प्रेस स्वतन्त्रता संविधानप्रदत्त अधिकार, ‘कन्टेन्ट मनिटरिङ’का लागि काउन्सिललाई सशक्त बनाइन्छ : सञ्चार मन्त्री
काठमाडौं : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
संसदमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता सरकार वा मन्त्रीले दिएको उपहार नभई संविधानले नै सुनिश्चित गरेको अधिकार भएको बताए।
प्रेसलाई नियन्त्रण वा संकुचित गर्न खोजिएको हो कि भन्ने सांसदहरूको जिज्ञासामा मन्त्री तिमिल्सिनाले भने, ‘यो अधिकार आज, भोलि वा पर्सि कसैले पनि हनन गर्न सक्दैन। तर, प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन भन्ने कुरा सबैले बुझ्न जरुरी छ। स्वतन्त्रतासँगै जवाफदेहिता पनि आउँछ।’
उनले सञ्चार क्षेत्रले आफ्नो ओज र गरिमा कायम राख्दै कानुनी सीमाभित्र रहेर संवैधानिक अधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिए।
ललितपुरका सांसद जगदीश खरेलले प्रेस काउन्सिलका बारेमा राखेको प्रश्नको जवाफ दिँदै मन्त्रीले मिडिया क्षेत्रको ‘कन्टेन्ट मनिटरिङ’का लागि काउन्सिललाई थप सशक्त बनाइने बताए।
नेपालको मिडियालाई स्वच्छ, जवाफदेही र गौरव गर्न लायक बनाउन सरकारले काउन्सिलको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रमहरू ल्याउने प्रतिबद्धता उनले बताए।
सांसद खुस्बु ओलीले कला क्षेत्र नीति तथा कार्यक्रममा नसमेटिएको विषयमा उठाएको प्रश्नको सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रमार्फत कला र संस्कृतिको प्रवर्द्धन गर्ने सरकारको योजना रहेको जानकारी दिए।
उनले भने, ‘आगामी बजेट तथा कार्यक्रममा मौलिक पहिचान दिलाउने गरी निर्माण हुने चलचित्रहरूलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम समावेश गरिनेछ।’
मौलिक फिल्म निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अनुदानको व्यवस्था गर्ने उनले स्पष्ट पारे।
मन्त्री तिमिल्सिनाले सञ्चारकर्मीहरूलाई निर्धक्क भएर आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्न आग्रह गर्दै सरकार सदैव स्वतन्त्र प्रेसको पक्षमा उभिने विश्वास दिलाए।
जेठ ६, २०८३ बुधबार १३:१४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।