नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

त्रिवेणी : बर्दघाट पूर्व नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरू गरिएको छ।

जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवाको शुभारम्भ गरेको हो।

जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच समझदारी भएअनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पुर्याउने व्यवस्था लागू गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाले बताए।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी कावासोती-१६, पिप्रेनी निवासी अमित परियारको घरमै पुगेर हस्तान्तरण गरी सेवा शुभारम्भ गरिएको हुलाक अधिकृत सापकोटाले बताए। परियारको मञ्जुरीमा उहाँकी आमा विमला परियारलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुआत गरिएको हो।

राहदानी लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेकामा सो अवस्थाको अन्त्य गर्दै नागरिकलाई घरदैलोमा नै पुर्याउने गरी सेवा सुरु गरिएको हुलाक अधिकृत सापकोटाले बताए। जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने राहदानी सम्बन्धित व्यक्तिको घरमै पुर्याउने गरी सेवा प्रदान गर्दा नागरिकलाई सुविधा पुग्ने विश्वास गरिएको छ।

‘सरकारले नागरिकलाई कतिपय सेवा घरमै दिने योजना बनाएको छ, सोहीअनुसार राहदानी घरदैलोमानै पु¥याउने सेवाको सुरुआत गरेका हौँ, यसले सेवाग्राहीलाई सुविधा थप्ने विश्वास छ’, हुलाक अधिकृत सापकोटाले भने।

घरमै परिवारको सदस्यको राहदानी प्राप्त गर्दा खुसी लागेको विमला परियारले बताए।

‘जिल्ला प्रशासन कार्यालयमा राहदानी लिनका लागि समय व्यवस्थापन गरी पुग्नुपर्ने हुन्थ्यो, घरमै पाउँदा समयको बचत पनि भयो, त्याहाँ सम्म पुग्दा लाग्ने यातायात खर्च पनि बच्यो, धेरै सुविधा भयो’, उनले भने।

नवलपुरमा पहाडी क्षेत्रसमेत रहेकाले उक्त क्षेत्रमा पनि यो सुविधा पु¥याइने हुलाक अधिकृत सापकोटाले बताए।

‘हामीलाई प्राप्त भएका राहदानी जुन पालिकाको भए पनि हाम्रा कार्यालय र सम्बन्धित पालिकाको कर्मचारीमार्फत घरमै पुर्याउँछौं’, उनले भने।

जेठ ८, २०८३ शुक्रबार ०९:०४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।