असोजमा नेपालले बेच्यो ६ अर्बको विद्युत, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ।
बाढीका कारण केही जलविद्युत आयोजनामा क्षति हुँदा निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको हो।
असोज महिनामा भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट गरिएको थियो। द्विपक्षीय विद्युत बिक्री सम्झौता अनुसार भारतको हरियाणा तथा बिहार राज्यमा विद्युत बिक्री गरिएको थियो भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो। प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत प्रत्येक वर्ष भारत एवम् बंगलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ।
गत वर्ष २०८२ को असोज महिनामा भारततर्फ विद्युत निर्यातबाट चार अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम पाँँच अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ।
चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार असोजमा निर्यात गरिएको कुल विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौता (हरियाणा र बिहार) मार्फत र बाँकी भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत बिक्री गरिएको हो।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात पुनः सुरु
गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले त्रिशूली र चिलिमे जलविद्युत आयोजनामा क्षति पुर्याएपछि रोकिएको बंगलादेशतर्फको विद्युत निर्यात कात्तिक ६ गतेदेखि पुनः सञ्चालनमा आएको छ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताए।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो।
नेपाल र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको ५ वर्षे सम्झौताअनुसार हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात हुँदै आएको छ ।
यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यात अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको छ। यसले वर्षायाममा बढी हुने विद्युतको क्षेत्रीय बजारीकरणमा ठूलो सहयोग पुर्याउने प्राधिकरणले जनाएको छ।
कात्तिक ८, २०८३ आइतबार १०:३५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।