सरकारले आफैँले भन्यो- वैशाखमा भान्सा महँगियो, तरकारीको भाउ साढे तीन सय प्रतिशतले बढ्यो

सरकारले आफैँले भन्यो- वैशाखमा भान्सा महँगियो, तरकारीको भाउ साढे तीन सय प्रतिशतले बढ्यो

काठमाडौं : चालू आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा नेपाली बजारमा उपभोग्य वस्तुहरूको मूल्यमा सामान्यदेखि मध्यमस्तरको वृद्धि भएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको ‘वैशाख महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ अनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, अमेरिकी डलरको असन्तुलित उतारचढाव र भूराजनीतिक तनावका कारण आयातित खाद्यान्न तथा तरकारी महँगिएका हुन्।

प्रतिवेदन अनुसार चैत महिनाको तुलनामा वैशाखमा चामल, दाल, अण्डा, केरा र चिनीको मूल्य बढेको छ भने हरियो तरकारी र फलफूलको मूल्यमा तीव्र उतारचढाव देखिएको छ।

विभागको प्रतिवेदन अनुसार वैशाख महिनामा मौसमी तरकारीको मूल्यमा अस्वाभाविक उतारचढाव देखिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कलाई आधार मान्दा वैशाख महिनामा सबैभन्दा बढी मूल्य घटबढ हुनेमा घिउ सिमी, तने बोडी, लौका, हरियो फर्सी र हाइब्रिड काँक्रो रहेका छन्।

न्यूनतम मूल्य २३ रुपैयाँ रहेकोमा घिउ सिमीको मूल्य अधिकतम १०० रुपैयाँसम्म पुगेर ३३४.७९ प्रतिशतको वृद्धि देखिँदा तने बोडीमा २५० प्रतिशतले उतारचढाव आयो। यस्तै लौका १६५, हरियो फर्सी १३८.८९ र हाइब्रिड काँक्रो १२५ प्रतिशतको उतारचढाव देखियो।

यसबाहेक सानो गोलभेडा (लोकल), स्थानीय काउली, ब्रोकाउली र जिरीको साग जस्ता वस्तुमा समेत शतप्रतिशतभन्दा बढीको मूल्य उतारचढाव देखिएको छ, जसले बजारमा मूल्य अस्थिरता उच्च रहेको सङ्केत गर्छ।

अर्कोतर्फ, आलु रातो (भारतीय) प्रतिधार्नी/प्रतिकिलो २३ रुपैयाँ, घिउ सिमी (राज्मा) ९५ रुपैयाँ र तोफु १४० रुपैयाँमा स्थिर रहेका छन्।

चैत र वैशाख महिनाको अवधिमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ६ पटकसम्म परिमार्जन गरेको थियो।

चैत १ गते पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेल/मट्टितेल १५२ रुपैयाँ रहेकोमा वैशाख २ गतेसम्म आइपुग्दा पेट्रोल २१९ र डिजेल/मट्टितेल २३७ रुपैयाँ पुगेको थियो। 

वैशाख १७ गते पेट्रोलमा सामान्य घटेर २१७ र डिजेल/मट्टितेल २२५ कायम भए पनि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ पुगेको छ।

इन्धनको यो अस्वाभाविक मूल्यवृद्धिका कारण सवारी भाडा, हवाई भाडा र वस्तुको ढुवानी भाडा महँगिन गई समग्र बजारमा उपभोग्य वस्तुको मूल्य बढ्न गएको विभागको विश्लेषण छ।

मूल्य सूचकाङ्कलाई प्रभावित पार्ने अर्को मुख्य तत्त्व अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढाव हो।

वैशाख महिनामा अमेरिकी डलरको न्यूनतम खरिददर १४८.३९ रुपैयाँ र अधिकतम १५१.५६ रुपैयाँ पुग्दा यसमा २.१३ प्रतिशतको उतारचढाव देखियो। डलर बलियो बन्दा नेपालले आयात गर्ने कच्चा पदार्थ र खाद्यान्नको लागत महँगो पर्न गएको छ।

यसका साथै, मध्यपूर्वमा जारी तनाव (इरान-इजरायल द्वन्द्व), अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्यमा भएको वृद्धि, भारतको खाद्यान्न निर्यात नीति र विश्वव्यापी ढुवानी शृङ्खलामा आएको अवरोधले समेत नेपालको बजारलाई प्रत्यक्ष-परोक्ष रूपमा असर पारेको प्रतिवेदनमा उल्लेख छ।

जेठ ११, २०८३ सोमबार १४:०५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।