समस्याग्रस्त सहकारीका थप ३०४ बचतकर्ताको रकम फिर्ता, ५ लाखसम्मका साना बचतकर्ता प्राथमिकतामा
काठमाडौं : सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरूलाई उनीहरूको रकम फिर्ता गरेको हो।
समितिका अनुसार बुधबार रकम फिर्ता पाउनेहरूमा कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका २१६ जना रहेका छन्।
यसअघि समितिले पहिलो चरणमा कान्तिपुर सहकारीका २१५ जना, शिव शिखरका १५६ जना र पशुपति सहकारीका ७ जना गरी जम्मा ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ।
योसँगै हालसम्म उल्लेख्य संख्यामा साना बचतकर्ताले न्याय पाएका छन्।
समितिले हाल पहिलो चरणमा थोरै बचत भएका अर्थात् ‘साना बचतकर्ता’ लाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको छ।
५ लाख रुपैयाँभन्दा कम बचत भएकाहरूलाई साना बचतकर्ता र ५ लाखभन्दा बढी बचत भएकाहरूलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। क्रमशः रकमको आधारमा वर्गीकरण गरी अन्य बचतकर्ताको पनि पैसा फिर्ता गरिने समितिले जनाएको छ।
समितिको तथ्याङ्क अनुसार विभिन्न समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ।
कुल ७६ हजार बचतकर्तामध्ये करिब ५८ हजार साना बचतकर्ता छन् भने १८ हजार जना ५ लाखभन्दा बढी बचत गर्ने ठूला बचतकर्ता रहेका छन्।
सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको प्रक्रियालाई तीव्र पार्दै आगामी दिनमा बाँकी रहेका बचतकर्ताहरूको रकम पनि क्रमैसँग फिर्ता गर्दै जाने समितिको योजना छ।
जेठ ७, २०८३ बिहीबार ०९:५६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।