डलर बलियो हुँदा प्रतिव्यक्ति आयमा धक्का, रुपैयाँमा बढे पनि डलरमा घट्यो नेपालीको आय

डलर बलियो हुँदा प्रतिव्यक्ति आयमा धक्का, रुपैयाँमा बढे पनि डलरमा घट्यो नेपालीको आय

काठमाडौं : आर्थिक क्रियाकलापमा आएको शिथिलता र न्यून आर्थिक वृद्धिका कारण चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालीको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सुस्त देखिएको छ। 

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा डलरमा मापन गरिने आयमा भने गिरावट आएको छ।

चालु आर्थिक वर्षमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.७ प्रतिशतले अवमूल्यन हुने अनुमान छ। यही आधारमा डलरमा मापन गरिने प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत वर्षको १ हजार ५ सय १६ अमेरिकी डलरबाट घटेर यस वर्ष १ हजार ५ सय १३ अमेरिकी डलर कायम हुने अनुमान गरिएको छ।

यद्यपि, नेपाली रुपैयाँमा भने प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ५.५ प्रतिशतले बढेर २ लाख १७ हजार ९ सय ४६ पुग्ने अनुमान छ। गत आर्थिक वर्ष २०८१/८२ मा २ लाख ६ हजार ६ सय २५ रहेको थियो। विगत एक दशकमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर ८.८ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ।

कुल गार्हस्थ्य उत्पादन घटे पनि नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आयमा भने सुधार आएको छ। गत आर्थिक वर्षमा १ हजार ९ सय ९४ अमेरिकी डलर रहेको यस्तो खर्चयोग्य आय चालु आर्थिक वर्षमा बढेर २ हजार ४४ अमेरिकी डलर पुग्ने अनुमान छ।

त्यस्तै, प्रतिव्यक्ति राष्ट्रिय आय नेपाली रुपैयाँमा ५.७ प्रतिशतले वृद्धि हुने अनुमान गरिए पनि डलरमा भने गत वर्षकै बराबर अर्थात् १ हजार ५ सय ३५ अमेरिकी डलर नै कायम रहने देखिएको छ।

यसरी समग्रमा हेर्दा, नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरको तुलनामा रुपैयाँको अवमूल्यन भएका कारण डलरमा मापन गरिने प्रतिव्यक्ति आयमा खासै सुधार देखिएको छैन।

जेठ १३, २०८३ बुधबार १६:५८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।