नाराबाजीकै बीच प्रतिनिधि सभाबाट तीन विधेयक बहुमतले स्वीकृत

नाराबाजीकै बीच प्रतिनिधि सभाबाट तीन विधेयक बहुमतले स्वीकृत

काठमाडौं :  प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधिसभा बैठकमा ल्याउन नसकेपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षीलाई पेलेर सदन चलाएका थिए। 

बिहीबारको पहिलो बैठकमा प्रतिपक्षीले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको करिब २ घण्टापछि सुरु भएको दोस्रो बैठकबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भयो। 

प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीन वटै प्रस्ताव प्रस्तुत गरेकी थिइन्। तीन वटै प्रस्तावमा सभामुख अर्यालले छलफलमा भाग लिन नाम माग गरे पनि कसैको पनि नाम प्राप्त नभएको भन्दै स्वीकृतिका लागि प्रस्तुत गरेका थिए। 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै स्थानबाट उभिएर विरोध जनाएको थियो। प्रतिपक्षी दल एमाले तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले रोष्ट्रम अघि गएर नाराबाजी गरेका थिए।

जेठ ७, २०८३ बिहीबार १८:१४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।