मिथिलामा धुमधामका साथ मनाइँदै कोजाग्रत पूर्णिमा, जानकी मन्दिरमा १४२ वर्ष पुरानो 'भार' परम्पराले पायो निरन्तरता

मिथिलामा धुमधामका साथ मनाइँदै कोजाग्रत पूर्णिमा, जानकी मन्दिरमा १४२ वर्ष पुरानो 'भार' परम्पराले पायो निरन्तरता

जनकपुरधाम : मिथिलासहित प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदैछ। दुर्गापूजाको समापनसँगै मनाइने कोजाग्रत पूर्णिमालाई मिथिला क्षेत्रमा विशेष हर्षोल्लासका साथ मनाउने परम्परा छ। यसलाई शरद् पूर्णिमा पनि भनिन्छ।

आजको दिन चन्द्रमा सोह्र कलाले पूर्ण हुने भएकाले यसको विशेष धार्मिक महत्व रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए। उनका अनुसार आजको दिनलाई महारासको दिनका रूपमा पनि मानिन्छ। धार्मिक मान्यताअनुसार आजकै दिन देवीदेवताहरूले रूप परिवर्तन गरी भगवान् कृष्ण र गोपीहरूसँग महारासमा सहभागी भएकाले यस दिनको विशेष महत्व रहेको उनले जानकारी दिए।

कोजाग्रत पूर्णिमाका अवसरमा विशेषगरी जनकपुरधाममा राति ओसमा बसेर खिरको भोग लगाई भगवान् रामको पूजा गर्ने परम्परा रहेको छोटे महन्थ दासले बताए। यस दिन जानकी मन्दिरमा त्रेतायुगमा भगवान् राम र माता सीताको विवाहका बेला मिथिलावासीले गाउने गीत तथा हाँसोठट्टा र गाली गर्ने परम्परालाई समेत दोहोर्याउने गरिन्छ। महन्थ दासका अनुसार नवदम्पतीहरूले पनि यो पर्व विशेष उत्साहका साथ मनाउने गर्छन्।

कोजाग्रत पूर्णिमाकै अवसरमा जानकी मन्दिरमा महोत्तरीको रतौलीबाट भार ल्याउने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ। रतौलीका स्वर्गीय महेन्द्र ठाकुरको परिवारले करिब १४२ वर्षदेखि प्रत्येक वर्ष यस दिन अन्नपूर्ण देवीलाई चढाइने सामग्रीसहितको भार जानकी मन्दिरमा ल्याउँदै आएको छ।

सन्तान प्राप्तिको कामना गर्दै स्वर्गीय ठाकुरले गरेको भाकल पूरा भएपछि उनका तीन छोरा जन्मिएका थिए। त्यसै समयदेखि ठाकुर परिवारले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा भार चढाउँदै आएको हो।

भारमा दही, चिउरा, दाल, मिठाई, अचार, फलफूल, तरकारीलगायतका खाद्य सामग्री समावेश हुन्छन्। यी सामग्री ठाकुर परिवारले आफ्नै खेतबारीमा उत्पादन तथा घरमै तयार पार्ने गरेको छ।

स्वर्गीय महेन्द्र ठाकुरका जेठा छोरा नवीनकुमार ठाकुरलेका अनुसार कोजाग्रत पूर्णिमा मिथिलामा विवाहपञ्चमीपछिको महत्वपूर्ण पर्व हो। यस दिन भाकल गरे मनोकामना पूरा हुने धार्मिक विश्वाससमेत रहेको उनले बताए।

कात्तिक ८, २०८३ आइतबार १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।