एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनतर्फ ‘आईएसओ’ प्रमाणपत्र
काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले गुणस्तर र वातावरण व्यवस्थापनसम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ।
कम्पनीले गुणस्तर व्यवस्थापन प्रणालीका लागि ‘आईएसओ ९००१’ र वातावरणीय व्यवस्थापन प्रणालीका लागि ‘आईएसओ १४००१’ को मान्यता पाएको हो।
आईएसओ ९००१ ले ग्राहकको आवश्यकता र नियामक निकायको मापदण्डअनुसार गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दछ भने आईएसओ १४००१ ले वातावरणीय उत्तरदायित्व, फोहोरमैला व्यवस्थापन र सान्दर्भिक नियमहरूको पालनालाई निर्देशित गर्दछ।
यसअघि एनसेलले डाटा सुरक्षा र गोपनीयताका लागि ‘आईएसओ २७००१’ र ‘आईएसओ २७७०१’ प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ, जसलाई यो वर्ष पनि नवीकरण गरिएको कम्पनीले जनाएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यी प्रमाणपत्रहरूले कम्पनीको व्यावसायिक विश्वसनीयता, उत्कृष्ट सेवा प्रवाह र वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धतालाई पुष्टि गर्ने बताए।
यी अन्तर्राष्ट्रिय प्रमाणीकरणहरूबाट ग्राहकले भरपर्दो नेटवर्क र गुणस्तरीय सेवा प्राप्त गर्ने तथा व्यावसायिक साझेदार एवम् लगानीकर्ताहरूमा कम्पनीप्रतिको विश्वास थप बढ्ने एनसेलको विश्वास छ।
जेठ १४, २०८३ बिहीबार १०:१९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।