हुम्ला-बाजुरा सीमा विवादले कर्णाली राजमार्ग बन्द, तत्काल समाधान खोज्न सांसदहरूको माग

हुम्ला-बाजुरा सीमा विवादले कर्णाली राजमार्ग बन्द, तत्काल समाधान खोज्न सांसदहरूको माग

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीच उत्पन्न सीमा विवादलाई तत्काल वार्ता र संवादको माध्यमबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सीमा विवादका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको र स्थानीय जनप्रतिनिधि तथा कर्मचारीमाथि आक्रमण भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

बैठकमा बोल्दै सांसद जयपति रोकायाले हुम्ला र बाजुरा क्षेत्रको सीमा विवादका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकोले सरकारले तत्काल दुवै पक्षबीच संवाद गराई राजमार्ग खुलाउन पहल गर्न माग गरे।

“हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको छ, राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिने विद्यार्थी, अतिआवश्यक कामका लागि जानुपर्ने सबैलाई असर परेको छ”, उनले भने, “दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनुपर्छ।” 

अर्का सांसद केपी खनालले हुम्ला र बाजुराको सीमा क्षेत्र रानीसैनको विवादलाई लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसहितको समूहमाथि दुर्व्यवहार भएको घटनाप्रति आपत्ति जनाए।

उनले हिमाली गाउँपालिका साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरुले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयलाई प्रहरीचौकी राखेर नियन्त्रण गर्न खोज्दा दुर्व्यवहार भएको बताए। साथै, उनले त्यस क्षेत्रको नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न माग गरे।

सांसद जनकराज गिरीले यही जेठ ४ गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतलाई साङ्घातिक आक्रमण गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले यस क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरे। 

जेठ ७, २०८३ बिहीबार १३:४१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।