इन्डोनेसियाली महिला आरोही नाद्याले गरिन् आमादब्लमको सफल आरोहण
काठमाडौं : इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन्। उनले यही जेठ २ गते हिमालको चुचुरोमा पाइला टेक्न सफल भएको नेपालस्थित इन्डोनेसियाली दूतावासले जनाएको छ।
'इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन)-२०२६' अन्तर्गत उनले यो आरोहण सम्पन्न गरेकी हुन्। यस अभियानलाई इन्डोनेसियाली महिलाको साहस र अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा उनीहरूको दृढताको प्रतीकका रूपमा लिइएको छ।
विश्वका तीन ठूला हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरणका रूपमा नाद्याले आमादब्लम आरोहण गरेकी हुन्। अभियानअन्तर्गत उनले सन् २०२७ मा नेपालकै मनास्लु र त्यसपछि पाकिस्तानस्थित केटु हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन्। इन्डोनेसियाकी चर्चित महिला अधिकारकर्मी आर.ए. कार्तिनीको आदर्शबाट प्रेरित भई महिलाहरूलाई साहसिक क्षेत्रमा प्रोत्साहित गर्न उनले यो अभियान सुरु गरेकी हुन्।
गत अप्रिल २९ मा नेपाल आइपुगेकी नाद्यालाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालसहित स्थानीय इन्डोनेसियाली समुदायले स्वागत गरेका थिए। आरोहणका क्रममा उनले बेस क्याम्पदेखि क्याम्प-१ र क्याम्प-२ सम्म क्रमिक अनुकूलन गरेकी थिइन्। आरोहणको प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पाले साथ दिएका थिए भने अन्तिम आरोहणका क्रममा सोनाम शेर्पा र पुर्बा तामाङ सहभागी थिए।
लगभग १८ देखि १९ घण्टाको कठिन हिमाली यात्रापछि उनी चुचुरोमा पुग्न सफल भएकी थिइन्। आरोहण पूरा गरी काठमाडौं फर्किएकी नाद्याको सम्मानमा नेपालस्थित इन्डोनेसियाली समुदाय र बंगलादेशस्थित इन्डोनेसियाली दूतावासका प्रतिनिधिहरूले स्वागत कार्यक्रम आयोजना गरेका थिए। सोही अवसरमा आमादब्लम सफल आरोहण गर्ने अर्की महिला आरोही फुर्की स्यारोनीलाई पनि सम्मान गरिएको थियो। यससँगै आमादब्लम हिमाल सफल आरोहण गर्ने इन्डोनेसियाली नागरिकहरूको संख्या १२ पुगेको छ।
जेठ ९, २०८३ शनिबार २०:३७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।