बुद्ध दर्शन सहकारीद्वारा ३४ जनाको बचत फिर्ता, ५ लाखसम्म बचत हुनेले १ महिनाभित्र पाउने

बुद्ध दर्शन सहकारीद्वारा ३४ जनाको बचत फिर्ता, ५ लाखसम्म बचत हुनेले १ महिनाभित्र पाउने

काठमाडौं : काठमाडौं महानगरपालिका सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। 

महानगरपालिकाको वडा नं ६ मा मा सञ्चालित सहकारी संस्थाले आज एक लाख ५० हजारसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता गरेको कामपा सहकारी विभागले जानकारी दिएको छ।  

सहकारीले आगामी १ महिनाभित्र पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ। सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ। 

बचत फिर्ताको सहजीकरण प्रक्रियाबारे जानकारी दिँदै विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भने, "माग दाबी सहितको निवेदन लिन्छौँ। संस्थाका सञ्चालक र बचत फिर्ता माग गर्नेका बिच छलफल तथा मिलापत्र गराउने प्रयास गर्छौँ। संस्थाको सञ्चालक समितिको निर्णय अनुरोध अनुसार ऋणीलाई एसएमएस, रजिष्ट्री पत्र र सार्वजनिक सूचनाबाट ऋण चुक्ता गर्न सन्देश र अनुरोध पठाउँछौँ।"

वडास्तरको मेलमिलापबाट समस्या समाधान नभएमा विभाग आफैँले मध्यस्थता गर्छ। यस क्रममा संस्थाका सञ्चालकहरू सम्पर्कमा आउन अटेर गरेमा वा ऋणीहरूले ऋण तिर्न अस्वीकार गरेमा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने विभागले स्पष्ट पारेको छ।

यस प्रक्रियाबाट हालसम्म धेरै बचतकर्ताले एकमुष्ट वा किस्ताबन्दीमा आफ्नो रकम फिर्ता पाइरहेका छन्। संस्था बन्द गरेर फरार हुने वा सम्पर्कमा नआउनेहरूका हकमा भने एसएमएस र पत्रमार्फत अन्तिम सूचना दिई कडा कारबाहीको प्रक्रिया अघि बढाइने विभागको भनाइ छ।

जेठ १३, २०८३ बुधबार १०:३२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।