म्याग्दीले मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो।

पहिरो पन्छाउने जिम्मा पाएको मङ्गला कन्स्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेका अनुसार दशैंको समयमा पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन केही समय लागेको हो। यात्रुहरूको आउजाउलाई ध्यानमा राख्दै तत्कालका लागि बाटो खुलाइए पनि दिगो र जोखिमरहित बनाउन दशैंको चहलपहल सकिएपछि थप काम गरिने उनले बताए।

“दशैंको समयमा आवत–जावत गर्ने यात्रुको चापलाई दृष्टिगत गरी तत्काललाई सडक खुलाए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ”, उनले भने, “दशैंको चहलपहल सकिएपछि पहिलोसँग सम्बन्धित बाँकी काम गरी भरपर्दाे एवं जोखिमरहित  सडक निर्माण गर्ने योजना छ।”

कूल २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकखण्डलाई म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ।

लगातारको पहिरोका कारण सडक बन्द हुँदा दशैं मनाउन घर जाने र फर्कने यात्रुहरूलाई ठूलो सास्ती भइरहेका बेला सडक खुलेपछि आवतजावत सहज बनेको छ।

कात्तिक ६, २०८३ शुक्रबार १६:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।