आगामी आर्थिक वर्षमा १ खर्बको काठ बिक्री गर्ने सरकारको लक्ष्य

आगामी आर्थिक वर्षमा १ खर्बको काठ बिक्री गर्ने सरकारको लक्ष्य

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा वन क्षेत्रबाट करिब १ खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य राखेको छ। 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको वन क्षेत्र हाल ४६ दशमलव ०८ प्रतिशत पुगेको जानकारी दिँदै वन संरक्षण र यसको दिगो उपयोगबाट ठुलो आर्थिक उपार्जन गर्ने लक्ष्य रहेको बताइन्।

उनले भनिन्, "आर्थिक वर्ष २०८३/८४ मा करिब १ खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य राखेका छौँ।"

मन्त्री चौधरीले वन क्षेत्रको विकास र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारिन्। जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले राष्ट्रिय जलवायु नीति तथा विभिन्न कार्यक्रममार्फत जोखिम न्यूनीकरणका कामहरू भइरहेको जानकारी दिइन्।

रातो बाँदर 'कृषि हानिकारक वन्यजन्तु' घोषणा, राहत वितरण जारी
वन्यजन्तु तथा मानवबिचको द्वन्द्वबारे बोल्दै मन्त्री चौधरीले बाँदर, निलगाई र बँदेललगायतका वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण कार्य भइरहेको जानकारी दिइन्। 

कृषकहरूलाई ठुलो समस्या बनिरहेको 'जङ्गली रातो बाँदर' लाई सरकारले कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गरी नियन्त्रण प्रक्रिया अघि बढाएको उनले बताइन्। "जङ्गली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गरी नियन्त्रण प्रक्रिया अघि बढाइएको छ," उनले भनिन्। 

मन्त्री चौधरीले कृषि, खाद्य सुरक्षा र वन संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै किसान र वन संरक्षणमा खटिएका सुरक्षाकर्मीको योगदानप्रति सम्मान व्यक्त गरिन्। 

जेठ १३, २०८३ बुधबार १५:११:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।