ढल्केवरमा ट्रमा सेन्टरको निर्माण प्रक्रिया अघि बढेको मन्त्री मेहताको भनाइ, छिट्टै शिलान्यास हुने दाबी

ढल्केवरमा ट्रमा सेन्टरको निर्माण प्रक्रिया अघि बढेको मन्त्री मेहताको भनाइ, छिट्टै शिलान्यास हुने दाबी

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन्। 

आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन्। उनले प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र त्यसपछि निर्माणको काम अघि बढ्ने बताइन्। 

“ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन। यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ”, मेहताले भनिन्। उनले निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गरिन्। 

स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टर निर्माणको आश्वासन पाउँदै आए पनि काम सुरु नभएकाले आयोजना कार्यान्वयनप्रति आशङ्का व्यक्त गर्दै आएका छन्।

निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले भवन निर्माणको काम सुरु भएपछि मात्रै स्थानीयवासी विश्वस्त हुने बताए। उनले आश्वासनभन्दा निर्माण कार्यको सुरुआत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिलान्यासको प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराए।

“ट्रमा सेन्टरका नाममा यहाँका नागरिक लामो समयदेखि आश्वासन पाउँदै आएका छन्। अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन। भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ”, उनले भने। निरीक्षणमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।

कात्तिक ८, २०८३ आइतबार १४:४८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।