सरकारी निकायबीच समन्वय नहुँदा ६ करोडभन्दा बढीको खानेपानी पाइपमा क्षति, २ अर्ब ५९ करोड असुली अलपत्र
काठमाडौं : सरकारी निकायहरूबीच आपसी समन्वय नहुँदा काठमाडौं उपत्यकामा विछ्याइएको खानेपानीको पाइपलाइनमा व्यापक क्षति पुगेको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार सडक, विद्युत् तथा स्थानीय तहले काम गर्दा छ करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको पाइपलाइनमा क्षति पुगेको हो।
विवरणअनुसार नेपाल विद्युत् प्राधिकरणले काम गर्दा एक करोड ६७ लाख ५७ हजार बराबरको क्षति पुगेको छ। यस्तै, सडक विभागले आवश्यक काम गर्दा दुई करोड ८० हजार, ललितपुर महानगरपालिकाले आवश्यक काम गर्दा एक करोड १२ लाख ७३ हजार र अन्य निकायका तर्फबाट एक करोड ७१ लाख ३८ हजार बराबरको क्षति पुगेको थियो।
पाइपलाइनमा पुगेको क्षतिको शोधभर्ना (रकम) सम्बन्धित निकायहरूबाट असुल हुनुपर्नेमा हालसम्म राज्य कोषमा सो रकम प्राप्त हुन नसकेको महालेखाले जनाएको छ।
यसैगरी, एक निर्माण व्यवसायीसँग ठेक्का सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्यसम्पादन जमानत र पेश्कीसमेत गरी दुई अर्ब ५९ करोड ९९ लाख असुल गर्ने गरी निर्णय भएको थियो। सो निर्णय बमोजिम उक्त रकम असुल नभएकामा महालेखाले प्रश्न उठाएको छ। काठमाडौं उपत्यकाको कोड्कु, सल्लाघारी, धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका सन्दर्भमा एक निर्माण व्यवसायीसँग ठेक्का तोडेर अर्को ठेक्का गरेको थियो।
सुरुमा एक विदेशी कम्पनीसँग तीन अर्ब ४६ करोड ९६ लाखमा सम्झौता भएको थियो। सो कम्पनीले ७८ करोड ७७ लाख २५ हजार बराबरको कार्य सम्पन्न भएको थियो।
तोकिएको समयमा काम नभएपछि ठेक्का सम्झौता अन्त्य गरी पुनः नयाँ निर्माण व्यवसायी छनौट गरिएको थियो। नयाँ व्यवसायी छनोट अघि छ अर्ब ४७ करोड एक लाख बराबरको लागत अनुमान गरिएको थियो।
जेठ १०, २०८३ आइतबार १७:०८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।