महिला उद्यमीका लागि ‘अरोरा भेन्चर्स’ घोषणा
काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानीका अवसरसँग जोड्न ‘अरोरा भेन्चर्स’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ। चिलीको सान्टियागोमा सम्पन्न ‘अरोरा टेक अवार्ड २०२६’ को समापनका अवसरमा यो कार्यक्रम घोषणा गरिएको हो।
लगानी प्राप्त गर्ने क्रममा महिला संस्थापकहरूले भोग्दै आएका चुनौती र संरचनागत असमानतालाई न्यूनीकरण गर्ने लक्ष्य यस कार्यक्रमले राखेको छ। अरोरा भेन्चर्सले प्रारम्भिक चरण (प्रि-सिड र सिड) का महिला नेतृत्वमा रहेका स्टार्टअपहरूमा १ लाख ८० हजारदेखि २ लाख ५० हजार अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य राखेको छ।
अरोरा भेन्चर्सकी प्रमुख इजाबेला घासेमी-स्मिथले भेन्चर क्यापिटल क्षेत्रमा महिलाहरूका लागि अझै पर्याप्त अवसर नभएकाले यो पहल आवश्यक रहेको बताइन्। यस्तै, इनड्राइभका चिफ ग्रोथ बिजनेस अफिसर एन्ड्रीज स्मिटले सीमित स्रोतका बीच संघर्ष गरिरहेका महिला उद्यमीहरूलाई सहयोग पुर्याउनु मात्र नभई विश्वासको निरन्तरता भएको उल्लेख गरे।
कम्पनीले गरेको अध्ययन अनुसार एसिया-प्रशान्त क्षेत्रसहित विश्वका धेरै देशका महिला उद्यमीहरूले लगानी जुटाउने क्रममा अझै पनि क्षमतामाथिको शंका र असमान मूल्याङ्कनको सामना गरिरहनु परेको छ। यस कार्यक्रमले मध्यपूर्व, अफ्रिका, ल्याटिन अमेरिका र एसियाली बजारका महिला उद्यमीलाई पूँजी, मेन्टरसिप र नेटवर्किङमा पहुँच पुर्याउनेछ।
नेपालजस्तो उदाउँदो डिजिटल बजारका लागि यो कार्यक्रमले महिला उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई थप प्रोत्साहन गर्ने तथा नेपाली महिला उद्यमीलाई अन्तर्राष्ट्रिय लगानीकर्तासँग जोड्ने अपेक्षा गरिएको छ।
जेठ ११, २०८३ सोमबार १६:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।