दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश
काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न थप म्याद नगर्न र वर्तमान म्यादभित्रै मुद्दाको टुङ्गो लगाउन शुक्रबार परमादेश जारी गरेको छ।
न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रसाईंलाई थप हिरासतमा राखिरहनु पर्ने वस्तुनिष्ठ आधार नदेखिएको र हाल थपिएको अवधिभित्रै मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न आदेश दिएको हो।
प्रसाईंका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै अदालतले हाल तोकिएको म्यादभित्रै अनुसन्धान सकेर मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न र त्यसो हुन नसके उनलाई थुनामा नराखी अन्य कानुनी प्रक्रिया अघि बढाउन भनेको छ।
प्रहरीले प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि गत जेठ ४ गते पक्राउ गरेको थियो।
जिल्ला अदालत पर्साले पछिल्लो पटक बिहीबार उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। सर्वोच्चको आदेशसँगै अब प्रहरीले उक्त चार दिनको समयसीमा सकिएपछि उनलाई पुनः हिरासतमा राख्न म्याद थप गर्न पाउने छैन।
जेठ ८, २०८३ शुक्रबार २१:१३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।