असार मसान्तसम्म ६ लाख टन मल वितरण गरिने, उखु र दुग्ध किसानको भुक्तानी असारभित्रै

असार मसान्तसम्म ६ लाख टन मल वितरण गरिने, उखु र दुग्ध किसानको भुक्तानी असारभित्रै

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन रासायनिक मल कृषकलाई अनुदानमा उपलब्ध गराउने बताएकी छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सो जानकारी दिएकी हुन्। 

उनले भनिन्, "चालु आर्थिक वर्षको असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ।"

उनले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री भइसकेको जानकारी दिइन्।

मन्त्री चौधरीले मध्यपूर्वको द्वन्द्वका कारण मल आपूर्तिमा समस्या आएको उल्लेख गर्दै धान रोपाइँको समयमा अभाव हुन नदिन मन्त्रालयले विशेष ध्यान दिएको बताइन्। यसका लागि भारतसँग जीटुजी माध्यमबाट थप ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया सुरु भइसकेको उनले बताइन्।

उनले भनिन्, "धान रोपाइँको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयले विशेष ध्यान दिएको छ। भारतसँग जीटुजी माध्यमबाट ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया सुरु गरिएको छ।"

अनुदानको मल वितरणलाई पारदर्शी बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०८२’ कार्यान्वयनमा ल्याइएको र मल व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरिएको पनि उनले बताइन्।

कृषि अनुदान र किसानको भुक्तानी
कृषि उत्पादन र बीउविजन उत्पादनका विषयमा बोल्दै उनले धान, गहुँ, मकै, मसुरो तथा तोरीको स्रोत बीउ डिजिटल प्रणालीमार्फत वितरण भइरहेको जानकारी दिइन्। स्वदेशी बीउविजन प्रवर्द्धन गर्न स्रोत बीउ उत्पादनमा ३० प्रतिशत र उन्नत बीउ उत्पादनमा ५० प्रतिशतसम्म अनुदान दिन थालिएको समेत उनले बताइन्।

"स्वदेशी बीउविजन प्रवर्धन गर्न स्रोत बीउ उत्पादनमा ३० प्रतिशतसम्म र उन्नत बीउ उत्पादनमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको छ," उनले भनिन्।

कृषि उत्पादनले उचित मूल्य नपाएको गुनासोबारे सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको बताउँदै उनले बर्से धान र गहुँको मूल्य निर्धारण गरिएको जानकारी दिइन्।

यस्तै, उखु किसानको समस्या समाधानमा मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै मन्त्री चौधरीले चालु आर्थिक वर्षमा उखु किसानलाई कुल १३ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी हुनुपर्नेमा हालसम्म ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको र बाँकी रकम यही असार मसान्तभित्रै भुक्तानी हुने प्रतिबद्धता आएको बताइन्।

दुग्ध किसानको मंसिरदेखि माघसम्मको १८ करोड रुपैयाँ भुक्तानी भइसकेको र बाँकी २० करोड रुपैयाँ आगामी असार १५ गतेभित्र भुक्तानी गरिने उनले बताइन्। 

उनले भनिन्, "मङ्सिरदेखि माघसम्मको १८ करोड रुपैयाँ भुक्तानी गरिसकिएको छ र बाँकी २० करोड असार १५ भित्र भुक्तानी गरिनेछ।"

जेठ १३, २०८३ बुधबार १४:३७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।