संसदको मर्यादा उल्लंघन नगर्न श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुखको चेतावनी
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको मर्यादा कायम राख्नु सबै सांसदहरूको कर्तव्य भएको स्मरण गराउँदै अमर्यादित व्यवहार नगर्न सचेत गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख अर्यालले विशेषगरी श्रम संस्कृति पार्टीका सांसदहरूले निरन्तर रूपमा संसदको गरिमा विपरीतका कार्यहरू गरिरहेको भन्दै उनीहरूको ध्यानाकर्षण गराएका हुन्।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २० को खण्ड (झ) बमोजिम सभाको मर्यादा कायम राख्न सबै माननीय सदस्यहरूलाई आग्रह गरे। साथै, उनले नियमावलीको नियम ३० मा रहेको व्यवस्थातर्फ पनि सांसदहरूको ध्यानाकर्षण गराए।
सभामुखले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईसहित सोही पार्टीका अन्य सदस्यहरूले संसदमा नियमित रूपमा प्लेकार्ड देखाउने र अभद्र व्यवहार प्रदर्शन गर्ने गरेको उल्लेख गरे।
‘माननीय हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरित संसदमा प्लेकार्ड देखाउने र अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सुधार्न चेतावनी दिन्छु’, सभामुख अर्यालले भने।
जेठ ६, २०८३ बुधबार १२:०८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।