मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो, व्यवसायी उत्साही
मुस्ताङ : प्राकृतिक विपद् र सडक अवरोधका कारण केही समय सुनसान बनेको हिमाली जिल्ला मुस्ताङमा दशैंलगत्तै पर्यटकीय चहलपहल बढेको छ। बाढी-पहिरोले बेनी-जोमसोम सडकमार्ग प्रभावित हुँदा घटेको पर्यटकको आगमन दशैंको टीकापछि भने बढ्न थालेको हो।
यस वर्ष बाढीपहिरोका कारण पर्यटन प्रभावित हुँदा साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ जना पर्यटक मुस्ताङ भित्रिएका थिए।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन सङ्ख्या घटेको थियो।
यसवर्ष घटस्थापनादेखि विजया दशमीको दिनसम्म बेनी-जोमसोम सडकमार्गबाट पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए। जसमध्ये पुरुष तीन हजार ७३८ र महिला एक हजार ९२५ जना रहेका थिए। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनको अवधिमा उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिदा चार हजार ४०९ अर्थात् (७७ दशमलव ८५) प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।
प्रहरी निरीक्षक महतका अनुसार दशैंपछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। दशैं टिकापछिको पहिलो दिन बिहीबार तीन हजार ३३ जना र दोस्रो दिन शुक्रबार चार हजार ८१३ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।
दसैँ-तिहार तथा छठ पर्वको लामो बिदाका कारण निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र विदेशबाट फर्किएका नेपालीहरूका कारण आगमन अझै बढ्ने अनुमान गरिएको छ। प्रसिद्ध मुक्तिनाथ मन्दिर, कोरला नाका, लोमान्थाङ दरबार, ढुम्बा ताल, झोङ र चोङ्सी गुफालगायतका पर्यटकीय स्थलहरूमा पर्यटकको उपस्थिति बढेसँगै यहाँका पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन्।
कात्तिक ७, २०८३ शनिबार १५:३०:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।